१५ असोज, काठमाडौं । बुधबार राजधानीबाट प्रकाशित पत्रिकाहरूले विभिन्न फरक – फरक विषयमा मुख्य समाचार प्रकाशित गरेका छन् । बुधबार प्रकाशित सबै दैनिक पत्रपत्रिकाले सभामुखको राजीनामाकाे विषय र त्यसपछि उत्पन्न विभिन्न घटनाक्रमबारे नै मुख्य समाचार प्रकाशन गरेका छन् ।
अन्नपूर्ण पोष्ट् दैनिकले सभामुखको ‘उधारो’ राजीनामा शीर्षकमा प्रमुख समाचार बनाएको छ । महिला कर्मचारी माथि यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्ण बहादुर महराले पदबाट राजीनामा दिएपनि घटनाले फरक मोड लिँदा उहाँको राजीनामा ‘उधारो’ हुने देखिएको छ ।
महराले उपसभामुखलाई दिनुभएको राजीनामामा ‘छानबिन प्रक्रिया नसकिँदा सम्मका लागि’ मात्रै लेखिएकाले केही कानुनविदले समेत हास्यास्पद भएको प्रतिक्रिया दिएका छन् । समाचारमा उल्लेख भए अनुसार सभामुख महराले दिएको राजीनामाको भाषामा आफ्नो राजीनामाको अवधि आफैंले तोकेर राजीनामा दिनुभएको उल्लेख छ ।
कारोबार दैनिकले भने जापानले रोजगारीको कोटा बढाउन लागेको समाचारलाई शीर्ष स्थान दिएको छ । समाचारमा उल्लेख भए अनुसार पहिलो चरणमै जापानले १ हजारभन्दा बढी नेपाली कामदारको माग गरेको छ ।
यस्तै पत्रिकाले ’३५ अर्ब लागतमा १३ सय पुल निर्माण हुँदै’ देशेभर नयाँ पुल बन्दै गरेको समाचारलाई पनि पहिलो पृष्ठमै स्थान दिएको छ ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरीएका छन् । दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८६७ यात्रु बाहिरिएका छन् । ६ लाख ९१ हजार ६४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४६७ सवारी साधन सवारी साधन यात्रु बोकेर बाहिरिएको उनले बताए ।