१७ माघ २०७९, मंगलवार
सडक/यातायात

दशैँका लागि राजधानीबाट १४ लाख बाहिरिए, सात लाख भित्रिए

प्रकाशित मिति :  १६ आश्विन २०७६, बिहीबार ०८:४६


चाैबिस घण्टामा उपत्यकाबाट सतचालिस हजार यात्रु बाहिरिए !

१६ असोज, काठमाडौं । दशैँ मनाउनका लागि काठमाडौं उपत्यकाबाट झण्डै १४ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म करिव १४ लाख राजधानीबाट बाहिरिएका छन् । त्यस्तै सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रुहरु भित्रिने क्रम भने विस्तारै घट्दो क्रममा रहेको जानकारी दिए । उनका अनुसार यो अबधीमा एक लाख ३७ हजार सवारी बाहिरिएको र एक लाख १७ हजार भित्रिएको छ ।

अहिलेसम्म दशैंका लागि एक लाख २७ हजार ३०६ यात्रुले अग्रिम टिकट बुकिङ् गरेको प्रमुख ढकालले जानकारी दिए । प्रहरीले यही असोज पहिलो सातादेखि चाडवाड केन्द्रीत विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको थियो । सोही योजना अनुसार राजधानीमा तीन सय बढी स्थानमा सवारी जाँच हुँदै आएको र एक हजार बढी ट्राफिक प्रहरी खटाइएको छ ।

विभिन्न क्षेत्रमा मापसे विरुद्ध कडाईका साथ जाँच भैरहेको महाशाखाका प्रवक्ता रविराज पौडेलले बताए । राजधानी भित्रिने नाका र व्यापारिक केन्द्रहरुमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ । नागढुङ्गा क्षेत्रमा गाडीको जामलाई मध्यनजर गरी प्रहरी निरीक्षककै नेतृत्वमा ट्राफिक व्यस्थापन मिलाईएको पौडेलले बताए ।

उनले चाडवाडमा बढी भाडा लिने र यात्रुलाई दुःख दिनेहरुको निगरानी र कारवाहीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको जानकारी दिए ।

अभियानका कारण महाशाखाले लामो दूरीका सवारीमा अनिवार्य दुई चालक नराखेका १५ र ‘ओभरलोड’ बोक्ने ४० सवारीलाई कारवाही गरिएको छ । यो बीचमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १४ हजार ८४८ सवारीलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता