९ असोज,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला सवार हेलिकोप्टर हिजो संभावित दुर्घटनाबाट जोगिएको छ । महामन्त्री डा. कोइराला सवार हेलिकोप्टर हिजो साँझ रामेछाप सदरमुकाम मन्थलीमा आकस्मिक अवतरण गरेको थियो ।
कांग्रेसले सञ्चालन गरेको दोस्रो चरणको जनजागरण कार्यक्रममा सहभागी हुन अस्ती खोटाङ पुगेका महामन्त्री डा. कोइराला काठमाडौं फर्कंदै थिए । खराब मौसमका कारण प्रभु एयरको हेलिकोप्टर मन्थलीमा आकस्मिक अवतरण भएको हो । डा. शशांकका साथ केन्द्रीय सदस्य चन्द्र भण्डारी, नवलपरासी कांग्रेस सभापति भरत गुरुङ र महिला नेतृ हिरा गुरुङ हेलिकोप्टरमा सवार थिए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार, महामन्त्री डा. कोइरालाका साथ सबै नेताहरु आज बिहानै अर्काे हेलिकोप्टरबाट राजधानी आईपुगेका छन् । आज काठमाडौं उड्नु अघि महामन्त्री कोइरालाले स्थानीय पत्रकारहरुसँग कुरा गर्दै भाग्यवश बाँचेको प्रतिक्रिया दिए ।
कोइरालाका अनुसार हिजोको खराब मौसमका कारण हेलिकोप्टरले दुई ठाउँमा अवतरण गर्नु परेको थियो । हेलिकोप्टर उड्ने बित्तिकै बादलमा फस्यो – महामन्त्री डा. कोइरालाले भने पाइलटले नजिकैको दूधकोशी र सुनकोशीको दोभानमा अवतरण गरे ।
त्यसपछि उडाइएको हेलिकोप्टर फेरि पनि काठमाडौं पुग्ने स्थिति नभएकाले मन्थलीमा आकस्मिक अवतरण गर्नुपरेको उनले बताए ।