९ असोज, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले विश्वका कुनैपनि देशमा आफ्नो देशको विचारधारा निर्यात नगर्ने स्पष्ट पारेकी छन् ।
चीन अध्ययन केन्द्रद्वारा विहिवार राजधानीमा आयोजना गरिएको सी जिनपिङ विचारधाराबारे आयोजना गरिएको कार्यक्रमलाई संवोधन गर्दै उनले उक्त भनाइ राखेकी हुन् ।
नेपाल कम्युनिष्ट पार्टीले चिनियाँ राष्ट्रपति सी विचारधारालाई नेपाल आयात गर्न लागेको भन्दै आलोचना भइरहेका बेला राजदूत यान्छीले स्पष्टीकरण दिएकी हुन् ।
साथै उनले राष्ट्रपति सी बिचारधारा यसअघि नै अन्तराष्ट्रियकरण भइसकेको बताइन् । चीन कुनै पनि मुलुकको आन्तरिक मामलामा हस्तक्षेप गर्ने मुलुक होइन – राजदूत यान्छीले भनिन्, नेपाल कम्युनिष्ट पार्टीसँग भएको समझदारी नितान्त पार्टीगत भएको हो , यसमा कसैले कुनै आशंका नगरे हुन्छ ।
चीनले नेपाली भूमिमा साम्यवादी शासन प्रणालीको मलजल गरेको आरोप लागिरहेका बेला राजदूत यान्छीले यस्तो बताएकी हुन् । कार्यक्रममा रक्षामन्त्री इश्वर पोखरेलको सहभागिता थियो ।