प्रहरी निरीक्षक हुँ भनी पैसा असुली गर्न खोज्ने पक्राउ
Advertisement

२८ कार्तिक काठमाडौं । काठमाडौं महानगरपालिका १४ ताहाचलस्थित श्रम कार्यालयमा डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने रुकुम घर भएका ३३ वर्षीय टोप बहादुर बिष्‍टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त कार्यालयमा खटिएको प्रहरीलाई श्रम स्वीकृति गरी दिनको लागि बिष्‍टले उक्त नगद दिन खोजे पछि उक्त नगद सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं बनस्थली बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ घर भएका ३२ वर्षीय रविन्द्र थपलियालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले बा.४६ प ९५१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक थपलियाले मादक पदार्थ सेवन गरी सवारी चलाएको फेला पारी कारवाही गर्न खोज्दा उनले प्रहरीलाई उक्त नगद दिन खोजे पछि उक्त नगद सहित उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चितवनको राप्ती नगरपालिका-६ हर्दीबाट मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान र ५ राउण्ड गोली सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुर नगरपालिका-१२ धनोवरी बस्ने ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका-५ बस्ने ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् । उक्त स्थानमा बा.८५ प ८०८४ नम्बरको मोटरसाइकल रोकी शंकास्पद रुपमा हिँडिरहेका उनीहरुले ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्न खोजे पश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा ५ राउण्ड गोली लोड भएको उक्त पेस्तोल फेला पारेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-४ गणेशपुरबाट कटुवा पेस्तोल १ थान सहित डडुवा गाउँपालिका-४ उचामसाह बस्ने ३२ वर्षीय मेराज अली सैयदलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले सल्यानी बंगलाबाट बसपार्कतर्फ जाँदै गरेको भे.१ स ८३२६ नम्बरको अटोरिक्सा जाँच गर्ने क्रममा रिक्सामा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी रिक्सा चालक सैयदलाई पक्राउ गरेको हो ।

पर्सामा पटेर्वा सुगौली गाउँपालिका-२ स्थित रंगपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब १० केजी सहित सोही गाउँपालिका-४ पटेर्वा सुगौली बस्ने २५ वर्षीय शिवजन्म माझीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै ललितपुरको कोञ्जोसोम गाउँपालिका-४ तल्लो नल्लु बस्ने सागर तामाङको सोही ठाउँस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई नगद ५८ हजार ६ सय ७५ रुपैयाँ, ३ बुक तास र १३ थान कौडा सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

धादिङमा भ्रष्टचार मुद्दामा बिशेष अदालत काठमाडौंको २०७३ बैशाख ३० गतेको फैसलाले ६ महिना कैद र २ लाख ३८ हजार ८ सय ९८ रुपैयाँ जरिवाना भई फरार रहेका अभियुक्त थाक्रे गाउँपलिका-१ बस्ने ५८ वर्षीय वीर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी बुधबार जिल्ला अदालत धादिङ समक्ष पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यसैगरी थाक्रे गाउँपालिका-१० सिउरीपाटीमा कात्तिक १२ गते देउसीभैलो खेल्ने क्रममा सोही ठाउँ बस्ने २६ वर्षीय प्रदिप श्रेष्ठ समेत ३ जनालाई कुटपिट गरी घाइते बनाई फरार रहेका ५ जना अभियुक्तलाई मंगलबार जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गल्छी गाउँपालिका-८ बस्ने २३ वर्षीय बिबेक तामाङ‚ २४ वर्षीय राजु तामाङ‚ २२ वर्षीय सफल तामाङ‚ थाक्रे गाउँपालिका-१० बस्ने २२ वर्षीय गणेश तामाङ र २५ वर्षीय राजु तामाङ रहेका छन् ।  कुटपिटमा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै पक्राउ परेका व्यक्तिहरु उपर थप आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित गणेश मन्दिरको चन्दा बाकस र घण्टी चोरी गर्दै गरेको अवस्थामा ललितपुर टिकाथली बस्ने सिन्धुली घर भएका सागर बहादुर कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कार्कीले उक्त मन्दिरको बाकस र घण्टी चोरी गर्दै गरेको अवस्थामा स्थानियवासीले फेला पारी प्रहरीलाई खबर गरे पश्चात महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ का किराञ्चोक, मजुवा, बरभन्ज्याङ, कटुन्जे, पर्वाङभन्ज्याङ, ओझा गाउँ लगायतका विभिन्न स्थानहरुका गरी अन्दाजी १ सय ७५ रोपनी जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती बुधबार प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले स्थानी बासिन्दाको सहकार्यमा उक्त गाँजा खेती फडानी गरी आगो लगाई नष्ट गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता दैलेख, गोरखा र चितवनका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । दैलेख, नौमुले गाउँपालिका-३ भुरुङ्गेस्थित सडकमा भे.१ त ३६७७ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार नौमुले गाउँपालिका-३ द्धारी बस्ने १६ वर्षीय महेन्द्र रामजालीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोरखा, बारपाक सुलीकोट गाउँपालिका-८ स्थित सडकमा ग.१ त ४०३७ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा ट्याक्टर चालक नवलपरासी ‘पश्चिम’ रामग्राम नगरपालिका-११ घर भएका ३० वर्षीय जगदीश प्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

चितवन, ईच्छाकामना गाउँपालिका-६ जलबिरेस्थित सडकमा बा.१० च ४४१३ नम्बरको बलेरो जिप र बा.६६ प २९६५ नम्बरको मोटरसाइकल बिहीबार बिहान एक-आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका-६ बस्ने ३० वर्षीय रोशन सापकोटाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित डेरा गरी बस्ने धादिङ गल्छी गाउँपालिका-४ घर भएका २८ वर्षीय नवराज मगरको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी करिब २ लाख ७२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

यसैगरी तारकेश्वर नगरपालिका-५ लोलाङ हरियाली बस्ती बस्ने रामचन्द्र पौडेलको घरबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । यसैगरी तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने कमल पौडेलको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी करिब १ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुनसरीको ईटहरी उपमहानगरपालिका-१४ गैसार सरदार टोल बस्ने शिबलाल सरदारको काठले बनेको टिनको छानो भएको घुम्तीमा बुधबार राति आगलागी हुँदा घुम्ती, घुम्तीभित्र राखेको काठपात लगायतका सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
अघिल्लो लेखआइएमईको डबल अफरमा शेरचन भए साताैं
अर्को लेख१० किलो गाँजासहित एक जना पक्राउ
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्