१३ माघ २०७९, शुक्रबार
समाचार

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारी पत्रमा हस्ताक्षर

प्रकाशित मिति :  ७ आश्विन २०७६, मंगलवार १४:०१


सत्तारुढ कम्युनिस्ट पार्टीमा सी विचारधाराको प्रवेश

७ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच द्विपक्षीय सहयोग आदान–प्रदान गर्ने सम्वन्धमा आज काठमाडौंमा समझदारी सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहालको उपस्थितिमा आज आयोजित एक कार्यक्रममा नेकपाका तर्फबाट विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चीनका तर्फबाट चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

नेकपाका नेताहरुलाई सी बिचारधाराबारे प्रशिक्षण दिन सोङ हिजै काठमाडौं आएका थिए । उनले हिजो र आज नेकपाका नेताहरुलाई प्रशिक्षण दिएका छन् ।

नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालकाअनुसार दुई पार्टीबीच उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने, कम्युनिस्ट विचारधारा र अनुभवको आदान प्रदान गर्ने र हाल सञ्चालन भइरहेको विचाराधारात्मक प्रशिक्षणलाई निरन्तर र तल्लो तहसम्म लैजाने, दुई देशका विकासका मोडलका अनुभवको आदानप्रदान गर्नेलगायतका बुँदा समझदारीपत्रमा समावेश छन् ।

उपप्रमुख रिजालले तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीबीच अलग– अलग मैत्री सम्बन्ध रही आएकामा नेकपा गठन भएपश्चात् दुई देशका दुई पार्टीबीचको सम्बन्धको नवीकरण भएको रुपमा समझदारीलाई लिनुपर्ने बताए ।

उनले समझदारीलाई कुनै अन्यथा रुपमा लिनु नपर्ने उल्लेख गर्दै विगतदेखि नै चलीआएको नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको मित्रवत् सम्बन्धको निरन्तरताको रुपमा लिनुपर्नेमा जोड दिए।

दुई देश र दुई पार्टीको सम्बन्धलाई थप विकसित र नयाँ उचाइमा लान खोजिएको चर्चा गर्दै उपप्रमुख रिजालले नेपाल सरकार र नेकपा एक चीन नीतिप्रति विगतदेखि नै प्रतिबद्ध रहेको छ । सोही प्रतिबद्धताअनुसार नै हामी थप अगाडि बढिरहेको समेत स्पष्ट पारे । चिनियाँ राष्ट्रपति सी जिन पिङको चाँडै हुन लागेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा यो समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक सोमबार संयुक्तरूपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरी समृद्धिको साझा आधार पहिल्याउने पहल थालनी गरेका छन् । दुबै पार्टीबीच भएको समझदारी पत्रमा भएका बुँदाबारे विस्तृत जानकारी केही क्षणमा गराइने जानकारी नेकपाका महासचिव विष्णु पौडेलले दिएका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा