१५ असोज, काठमाडौं । नेपाली कांग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ ।प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आइतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मलेन गरी उनले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने र अन्य जिल्लाको चियापान कार्यक्रमको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने बताए।
कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा असोज २६ गते अपरान्ह दिउँसो एक बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापान कार्यक्रममा सहभागी हुन संचारकर्मीहरुलाई पनि निमन्त्रणा गरेको छ ।
नेपाली कांग्रेसले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बिपी कोइरालाले २०३४ सालबाट शुरु गर्नुभएको चियापान कार्यक्रम दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको छ।