१३ माघ २०७९, शुक्रबार
समाचार

ओली प्रचण्डको केटाकेटीपनले सीको भ्रमण विवादित

प्रकाशित मिति :  ९ आश्विन २०७६, बिहीबार १४:१०


ओली प्रचण्डको बचकनाले सीको भ्रमण विवादित

९ असोज, काठमाडौं । दुई तिहाईको सत्तादम्भले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा साम्यवादको भोक जागेको जस्तो लाग्छ । संसारबाटै साम्यवादको अन्त्य भइसकेको बेला नेकपा भित्र भने अनौठो ढंगले साम्यवादको धङधङीले घर गरेको देखिन्छ ।

यही साता चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख बोलाएर नेकपाले साम्यवादी धारलाई पार्टीको आधिकारिक लाइन बनाउने चेष्टा गरेको अनुभूत भएको छ । आखिर यस्तो सोच किन बनायो त नेकपाले ? यसको सही उत्तर खोज्न कठिन छ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र के सी भन्छन् – नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले लामो समय सत्तामा टिक्न यो तिकडम गरेको हुनसक्छ ।

विश्लेषकहरूकै आधारमा भन्ने हो भने ‘चिनियाँ कम्युनिष्ट पार्टीसँंग अहिलेको सम्बन्धको निर्माण दाहाल र ओलीले गरेका हुन् । यसमा अरु कसैको केही दायित्व र लगाव छैन ।’

तर नेपालमा साम्यवादको राग जति फलाके पनि संभव नरहेको ठम्याई डा. केसी को रहेको छ । चीनले चाहेर वा ओली प्रचण्डको अभिष्ट मात्रैले नेपालमा साम्यवाद आउने कल्पना आफैंमा मूर्खता हुने छ । केसी भन्छन् – बिस्तारै चीन नै लोकतान्त्रिक प्रकृयामा जानुपर्ने अवस्था निर्माण भइरहेका बेला साम्यवादको वकालत गर्दै हिंड्नुको कुनै तुक छैन ।

डा. केसीको बुझाईमा चीनले नेपालमा सी विचारधाराको वकालत गर्छु भनेर चाहेको होइन । ओली र प्रचण्डले माग गरेकाले चिनियाँ कम्युनिष्ट पार्टीले सी विचारधाराबारे प्रशिक्षण दिएको हुनु पर्छ । ओली प्रचण्डले आखिर किन यस्तो चाहना राखे होलान् त ? भन्ने जिज्ञासामा केसी भन्छन् – यसका पछाडि आन्तरिक र वाह्य शक्ति सन्तुलनको चाहनाले काम गरेको हुनसक्छ ।

यस्तै अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको विचार पनि यस्तै छ । उनी भन्छन् – नेपालको विकासमा भारत मात्र एक्लो साझेदार होइन, चीन पनि हाम्रो साथ छ भन्ने सन्देश दिन यस्तो काम गरेको जस्तो लाग्छ । नेपालले अपनाएको राजनीतिक प्रणाली र संविधानबारे चीनलाई राम्रो ज्ञान छ , त्यसैले चीनले नेकपालाई मात्र आफ्नो मित्र ठान्ने गल्ती गर्दैन , नेपाली काँग्रेस र समाजवादी पार्टीसँग पनि चीनको सम्वन्ध सुमधुर राख्ने चाहना देखिन्छ – आचार्य भन्छन् ।

फेरि चीनले कहिल्यै पनि अरु देशमा आफ्नो जस्तो राजनीतिक प्रणाली लागू गर्नु पर्छ भन्ने दवाव दिने कल्पना भन्दा बाहिरको कुरा हो ।

नेकपाका केही नेता सी विचारधारा देखाएर आन्तरिक शक्ति सन्तुलनमा पनि प्रभाव देखाउन इच्छुक भएको जस्तो लागेको छ, उनले भने -नेपालमा अहिले साम्यवादी शासन व्यवस्था आउने कुरा कोरा कल्पना मात्र हो । त्यस्तो प्रयत्न भयो भने स्वयं नेकपा भित्रै पनि ठूलै रस्साकस्सी हुने मैले बुझेको छु – आचार्यले थपे । यी दुई विश्लेषकको बुझाई सही हो भने ओली प्रचण्डले अरुलाई तर्साएर राख्न मात्र यस्तो काम गरेको हुनसक्छ ।

कांग्रेस लगायत अन्तराष्ट्रिय समुदायले पनि नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको ६ बुँदे समझदारीपत्रलाई गम्भिरतापूर्वक लिएका छन् । भारतले यसबारे अहिले कुनै प्रतिक्रिया नदिएपनि बढो सुक्ष्म ढंगले अध्ययन गरिरहेको बुझिन्छ ।

यही महिनाको अन्त्यमा नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी चिन फिङ पहिला भारत भ्रमण गर्दैछन् । त्यसैले नेपाल आउनु अघि सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल मामलामा अवश्य पनि छलफल हुने छ । त्यतिबेला मोदीले नेपालमा सी विचारधाराबारे चलेको बहसबारे कुरा निकाल्ने छन् ।

उनीहरुको केटाकेटीपनले नेपाल चीनबीचको भावी सम्वन्धमा कस्तो प्रभाव पार्ने हो

त्यसैले भारतीय चाहना विपरित चीनले नेपालमा सी बिचारधारामार्फत साम्यवादी यात्राको बाटो खोली देला भन्ने सोच्नु नै गलत हुने भनाई विश्लेषक आचार्यको छ । यस्तै प्रमुख प्रतिपक्षी कांग्रेसले पनि यो मुद्धालाई अन्तराष्ट्रियकरण गर्ने सम्भावना रहेको छ । तर यसका लागि चिनियाँ प्रधानमन्त्री सीको नेपाल भ्रमणले नै सबै कुरा निर्धारण गर्ने हो ।

चीनका राष्ट्रपति सीले नेकपाका नेताको चाहना पूरा गर्नका लागि सम्पूर्ण विश्व ब्रम्हाण्डसँग नकारात्मक छवि बनाउने कुरै हुँदैन । फेरि चीनले कहिल्यै पनि अरु देशमा आफ्नो जस्तो राजनीतिक प्रणाली लागू गर्नुपर्छ भन्ने दवाव दिने कल्पना भन्दा बाहिरको कुरा हो । त्यसैले नेपालमा चीनको समर्थनमा साम्यवाद ल्याउने कल्पनाले नयाँ भ्रम छर्ने काम मात्र गर्छ – विश्लेषक केसी भन्छन् ।

संसार नै लोकतन्त्रमय भएका बेला नेपालमा साम्यवादको चर्चा चल्नु नै अनौठो भएको उनको बुझाई छ । तर नेकपाले चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रपति सीलाई विवादमा तानिदिएको छ । उनीहरुको केटाकेटीपनले नेपाल चीनबीचको भावी सम्वन्धमा कस्तो प्रभाव पार्ने हो ? त्यो बुझ्न केही समय प्रतीक्षा गर्नुपर्ला । यसले ओली र प्रचण्डलाई नै कालान्तरमा ब्याक फायर नगर्ला भन्न सकिन्न – आचार्य भन्छन् ।

विश्लेषकहरू भन्छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीसँंग अहिलेको सम्बन्धको निर्माण दाहाल र ओलीले गरेका हुन् । यसमा अरु कसैको केही दायित्व र लगाव छैन ।’


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा