७ असोज धादिङ । दसैं नजिकिएसँगै नौबिसे–नागढुंगा सडक टालटुल तथा मर्मत गर्दा काठमाडौं भित्रिने र बाहिने सवारी साधन घण्टौं लामो जाम बस्नु परेको छ ।
दसैं अगावै दैनिक उपभोग्य सामाग्री राजधानी भित्रिने बेला चितवनस्थित ठेकेदार कम्पनी जीएमआर यतिबेला भने नौबिसे–नागढुंगा सडक मर्मत थालेपछि लामो जाम हुन थालेको हो ।
नौबिसे–नागढुंगा खण्डको १५ किलोमिटर मर्मतको जिम्मा चितवनस्थित जीएमआर कन्स्ट्रक्सनले पाएको छ । चाडपर्वमा नागरिकका गुनासो बढ्न थालेपछि बााध्य भएर खाल्डाखुल्डीमा कालोपत्रे हाल्न थालिएको स्थानिय नागरिकले गुनासो गरेका छन् ।बढी जाम हुने पीपलामोड, खत्रीफौवा, सित्रेखोला, झ्याप्लेखोला, टायलघरलगायतका मोडका खाल्डाखुल्डी टालिएका छन् ।
चितवनस्थित सडक डिभिजन कार्यालयका प्रमुख कृष्ण अधिकारीले यात्रुलाई असर नपर्ने गरी गरी मर्मत थालिएको भने पनि यात्रुहरु घण्टौं जाममा बस्नुपरेको छ । नौबिसे–नागढुंगा खण्डमा हुने सवारी जाम व्यवस्थापन गर्न प्रहरीलाई पनि हम्मेहम्मे पर्न थालेको छ ।
सवारी जाम घटाउन लामा मालवाहक सवारी साधनलाई मंगलवार देखि नै दिनभर जिल्लामै रोक्ने र नोओभरटेक जोन मंगलबारबाटै लागु गर्न प्रहरीले यस अघि नै निर्देशन दिइसकेको छ । निर्माण कम्पनीका संचालक गणेश पाण्डेका अनुसार गत शुक्रबार देखि थालनी गरिएको सडक मर्मतले धादिङ तर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ ।
उकालो र साँघुरो बाटो, घुमाउरा मोड, अत्यधिक भार बोकेका गाडी र लेन अनुशासन मिच्ने प्रवृत्तिले पनि सडक जाम हुने गरेको छ ।