२६ माघ २०७९, बिहीबार
राजनीति

ओलीको आँगनमा पदकको विस्कुन

प्रकाशित मिति :  ६ आश्विन २०७६, सोमबार १८:०५


ओलीको आँगनमा पदकको विस्कुन

६ असोज, काठमाडौं । झण्डै एक दशकको अवधिमा १७ हजार नेपाल आमाका सन्ततीको रगतको खोलो बगेपछि हामीले अहिलेको लोकतान्त्रिक गणतन्त्र बक्सिसमा पाएका छौं । बक्सिस यसअर्थमा कि अहिले पनि शासनसत्तामा भएकाहरुको कार्यशैली विगतका राजा-महाराजाकै जस्तो छ । देशमा कम्युनिष्ट पार्टीको दुई तिहाई समर्थन प्राप्त सरकार छ, तर शासन शैली भने हिजोको राजा-महाराजाको भन्दा फरक छैन । यसलाई पुष्टि गर्न भखैरै मात्र महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीको वाहुलीबाट प्राप्त केही सय थान मान, पदवी र अलंकारको वितरण शैली नै पर्याप्त छ । हिजो राजा-महाराजालाई खुशी पार्न सक्नेले पाउने तक्मा अहिले प्रधानमन्त्री खड्गप्रसाद ओलीका चाकरहरुले पाएका छन् ।

असोज ३ गते संविधान दिवसको अवसर पारेर वितरण गरिएका पदक कस्ले पाए ? त्यसको सूचि हेर्दा छर्लङ्ग हुन्छ । ओली र भण्डारीको चाकडी चाप्लुसी गर्नेले मात्र त्यो पदक पाएका छन् । आफ्ना हनुमानलाई खुशी पार्न नै पदकको लिलामी जस्तै गरिएको छ । राष्ट्रले सम्मान गर्नुपर्ने भन्दा आफूलाई सेवासुसार गर्नेलाई पदक बाँडिएको छ । यसले पदककै सम्मान स्खलित भएको छ । पदक पाउने आफैं पनि पाएर गर्व गर्न सक्ने अवस्थामा छैनन् ।

प्रधानमन्त्री ओलीको सेवा गर्नेहरुमा पनि पाउनेले दिल खोलेर खुसियाली मनाउन सकेका छैनन् । त्यही सूचिमा प्रधानमन्त्रीको उपचारमा संलग्न चार जना विदेशी चिकित्सकसमेत अटाएका छन् । आफ्नो सेवा गरेकै भरमा उनले ती विदेशी चिकित्सकलाई पदक बाँडेका छन् । नेपाल र नेपालीका लागि ती चिकित्सकले कुनै योगदान पु¥याएको ज्ञात छैन ।

पदक पाउनेहरुको प्रत्येक समूह हेर्दा गज्जब लाग्छ । हरेक क्षेत्रको प्रतिनिधि केवल नेकपा निकट मात्र परेका छन् । मान पदवी र अलंकार पाउने हैसियत केवल नेकपा समर्थित मात्र हुनु विचित्रको संयोग नै मान्नुपर्ला । अरु त अरु पत्रकारिता क्षेत्रसँग नाता तोडिसकेका कतिपय नेताहरु पनि पत्रकारकै कोटीमा पदक पाउने हैसियतमा देखाइएका छन् । नेकपाका केन्द्रीय सदस्य समेत पत्रकारको कोटाबाट पदक लिन तम्सिएको देखियो । यसले पदक र सम्मानकै हुर्मत लिने काम गरेको छ ।

आज हामी लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेका छौं । हिजो राजा-महाराजाले चलाएको चलनको निरन्तरता आजको शासन व्यवस्था अनुकूल होइन । त्यसैले पनि आउने वर्षदेखि नै यस्ता मानपदवी र अलंकार दिने चलन खारेज गर्नु पर्छ । दिने नै हो भने स्वतन्त्र कमिटी बनाएर योगदानको मूल्याङ्न गरेर मात्र दिने परम्पराको थालनी गर्नु पर्छ । नत्र शासकको चाकरी नै मौलाउने छ ।

प्रधानमन्त्रीको कुर्सीमा बसेका ओलीको दम्भ यति बढेको छ कि आफू नै सर्वेसर्वा हो भन्ने उनको ठम्याई रहेको छ । उनले पाएको बहुमत जीवनपर्यन्त हो भन्ने भ्रममा रहेका छन् । एकपटक पाएको जनमत सर्वकालिक हो भन्ने बुझाई नै दोषपूर्ण छ । त्यसैले उनको कार्यकाल सुरु भएपछि बाँडिएका पदक भारदारी सभाका सदस्यलाई मात्र परेको छ । नेकपा भित्र पनि आफू निकटलाई मात्र ओलीको सुदृष्टि परेको देखिन्छ । दुई तिहाईको सरकारले नयाँ संस्कृतिको थालनी गर्नुपर्नेमा हिजैको राजा-महाराज शैली अपनाएको देखिन्छ । दुई तिहाईको सरकारले नै मुलुकमा थिति बसाउने काम गर्नु पर्ने हो । तर बेथिति र विध्वंशतर्फ उन्मुख देखिँदै छ ।

यस पटक संविधान दिवसको अवसर पारेर ६ सय ३४ जनालाई विभिन्न मानपदवी र अलंकार दिइयो । पाउनेहरु व्यक्तिगत रुपमा खुशी भए, दिने पनि आफ्ना चाकरले पाएकोमा दंग भए । तर आम जनतालाई भने कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तो भएको छ । यो यथार्थवोध गर्न सत्ताधारीले सकेनन् । त्यसैले आगामी वर्ष पनि यसको निरन्तरता निश्चित छ । यो चलन विगतमा राजा-महाराजाले चलाएको हो । आज ओली पनि त्यसैको सिको गर्दैछन् । राष्ट्रिय जीवनमा योगदान पु¥याएका भन्दा आफू निकटलाई बक्सिस बाँड्ने ध्येयले मानपदवी र अलंकारको विस्कुन सुकाएको जस्तो भएको छ ।

आज हामी लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेका छौं । हिजो राजा-महाराजाले चलाएको चलनको निरन्तरता आजको शासन व्यवस्था अनुकूल होइन । त्यसैले पनि आउने वर्षदेखि नै यस्ता मानपदवी र अलंकार दिने चलन खारेज गर्नुपर्छ । दिने नै हो भने स्वतन्त्र कमिटी बनाएर योगदानको मूल्याङ्न गरेर मात्र दिने परम्पराको थालनी गर्नु पर्छ । नत्र शासकको चाकरी नै मौलाउने छ । गणेश प्रवृत्ति भन्दा कुमार प्रवृत्तिलाई बढावा दिने काम गर्नु जरुरी छ ।


13
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा