तिपेनीमा प्रहरी चौकी निमार्ण, हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बस्नेतले गरे उद्‍घाटन 
Advertisement

२५ कार्तिक सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक मातहत प्रहरी चौकी तिपेनीको नवनिर्मीत भवनको आइतबार ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले  उद्‍घाटन गरेका छन् ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक बस्नेतले उक्त भवन निर्माण कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र प्रदान गरेका छन् ।

कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय काभ्रेका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भोज जंग शाह, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जन, सिन्धुपाल्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा, उक्त गाउँपालिकाका वडा अध्यक्षहरु, संचारकर्मी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पूर्व प्रहरी कर्मचारीहरु लगायत स्थानीय बासिन्दाको सहभागीता रहेको थियो । राष्ट्रिय पुस्निर्माण प्राधिकरणको सहयोगमा उक्त भवन निर्णाण सम्पन्न भएको हो ।

Advertisement

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत एक दिवसिय ट्राफिक प्रशिक्षण कार्यक्रम सम्पन्न 
चितवनमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजनामा भरतपुर महानगरपालिका-१० स्थित सभाहलमा शनिबार एक दिवसिय ट्राफिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी, ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी उपरीक्षक प्रकाश राना भाट र संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले मन्तव्य व्यक्त गरेकाे उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक चन्द्र कुमार गिरीले कार्यक्रमको उद्देश्य सम्बन्धमा प्रकाश पारेका थिए । सुरक्षित सवारी सञ्चालन बिधिू सम्बन्धमा चितवन जिल्ला अन्तर्गतका सरकारी सवारी चालकहरु र एम्बुलेन्स चालकहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो ।

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत अनुशिक्षण कार्यक्रम सम्पन्न 
यता काठमाडौंमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विपद जोखिम न्यूनीकरण सचेतनामूलक अनुशिक्षण कार्यक्रम बुढानिलकण्ठ नगरपालिका-१० स्थित जुगल कलेजमा आइतबार सम्पन्न भएको छ ।

अनुशिक्षणको क्रमममा उक्त कलेजका शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई स्थलगत अभ्यासद्धारा अग्निशामक यन्त्रको प्रयोग, विभिन्न विधिबाट ज्वलनशील तरल पदार्थमा हुने आगलागी, शरीरमा हुने आगलागी तथा एलपिजी ग्यासबाट हुने आगलागी नियन्त्रण सम्बन्धी प्रर्दशनी गरिएको थियो ।

साथै आगलागीबाट सुरक्षित हुने उपायबारे जानकारी दिनुको साथै अग्निशामक यन्त्र लगायतका सामाग्रीबाट आगो नियन्त्रण अभ्यास समेत गराइएको थियो । महानगरीय प्रहरी प्रभाग कपनको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय विपद व्यवस्थापन महाशाखा सामाखुशीबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उक्त अनुशिक्षण प्रदान गरेको हो ।

अवैध लागूऔषध चरेश सहित पक्राउ 
काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट धादिङ थाक्रे गाउँपालिका-२ भुमेस्थान सिम्ले बस्ने ५५ वर्षीय सोनाम बाईवालाई अवैध लागूऔषध चरेश ८ केजी ५.३५ ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख २८४० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार सोनामलाई झोलामा लुकाइछिपाई ल्याएको उक्त लागूऔषश सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ 
मोरङमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ७ लाख रुपैयाँ सहित २ जनालाई विराटनगर  महानगरपालिका-१५ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१४ ओमसाइराम टोल बस्ने ३० वर्षीय ज्योति कुमार साह र भारत अररिया जोगबनी बस्ने १९ वर्षीय विक्की कुमार साह रहेका छन् ।

सोही ठाउँस्थित खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ७३९६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक ज्योति कुमारको साथमा ४ लाख रुपैयाँ र मोटरसाइकलमा सवार विक्की कुमारको साथमा ३ लाख रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उक्त रकमको उनीहरुले कुनै श्रोत खुलाउन सकेका छैनन् ।

प्रारम्भीक अनुसन्धानको क्रममा उक्त रकम भारत अररिया जोगवनी बजारबाट एक जना व्यक्तिले हुण्डी कारोवार अन्तर्गत पठाएको र यसरी पठाएको रकम सम्वन्धित व्यक्तिको जिम्मा लगाएपछि प्रति १ लाख १ सय रुपैयाँ पाउने गरेको खुल्न आएको छ ।

उनीहरूलाई आइतबार थप अनुसन्धान तथा कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा वुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ 
नबलपरासी ‘बर्दघाट सुस्ता पश्चिम’मा कुटपिट गरी हत्या गरेको अभियोगमा बर्दघाट नगरपालिका-१३ बस्ने ३० वर्षीय महेश्‍वर प्रसाद बानियालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

प्रतापपुर गाउँपलिका-९ खैरहनीमा शनिबार लागेको रासलिला मेलामा सोही गाउँपालिका-१ भिठ्ठा बस्‍ने ७० वर्षीय लालमन चौधरीलाई बानियाले कुटपिट गर्दा घाइते भएका थिए । घाइते बानियाको स्थानीय मेडिकलमा उपचार पश्चात घरमा लगिएकोमा आइतबार बिहान मृत्यु भएको थियो ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ 
काठमाडौंमा लागूऔषधका मुद्दाका फरार प्रतिवादी नुवाकोट म्यागन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ३७ वर्षीय राम बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

२०५९ असोज २४ गते ठमेलबाट लागूऔषध चरेश ७ केजी सहित पक्राउ परेका तामाङलाई लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंको २०६१ जेष्ठ २७ गतेको फैसलाले ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना ठहर भएको थियो ।

अनुसन्धानको क्रममा ३ महिना ७ दिन हिरासतमा रही २ वर्ष ८ महिना २३ दिन कैद वेरुजु रही हाल फरार रहेका तामाङलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटसँग समन्वय गरी महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । तामाङलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त परिसरले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्