डा.रुपज्योतिको ठगीकाण्डमा मिलापत्रको तयारी
Advertisement

२१ कार्तिक,काठमाडौं । ल्यान्डमार्क डेभलपर्स प्रालिका नाममा हाउजिङ बनाउने भन्दै विभिन्न व्यक्तिहरुसँग करोडौैं रुपैयाँ ठगी गरेको आरोपमा शाहीकालिन पूर्वअर्थ सहायकमन्त्री एवं ज्योति ग्रुपका उपाध्यक्ष रूपज्योति कंसाकारलाई प्रहरीले पक्राउ गर्न लागेको छ । काठमाडौं प्रहरी परिसरले उनलाई व्यापक खोजी गरिरहेको जनाएको छ । प्रहरीले पक्राउ गर्ने डरले उनी अहिले फरार भएका छन् ।

ठगीको आरोपमा यसअघि नै पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट हिजो सर्वोच्चले खारेज गरेपछि रूपज्योतिलाई पक्राउ गर्ने बाटो खुलेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको हो ।

यसअघि सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म रूपज्योतिलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।

Advertisement

०७० सालमा कम्पनी दर्ता

नेपालका प्राय सबै ठूला व्यवसायीले घरजग्गामा लगानी गर्ने लहड चलेको बेला नेपालकै ठूलो व्यवसायिक घराना मानिएको ज्योति समूहले पनि हाउजिङमा लगानी गर्ने भन्दै ०७० सालमा ल्यान्डमार्क डेभलपर्स प्रा.लि. नामक कम्पनी दर्ता गरायो ।

चुक्ता पुँजी १० करोड १० हजार रहेको सो कम्पनीमा ज्योति समूहको ५० लाखको शेयर छ । ज्योति समूहकै अटो कम्पनी स्याकर कम्पनी प्रालिको ९ करोड ५० लाखको शेयर लगानी छ । कुनैसमय मध्यमवर्गीय परिवारका लागि कम लगानीमै घर निर्माण गरिदिने भनेर सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेर बदनामी कमाएको जय स्निपिङ मिल्स प्रालिले पनि ल्यान्डमार्क डेभलपर्समा १० हजार रूपैयाँको शेयर लगानी गरेको छ ।

अग्रिम बूकिङका नाममा करोडौं ठगी

देश कै पुरानो र प्रतिष्ठित व्यापारिक घराना ज्योति समूहले हाउजिङमा लगानी गर्ने भएपछि काठमाडौंका रैथानेदेखि उपत्यका बाहिरका व्यक्तिहरुले पनि ‘घर’ किन्न १० लाख रूपैयाँका दरले बैना रकम जम्मा गरी ल्यान्डमार्क डेभलपर्सले काठमाडौंको बाँसबारीमा निर्माण गर्न लागेको हाउजिङमा आफ्नो घर ‘बूक’ गरे । ज्योति ग्रुपद्वारा सञ्चालित ज्योति एन्ड कम्पनी प्रालिका सञ्चालकसमेतको जग्गामा ल्यान्डमार्क डेभलपर्स प्रालिले काठमाडौं महानगरपालिका–३ का आवासीय घरहरू बनाई बिक्री–वितरण गर्नेगरी निर्माण गर्ने सहमति भएको थियो । घरहरू निर्माण हुने भएपछि इच्छुक खरिदकर्ताहरूलाई खरिद गर्न २०७१ वैशाखमा आह्वान गरिएको थियो ।

काठमाडौं महानगरपालिका–३ जग्गामध्ये १९ नम्बर प्लटको ०–६–३–२.१६ को कायम भएको र यसको मूल्य २ करोड १४ लाख १९ हजार ७ सय ५० रुपैयाँ कायम गरिएको थियो । बुकिङका लागि विज्ञापनमा बुकिङ गर्दा १० लाख रुपैयाँ दिनुपर्ने र बाँकी राजीनामा पारित गरिदिने समयमा लिने दिने, सो प्लटमा दुवै पक्षको आपसी सहमतिमा घरको डिजाइन गरी दुई वर्षभित्र घरजग्गा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाइएको थियो ।

कम्पनीले प्रत्यक घर ७ आना क्षेत्रफलमा व्यवसायिक प्रयोजनसहित निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो । २०७१ जेठबाट हाउजिङ निर्माणको प्रक्रिया शुरू गरेको ल्यान्डमार्कले हाउजिङ निर्माणको सम्पूर्ण जिम्मा सीई कन्सट्रक्सनलाई दियो । हाउजिङ तथा निर्माण क्षेत्रमा ख्याति कमाएको सीई कन्स्ट्रक्सनलाई ल्यान्डमार्कले हाउजिङ निर्माण मात्र हैन बिक्रीदेखि बूकिङका सन्दर्भमा सम्पूर्ण निर्णय गर्ने अधिकार पनि दियो ।

