काठेखोला गाउँपालिका परम्परागत सामग्री जोगाइँदै
नेपालबहस संवाददाता
असोज ३०, २०७६ बिहिबार १८:४:५६
३० असोज, बागलुङ । आधुनिक प्रविधि आएपछि लोप हुन लागेका परम्परागत सामग्री जोगाउन सङ्ग्रहालय स्थापनाको काम अघि बढेको छ । काठेखोला गाउँपालिका–७ ले ‘रेश पुरातात्विक सङ्ग्रहालय’ बनाउन लागेको हो । सङ्ग्रहालयमा ऐतिहासिक र पुरातात्विक महत्वका सामग्री सङ्ग्रह गरिने वडाध्यक्ष प्रेम लामिछानेले बताए ।
सङ्ग्रहालयका लागि वडाले चालू आवमा रु एक लाख ५० हजार बजेट छुट्याएको थियो । रेशको बैनथानामा रहेको सामुदायिक भवनमा सङ्ग्रहालय रहनेछ । पूर्वाधार तयारीसँगै सामग्री सङ्कलनको काम भइरहेको वडाध्यक्ष लामिछानेको भनाइ छ ।
सङ्ग्रहालयका लागि चाहिने काठ स्थानीय सामुदायिक वनले निःशुल्क उपलब्ध गराएका छन् । परम्परागत सामग्री सङ्कलनमा महिला समूहले सहयोग गरिरहेका छन् । वडा कार्यालयले पनि आफूसँग भएका परम्परागत सामग्री सङ्ग्रहालयलाई उपलब्ध गराउन सर्वसाधारणमा सूचित गरेको छ ।
सङ्ग्रहालयमा ढिकी, जाँतो, कोल, हलो, जुवा, आरान, चर्खा, ठेकाठेकी, लिस्नो, मदुस, ठड्यौलो, चुर्की, फकुलीलगायतका सामग्री राखिने भएको छ । स्थानीय जनजाति समुदायको पहिचान झल्कने कला, संस्कृृतिसँग सम्बन्धित सामग्री पनि सङ्ग्रहित गरिनेछ ।
“सङ्ग्रहालयमा स्थानीय संस्कृति, रहनसहन र जीवनशैलीको झल्को दिने सामग्री रहन्छन्”, वडाध्यक्ष लामिछानेले भने, “परम्परागत सामग्रीको संरक्षणसँगै सङ्ग्रहालयले पर्यटकीय आकर्षण पनि थप्नेछ ।” पर्यटकीय सम्भावना बोकेको गाउँ भएकाले सङ्ग्रहालयले पर्यटक आकर्षित गर्ने विश्वास गरिएको छ ।
रेशमा सञ्चालित घरबास होमस्टे पुग्ने पर्यटकका लागि सङ्ग्रहालय नयाँ गन्तव्य बन्ने बौर सामुदायिक घरबासका अध्यक्ष होमबहादुर पुनले बताए । रेशमा बौर, डोटा देउराली, मौरी झरना र रेश सामुदायिक गरी चार होमस्टे छन् । घुमफिर, खानपान र संस्कृतिका हिसाबले रेशका घरबास उपयुक्त मानिन्छन् ।
घरबासमा आउने पाहुनालाई गाउँलेले पर्यटकीय ठाउँ घुमाउने, स्थानीय परिकार खुवाउने र संस्कृति देखाउने गर्छन् । गाउँले जीवनशैली, रहनसहनले पनि पर्यटक लोभ्याउने गरेको छ ।
रेश गाउँको नजिकै १९ सय मिटरको उचाइमा अवस्थित चापाखर्क हिमश्रृङ्खला अवलोकनका लागि उत्तम गन्तव्य मानिन्छ । “चापाखर्कबाट दर्जनौँ हिमाल देख्न सकिन्छ, यहाँको वातावरण नै पर्यटक लोभ्याउने खालको छ”, वडाध्यक्ष लामिछानेले भने । त्यहाँ पुग्ने पर्यटक पदयात्रामार्फत गाजा दह, भकुण्डे र भैरवस्थान पुग्न सक्छन् ।
पर्यटन प्रवद्र्धनकै उद्देश्यले डोटा देउरालीमा ‘मदन स्मृति पार्क’ समेत निर्माण गरिएको छ । घरबास कार्यक्रमकै रु चार लाख बजेटबाट उक्त ‘पार्क’ बनाइएको हो । ‘पार्क’ मा मदन भण्डारीको शालिक राख्ने वडाको योजना छ । बागलुङ सदरमुकामदेखि १५ किमी मोटरको यात्रामा रेश पुग्न सकिन्छ । पैदल यात्रा गरे तीन घण्टामा पुगिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी विद्यार्थी सहभागी [ फोटोफिचर ]
चैत १५, २०८० बिहिबार
गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन
चैत १३, २०८० मंगलबार
एकै ठाउँमा तीन वटा नगदेबाली
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार