८ असोज, पर्सा । पर्सा जिल्लामा संचालित जयश्री धौलागिरी डिष्टिलरी र उदयपुर डिस्टिलरीका संचालल आज कारागार चलान भएका छन् । अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौं राजश्व छल्ने दुई डिष्टीलरी सञ्चालकलाई आन्तरिक राजश्व कार्यालयले रु ३१ करोडभन्दा बढी जरिवानासहित एक–एक वर्ष कैद गर्ने निर्णय गरेपछि उनीहरु कारागार चलान भएका हुन् ।
ति डिस्टलरीले अन्तःशुल्कको स्टिकर हिनामिना गरी राजश्व छलेका प्रमाणित भएकाले उक्त कार्यालयले गत मङ्गलबार दुवै उद्योगका सञ्चालकलाई सो कारबाही गरेको हो । उदयपुर डिष्टीलरीले ३६ लाख ६९ हजार ७४२ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेकाले त्यसका सञ्चालक ओमप्रकाश कलवारलाई रू २६ करोड १६ लाख जरिवानासहित एक वर्ष कैद र धौलागिरि डिष्टीलरीले सात लाख ४५ हजार ६१५ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेकाले त्यसका सञ्चालक शम्भुशरणप्रसाद कलवारलाई एक वर्ष कैद र रु पाँच करोड ४७ लाख जरिवाना गरिएको उक्त कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले जानकारी दिए ।
दुवै सञ्चालकको जायजेथा बिक्री तथा लिलाम गरी जरिवानाको रकम असुलउपर नभए फौजदारीसंहितानुसार थप सात वर्ष कैद सजाय गरिने उक्त कार्यालयले जनाएको छ । दुवै उद्योग सञ्चालकलाई वीरगञ्ज कारागार चलान गरिएको छ ।
डिष्टीलरीभित्र निगरानी गर्न खटाइएका कर्मचारीले समेत आफ्नो दायत्व पूरा नगरेको प्रमाणित भएकाले ती उद्योगमा कार्यरत चार नासुलाई निजामती सेवा ऐन २०५० अनुसार विभागीय कारवाही गरिने निर्णय भएको कार्यालय प्रमुख कोइरालाको भनाइ थियो ।