Advertisement

रामबहादुर थापा / रासस

२१ कार्तिक बागलुङ । चार वर्षअघि जैमिनी नगरपालिका–१० राङ्खानीका किसानले सुकेको अलैँची प्रतिकिलो रु दुई हजार २०० मा बेच्थे । अलैँची व्यापारी खरिदका लागि किसानको घरघरै पुग्थे । राम्रो भाउ पाउँदा किसान खुशी थिए । अहिले अलैँचीको मूल्य घटेर प्रतिकिलो रु पाँच सय पुगेको छ । फलेको अलैँची पनि बेच्नै गाह्रो छ ।

उचित मूल्य नपाएपछि अलैँची किसान निराश छन् । राङ्खानी, माझगाउँका किसान मनबहादुर श्रीषले अलैँची खेतीबाट आफू निरुत्साहित बनेको प्रतिक्रिया दिए । “शुरुमा राम्रो भाउ पाएपछि उत्साहित भएर अलैँची खेतीतिर लागियो”, उनले भने, “अहिले त खर्च पनि उठ्न छोड्यो ।”

Advertisement

श्रीषले तीन रोपनी जग्गामा व्यावसायिक अलैँचीखेती गर्दै आएका छन् । यो वर्ष उनकोमा १०० किलो काँचो अलैँची उत्पादन भएको छ । उक्त अलैँची सुकाउँदा २५ किलो जति ठहर्ने श्रीषको भनाइ छ । काँचो अलैँची बेच्दा भने प्रतिकिलो रु १०० पर्छ । राङ्खानी, पाहीका अगुवा अलैँची किसान केदार शर्माले गाउँभरिको अलैँची खरिद गरेर बाहिर बेच्दै आएका छन् ।

राङ्खानीमा १५ बढी किसानले व्यावसायिक अलैँचीखेती गरिरहेका छन् । घरायसी प्रयोजनका लागि लगाउने किसानको सङ्ख्या भने धेरै छ । माझगाउँकै अलैँची किसान धनबहादुर रानाले मूल्य घटेपछि अलैँची खेतीको विस्तार रोकिएको बताए । “गत वर्षदेखि नयाँ बिरुवा कसैले लगाएको छैन”, उनले भने ।

मूल्य घटेपछि अलैँचीखेतीतर्फ किसानको आकर्षण घट्दो छ । अलैँची खेतीमा नयाँ किसान थपिन सकेका छैनन् । पाँच वर्षअघि अलैँचीका विज्ञ पारसमणि काफ्लेले राङ्खानीका किसानलाई अलैँची खेतीबारे सिकाएका थिए । उनले नै केहीवर्ष गाउँका किसानबाट अलैँची खरिद गरेर लैजाने गर्थे मूल्य घटेपछि अहिले कोही पनि अलैँची सोध्न किसानकोमा जाँदैनन् ।

अलैँचीको खेतीमा लाग्ने मेहनत र श्रम अनुसारको मूल्य पाउने वातावरण बन्नुपर्ने किसान बताउँछन् । रोप्नदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने आदि गर्दा किसानको ठूलो समय र श्रम अलैँची खेतीमा खर्च हुन्छ । ठूलो क्षेत्रमा लगाउने किसानले ज्यालामा मजदूर लगाएरै काम गर्नुपर्ने अवस्था छ । जैमिनी नगरपालिकाले राङ्खानीसहित वडा नं २, ३ दमेक र ९ पैँयूथन्थापलाई समेटेर अलैँचीको पकेटक्षेत्र बनाउने तयारी गरेको छ ।

राङ्खानीका किसानलाई अलैँची खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले अलैँची प्रशोधन यन्त्रसमेत उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । हालै दमेकका किसानलाई अलैँचीखेती सम्बन्धी तालीम र बिरुवा प्रदानस गरिएको छ । जैमिनी क्षेत्र अलैँचीखेतीको उपयुक्त मानिन्छ ।

कृषि ज्ञान केन्द्र, पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले अलैँचीको बजार व्यवस्थापन हुन नसकेको बताए । “विदेशमा नेपाली अलैँचीको माग बढ्दो छ, बाहिर मूल्य पनि राम्रो छ”, उनले भने, “सीमित भारतीय व्यापारीको एकाधिकारले गर्दा नेपाली किसानले उचित मूल्य पाउने सकेका छैनन् ।”

सरकारले तोकेको मूल्यमा अलैँची बेच्न सके किसान पनि खुशी भएर उत्पादनमा लाग्ने अधिकृत रेग्मीले बताए । भारतबाहेक अन्य मुलुकमा पनि अलैँची व्यापारका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो । नेपालमा उत्पादित अलैँची पूर्वी नाका हुँदै भारत निर्यात हुने गरेको छ । भारतीय बजारमा पुग्ने नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुने गरेको छ ।

Advertisement
Previous article22 Candidates File Nomination For Kaski Constituency-2, By-Election
Next articleनेपाल भ्रमण वर्ष २०२० : होटल क्षेत्रमा पाँच अर्ब ७७ करोड वैदेशिक लगानी वृद्धि

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here