१२ आसोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका नवनियुक्त अध्यक्ष राजनसिंह भण्डारीले आज सपथ लिएका छन् । नेपालको बैंकिङ क्षेत्रमा आफ्नो चर्चा बटुल्न सफल रहेका भण्डारीले गत पौष मसान्तमा सोही बैंकमा ८ वर्ष सिईओको कार्यकाल पुरा गर्दै विदा लिएका थिए ।
नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा भण्डारीलाई गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सिटिजन्स बैंकको संचालक समितिको ३१४ औं बैठकद्वारा सर्वसम्मत रुपमा भण्डारी अध्यक्षमा मनोनित भएका थिए ।
बैंकको स्थापना कालदेखि नै पौष २०७५ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा सोही बैंकमा सफल कार्यकाल पुरा गरेका भण्डारीले आगामी ४ बर्षको कार्यकालका लागि आजैबाट पदभार ग्रहण गरेका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त संस्था सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।