सीई कन्स्ट्रक्सन र ल्यान्डमार्कबीच भएको सम्झौतामा सीईले हाउजिङ निर्माणदेखि बिक्री गर्नेसम्मको अधिकार राख्ने उल्लेख छ । नाफामा प्रतिशत बाँडेर लिने सम्झौता दूवै कम्पनीबीच भएको छ । सीईले हाउजिङमा हात हालेपछि हाउजिङ बूकिङ गरेका मानिसहरूले २०७१ को भदौमा थप १ करोड २६ लाख ७५ हजार रूपैयाँ पनि बुझाए । उक्त पैसा सीई कन्सट्रक्सनले बुझेको देखिन्छ ।

करिब २२ वटा घर निर्माण गर्ने हाउजिङका लागि सबै घर बूक भइसकेका थिए । तर, काम भने निकै सुस्त थियो । यसबीचमा १२ वैशाख २०७२ मा गएको भूकम्पले एक वर्षसम्म काम नै ठप्प भयो । भूकम्पको एक वर्षपछि अघि बढेको काम वि.सं. २०७४ तिर अन्तिम चरणमा पुग्यो । जब घर निर्माण भइसकेर हस्तान्तरण हुनुपर्ने बेला आयो, त्यसपछि शुरू भयो झमेला ।

यसरी भयो ठगीको घटना उजागर

कान्तिपथमा रहेको चर्चित व्यापारिक घराना ज्योति समूहले घरजग्गा कारोबारमा गम्भीर ठगी गरेको भन्दै पीडितले अदालत गुहारेपछि ज्योति समूहको ठगी प्रकरण उजागर भएको हो । काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने विज्ञेन्द्रकृष्ण मल्ललाई आवासीय घरहरू बनाउने प्लट नम्बर १९ को जग्गा बैना लिएर दुई वर्षमा बनाउने सहमति गरिएको थियो । तर, सहमतिविपरीत चार वर्षसम्म बैना लिएको जग्गामा न त घर बन्यो न त जग्गाको हक हस्तान्तरण भयो ।

ज्योति ग्रुपले आफूलाई ठगी गरेको थाहा पाएपछि घर किन्ने विज्ञेन्द्रकृष्ण मल्लले कानुनी उपचारको बाटो खोज्न थाले । सीई कन्ट्रक्सन र ज्योति समुहको विश्वासमा परेका विज्ञेन्द्रकृष्ण मल्लले सीई कन्सट्रक्सनका महाप्रबन्धक शम्भुप्रसाद फुयाँललाई बुकिङ रकम बैना बुझाएका थिए। फुयाँलले यो क्षेत्रका सबै प्लटको यसरी नै बैना लिएर घर निर्माण गरेर सुम्पेका थिए । सो प्लटमा घर बनाई दुई वर्षमा घर दिनुपर्नेमा सो जग्गामा घर नबनाई बसेपछि मल्लले पटक–पटक रूपज्योति र सीई कन्सट्रक्सनसँग घर पास गरिदिन माग राख्दै आएका थिए । कहिले नक्साको डिजाइन फाइनल हुन बाँकी त कहिले ठेकेदारसँगको सहमति हुन बाँकी भएको भन्दै रुपज्योतिले आलटाल गरिरहेको मल्लले बताए ।

चार वर्ष बितिसक्दा पनि घर निर्माण गरी नगरेपछि र हक हस्तान्तरणसमेत नभएपछि विज्ञेन्द्रकृष्ण मल्ल आफू अन्यायमा परेको भन्दै गुनासो गर्दै हिँडेका थिए । रूपज्योतिले आफू नेपालको सबैभन्दा धनाढ्य व्यापारी भएको र धेरै हल्ला गरे ठीक गरिदिनेसम्मको धम्की दिएपछि आफू उजुरी दिन बाध्य भएको उनले बताए ।

यसरी रूपज्योतिले आफ्नो जग्गामा ल्यान्डमार्कलाईसमेत झुक्याएर ठगी गरेको यकिन भएको हुँदा विपक्षीहरूलाई कारबाहीको माग गरी काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत दायर भएको थियो । तर रूपज्योति ग्रुपले ठगी गरिसकेपछि मुद्दाबाट बच्न सर्वोच्च अदालतलाई समेत गुमराहमा राखी तथ्य लुकाएर देवानी प्रकृतिको भन्दै अदालत पुगेकोमा सर्वोच्चले उनलाई पक्राउ गर्न सक्ने गरि रिट खारेज गरिदिएको हो ।

अरू जग्गामा घर बनाउने सहमति फुयाँललाई दिने तर १९ नम्बर प्लट मात्रै बैना हुँदा आफु अनविज्ञ भएको र बेच्न नचाहेको दाबी सीई कन्सट्रक्सनले गरेको छ । तर २०७१ सालमा भएको विज्ञापनमा प्रस्टसँग फुयाँलसँग कारोबार गर्न सकिने खुलाइएको छ ।

फुयाँलले उच्च अदालतमा ज्योति ग्रुपको बदमासीका कारण समस्या भएको र विज्ञेन्द्रकृष्ण मल्ललाई अन्याय परेको बताएका छन् । फुयाँलले कम्पनीले ती सबै जग्गामा घर बनाएर बेच्ने गरी बैना गर्न अधिकार दिएको अदालतमा स्विकारेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्