मुना न्यौपाने
काठमाडौँ, १२ असोज । विश्व पर्यटनक दिवस र वडादशैँको अवसरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । का.म.पा. वडा नं. ७ को अगुवाईमा स्थानीय संघसंस्थाहरूको सहभागिता सो कार्यक्रम गत शनिवार विहान ८ः०० बजेदेखि गौरीघाटचोकबाट सुरु भई उमाकुण्ड मैजुबहाल हुँदै पुनः गौरीघाटचोकमा पुगी बिसर्जन भएको थियो ।
कार्यक्रममा गौरी युवा समूहको आयोजना तथा नवजागरुक युवा क्लब, गौरीमातृ समूह, जापानी सूचना केन्द्र, नेपाल, नेपाल प्रहरी गौरीघाट वृत्त, उमाकुण्ड टोलसुधार समिति लगायत संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
काठमाडौँ महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोलले फोहरलाई यत्रतत्र सडक किरानमा फाल्नुभन्दा फोहरलाई व्यवस्थापन गर्न सकिएको खण्डमा दुर्गन्ध र रोगबाट समेत बच्न सकिने भएकाकारण वडावासी सबैलाई आफ्नो घर, पसल, होटलहरूबाट निस्कने फोहरलाई व्यवस्थापन गर्न आव्हान गरे ।
साथै उनले विश्वसम्पदासूचीमा पर्ने पशुपतिनाथ र बौद्धनाथ जाने मार्ग समेत यसै वडामा पर्ने भएकोले फोहर व्यवस्थापनमा हामी सजक र चासो हुनुपर्नेमा जोड दिए ।
सरसफाई कार्यक्रमका क्रममा माइकिङ्ग तथा स्थानीयबासीहरूलाई समेत वृहत् सरसफाई कार्यक्रममा सरिक हुन र हाम्रो घर,आँगनको फोहरलाई सामुहिक भई अन्य समयमा समेत व्यवस्थान गर्न अनुरोध समेत गरिएको थियो ।