७ असोज, काठमाडौं । काठमाडौंको कालीमाटीबाट मंगलबार बिहान मान्छेलाई हानेर भागेको राँगोलाई प्रहरीले गोली हानेर मारेको छ ।
मान्छेलाई हान्दै उदण्ड मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली हानेर मारेको हो । मासुका लागि तराईबाट ल्याइएको राँगाेले कालीमाटी झार्ने क्रममा नियन्त्रणबाहिर गई चारजनालाई हानेर घाइते बनाएको थियो ।
मान्छेलाई हानेर भागेको राँगालाई प्रहरीले न्यूरोडको खिचापोखरीमा घेरा हालेर गोली हानेर मारेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएपी उत्तमराज सुबेदीले जानकारी दिए ।
घाइते चार जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । स्वयम्भुतर्फबाट रन्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले गोली हानेर मारेको हो ।
काठमाडौंमा राँगोलाई प्रहरीले गोली हानेर मारेको यो पहिलो घटना भने होइन । यसअघि २०७५ साल फागुन ११ गते चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँ हुँदै दहचोकसम्म लखेटेर प्रहरीले गोली हानेर एउटा राँगोलाई मारेको थियो ।
यस्तै २०७१ साल मंसिर १५ गते ह्याम्स अस्पतालको तत्कालीन बुद्धनगरस्थित कार्यालयमा पसेर भैंसीले आतंक मच्चाएपछि प्रहरीले अस्पताल परिसरमै गोली हानेर मारेको थियो ।