१३ माघ २०७९, शुक्रबार
बजार/ब्राण्ड

मन्थलीमा वातावरण मैत्री नयाँ ब्राण्डका सिसाकलमकाे उत्पादन सुरु

प्रकाशित मिति :  ८ आश्विन २०७६, बुधबार १०:१८


सिसाकलम

प्रकाश परिष्कार

८ असोज, काठमाडौं । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा सिसाकलमको उत्पादन सुरु भएको छ । मन्थली र मन्थलीबजार वरपर प्रयोगविहिन भएर रहेका कागजहरुको संकलन गरी मन्थलीका स्थानीयबासी विश्वास श्रेष्ठले यसको सफल उत्पादन सुरु गरेका हुन् ।

झण्डै तीन दशकको उमेरमा उक्लिँदै गरेका विश्वासले आफ्नो जीवनकालको केही समय शिक्षण पेशामा समेत दिन भ्याए । आफ्नो जीवनको लक्ष्य शिक्षण गर्नु मात्र नभएर समाजलाई देखाउन लायक तथा केही उदाहरणीय काम समेत गर्ने लक्ष्य बोकेर हिँडेका विश्वासले अरुले गरेको भन्दा भिन्न काम गरी देखाउने सोच पालेका थिए । सोही अनुसार आफ्नो अध्ययनको विज्ञान विषयसँग सम्बन्धित रिसर्च गर्ने क्रममा आफूलाई सिसाकलम उत्पादन गर्ने सोच आएको केही महिना अघि हामीसँग भएको कुराकानीको क्रममा उनले बताए ।

‘हामीले हाम्रो उत्पादनलाई यतिबेला परीक्षणको रुपमा लिएका छौं । अहिले हामीसँग हामीले हातले नै तयार गरेका ६० हजार भन्दा बढी सिसाकलमहरु रहेका छन् । हामीले यसलाई अहिले नै बजार पठाएका छैनौँ । केही विद्यार्थीका हातमा यी सिसाकलमहरुलाई पु¥याएका छौँ ताकी त्यसको प्रभावकारिता समेत हामीलाई मूल्याङ्कन गर्नु छ ।’

श्रेष्ठ आफूले उत्पादन गरेका सिसाकलमहरु नयाँ ब्रण्ड र ‘इको फ्रेन्डली’ रहेको बताउँछन् । हाम्रा वरपर भएका प्रयोगविहिन कागजपत्रहरु, अखबार तथा पत्रपत्रिका लगायतका कागजहरु बजारमा त्यत्तिकै प्रयोगविहिन भएर रहेको अवस्थामा उनलाई सिसाकलमको धारणा आएको रहेछ । सोही धारणालाई प्रयोगमा ल्याउँदा सिसाकलम बनाउन उनी सफल भएका हुन् ।

विश्वाससँग यतिबेला सिसाकलम उत्पादन गर्नका लागि आवश्यक सबै पूर्वाधार रहेको छ । आफ्नो कामका लागि र भोली धेरै परिमाणमा यसको उत्पादन केही बढाउनका लागि आफूलाई कुनैपनि कुराले समस्याका रुपमा नसताउने उनी ढुक्कका साथ बताउँछन् । तर हाल बजारमा आएको माग जति बनाउन भने निकै समस्या रहेको उनले बताएका छन् ।

‘सम्भवतः नेपालमा नै पहिलो पटक तथा रामेछापका लागि विल्कुलै पहिलो पटक सिसाकलम उत्पादन गर्न लाग्दा लगानी कति तयार पार्नु पर्दो रहेछ ?’ भन्ने जिज्ञासामा उनी भन्छन् : ‘व्यवसाय भन्नासाथ लगानीको त कुरा पहिले नै आइहाल्छ । झन समाजमा कसैले नगरेको काम आफूले सुरुमा गर्दा त लगानी मात्रै होइन, त्योसँग सम्बन्धित प्राविधिक ज्ञानको समेत खाँचो पर्ने गर्दछ । सिसाकलमको परीक्षण उत्पादनका लागि मात्र मैले ३२ लाख लगानी गरिसकेको छु । यो लगानी अझै अपुग हुन्छ । आज उत्पादन भएका ६० हजार सिसाकलमहरुले मात्र बजारको बढ्दो मागलाई धान्न सन्ने अवस्था हुँदैन । तसर्थ यसको लगानी अझ बढाउनु पर्ने देखिएको छ ।’

विश्वसाले यो लागनी आफूले मात्र गरेका होइनन् । उनको यो व्यवसायका लागि स्थानीय स्तरमा खुलेका बैंक तथा वित्तिय संस्थाहरुको समेत लगानी हो । यो उत्पादनमा उनलाई विशेषगरी मन्थली बचत सहकारीले विशेष लगानी गरेको छ । सिसाकलम सँगसँगै उनले नेशनल पोल्ट्री फर्म नामक कुखुराका चल्ला उत्पादन गर्ने उद्योग समेत खोलेका छन् । यो आजपनि रामेछाप नगरपालिका अर्न्तगत सुकाजोर खोलाको छेउ बिटारमा रहेको छ ।

