१४ असोज, एजेन्सी । भारतको बिहार र उत्तर प्रदेशमा भिषण बर्षापछि बाढी आउदा १०० जनाभन्दा बढीको मृत्यु भएको छ । बाढीले पटनाका अधिकांश आवासीय क्षेत्रहरू डुबानमा परेका छन् ।
ठूलो वर्षा भएपछि बाढीका कारण भारतका उत्तर प्रदेश र बिहार राज्यमा १०० जनाभन्दा बढी मानिसको मृत्यु भएको अन्तराष्ट्रिय समाचार एजेन्सी बिबिसीले उल्लेख गरेको छ ।
बाढीले राज्यका सहरी क्षेत्रमा वर्षा र बाढीले जनजीवनलाई नराम्ररी प्रभावित बनाइदिएको छ । बाढी सडकदेखि हस्पिटलसम्म पसेको दृश्यहरू समाचारमा सार्वजनिक भएका छन्।
समाचार स्रोतका अनुसार बाढीले गर्दा रेल सेवा, अन्य यातायात, स्वास्थ्य सेवा, विद्यालय तथा विद्युत् आपूर्ति अस्तव्यस्त भएका छन्। बिहारमा २९ जनाको मृत्यु भएको उक्त राज्यको विपद् व्यवस्थापन निकायले जनाएको छ। बाढीले बिहारको मुख्य सहर पटना पनि प्रभावित भएको छ।
पटना शुक्रवारदेखि जलमग्न भएको हो। त्यहाँ धेरै आवासीय क्षेत्र डुबानमा परेका छन्। यसैबिच, बिहार सरकारले भारतीय वायुसेनालाई हेलिकप्टर तथा पानी फाल्ने उपकरण उपलब्ध गराउन अनुरोध गरेको छ। उत्तर प्रदेशमा पनि उस्तै परिस्थिति छ।
बिहार राज्य विपद व्यवस्थापन निकायका अनुसार वर्षा अझै नरोकिएको र खोजी एवं उद्धारका कार्य जारी छ ।