योसँग सम्बन्धित विगतको तितो अनुभव सुनाउँदै उनी अगाडि भन्छन् : ‘त्यो बेला पोल्ट्री फर्म संचालन गर्न लाग्दा लगानीको बेजोड अभाव भएको थियो । त्यो बेला म सँगै मेरा केही साथीहरु पनि थिए । हामीले मात्रै गरेको लगानी त्यो बेला पर्याप्त थिएन । त्यसैले हामीले मन्थलीमा रहेका विभिन्न बैंक तथा वित्तिय संस्थासँग आफ्नो योजना सहितकाे प्रस्ताव पत्र बैंक पेश ग¥यौं तर हामी जस्ता अल्लारे केटाहरुलाई देखेर कुनै पनि संस्थाले ऋण लगानी गर्न चासो दिएनन् । धेरै मेहनत र विश्वासको वातावरणसहित आफ्नो भएभरको जायजेथा बैंक दाखिला गरेपछि मात्र केही रकम मन्थलीको एक निजी बैंकले दिने कुरा बतायो । सोही पैसाको पनि थप लगानीका साथ हामीले आज पनि पोल्ट्री फर्म संचालन गरिरहेका छौं ।

हिजोको नमिठो अनुभव आज गर्नुपरेको छैन । हामीले यस्तो काम गर्न लागेका छौं भन्ने आशयको प्रस्तावपत्र बैंकमा लैजानासाथ आजभोलि भने जुनसुकै बैँकले पनि ऋण लगानी गर्न अहिले तयार हुने गरेका छन् । यसले आफूहरुको भरोसा बैंक तथा वित्तियसंस्थलाई रहेको छ भन्ने बुझेका छौं ।’

विश्वास एक्लैले सिसाकलम उत्पादनमा हात भने हालेका होइनन् । यस काममा उनको दाइको छोरा विशुको ठूलो हात रहेको छ । सिसाकमलको उत्पादनबारे आफूले खोज तथा अनुसन्धान गरेको भने विशुले यसको प्राविधिक ज्ञान, सिप र क्षमताको भरोसा दिएका छन् । यतिबेला सिसाकमल उत्पादनको बाहिरी पाटो विश्वासले संहाल्ने गरेका छन् भने भित्री पाटो विशुले । १४ जना कर्मचारीले सिसाकलम उत्पादनको काम गरिरहेका विश्वासले परीक्षण उत्पादनको समयमा पनि कर्मचारीहरुलाई साविक बमोजिमको तलब दिएका छन् ।

स्थानीय स्तरमा युवाहरुले यस्ता रोजगारमूलक काम गरिरहे पनि स्थानीय सरकारले कुनै किसिमको सहयोग यो समाचार तयार पार्दासम्म गरेका छैनन् भन्ने गुनासो श्रेष्ठको थियो । ‘स्थानीय रुपमा युवाहरुको यत्रो सक्रियतामा काम गरिरहनु भएको छ, स्थानीय सरकारको कस्तो सहयोग पाउनु भएको छ ?’ भन्ने जिज्ञासामा श्रेष्ठ भन्छन्, ‘सहयोगको अपेक्षा हामीले पनि गरेका छौं । हामी पनि गतिलो ऋणमा यो व्यवसाय थालिरहेका छौं ।

हामीलाई पनि यो धेरै व्याजको ऋणलाई हटाएर अनुदान या कम व्याजनमा ऋण लिएर काम गर्न पाए हुन्थ्यो भन्ने नलागेको होइन । यसै सँग कुराकानी गर्न हामी मन्थली नगरपालिकामा गएका पनि थियौं तर त्यहाँबाट आफूहरुले सहयोग गर्न नसक्ने तर माथिल्लो निकायमा सहयोगका लागि सिफारिस गरिदिने बचन लिएर फर्केर आयौं । आफ्नै ठाउँमा एउटा सरकार आफ्नो शासन संचालन गरिरहेको छ । हामीले त्यही ठाउँमा स्वरोजगारमुखी काम गर्छौ भन्दा सहयोग पाउन सकेका छैनौं ।’
श्रेष्ठको भनाईमा उनले वर्षकाे १० लाखको हाराहारी राज्यलाई कर तिरिरहेका छन् । राज्यलाई कर तिरिसकेपछि राज्यबाट पनि यथोचित सहयोगको अपेक्षा उनले पनि राखेका छन् । तर बिडम्बना ! आफ्नो स्थानीय सरकारलाई उनले त देखे र चिने पनि । तर राज्यले न उनको व्यवसायलाई चिन्न सक्यो न त उनलाई नै ।

pencil-ramechhap

राज्यले विश्वसालाई विश्वास नगरे पनि उनलाई उनका ग्राहकहरुले निक्कै विश्वास गरेका छन् । अहिले पनि उनको उद्योगमा सिसाकलमको राम्रो माग आउने गरेको उनी बताउँछन् । जिल्ला भित्र भन्दा पनि जिल्ला बाहिर र काठमाडौंबाट धेरै माग आउने गरेको उनी बताउँछन् । ‘अहिले पनि हाम्रो सिसाकलमको माग धेरै आउने गरेको छ । जो जसलाई हामीले हाम्रो सिसाकलमको प्रयोग गरि हेर्न भनेर टेस्टको लागि दिएका थियौं उहाँहरुले हाम्रो उत्पादनलाई धेरै नै मन पराइदिनु भएको छ ।
तर उनीहरुको माग अनुसार विविध कारणले मागलाई धान्न सकेको अवस्था छैन । किनभने हामीसँग यतिबेला मागलाई धान्न सक्ने पर्याप्त जनशक्ति पनि छैन र कच्चा पदार्थको पनि कमी भएको छ । यसको कारण भनेको लागानी नै हो । पर्याप्त लागानी हुने हो भने हामी ग्राहकले माग गरे बमोजिमको उत्पादन गरी बजारमा लैजान्छौं ।’ श्रेष्ठले भने ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता