बिग मर्जको नाममा ग्लोबल आईएमई बैंकको गाेलमाल !
आर्थिक संवाददाता
मंसिर ९, २०७६ मंगलबार १:४९:२५
९ मंसिर,काठमाडाैं । ग्लोबल आईएमई बैंक जनता बैंकसँग १०० बराबर ८५ को स्वाप अनुपातमा मर्जरमा जाँदैछ। दुवै बैंकको साधारण सभाले सो प्रस्ताव पारित गरेको छ । मर्जर जानु अघि ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासकाे वित्तीय विवरण सार्वजनिक गरेकाे हाे ।
कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद मुनाफालाई ४१ प्रतिशतले वृद्धि गर्न सफल भएको देखाइएकाे छ । अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले ५३ करोड ५८ लाख रुपैया खुद मुनाफा गरेमा कम्पनीले अहिले ७५ करोड ३१ लाख खुद मुनाफा आर्जन गरेकाे विवरण सार्वजनिक भएकाे छ ।
तर अध्यक्ष चन्द्रप्रसाद ढकालको मनोमानी कार्यशैलीका कारण बेलुन झैं फुलेको ग्लोबल आईएमई बैंकको खराब कर्जालाई चलाखीपूर्ण ढंगले लुकाइएको छ । गत आबको यही अवधिमा १.०५ प्रतिशत खराब कर्जा रहेको बैंकमा मर्ज हुने अन्तिम समयमा आएर ०.८५ रहेकोे देखिएपनि प्रोभिजनको प्रतिशत भने बढेको छ । शतप्रतिशत प्रोभिजन राख्नुपर्ने प्रावधान अनुसार गत आबको सोही अवधिमा १६२.०४ रहेको प्रोभिजन यसपटक बढेर १९४.८५ पुगेको छ ।
बिगतमा एनबी ग्रुपले जस्तै नेपाल राष्ट्र बैंकका गर्भनरदेखि कर्मचारीसम्मलाई मोटो रकम बाँडेर हातमा लिन सफल ढकालले लामो समय सीईओ नियुक्ती समेत नगरेर राष्ट्र बैंकको नियमलाई धोती लगाएका थिए । निमित्त सीईओ कै भरमा बैंकमा एकलौटी हालीमुहाली गदै आएका ढकालले तिनै सीईओलाई मोहोरा बनाएर वित्तीय विवरणमा गोलमटोल गरेको बताइन्छ ।
स्थलगत सुपरिवेक्षण प्रतिवेदन र डीडीए रिर्पोटमा समेत राष्ट्र बैंकको कैफियतमा परेको ग्लोबल बैंकमा ५–७ अर्बकै हिसाबकिताबको गोलमाल रहेको आशंका गरिदै आएको छ र सो सम्बन्धि समाचारहरु पनि बेलाबेला सार्वजनिक हुदै आएका छन् । खासगरि मिलेमतोमा भएको कर्जा लगानी उठ्न नसकेर बैंक थला पर्न आँटेको छ ।
सोही कारण बिग मर्जका नाममा राहत खोज्दै हिडेका ढकालले ती सबै कैफियतहरुलाई राष्ट बैंकसँगको सेटिङ र कामु सीईओको आडमा गोलमाल गरिएको स्रोतको भनाई छ । कामु सीईओ महेश ढकाल चार्टर्ड एकाउन्टेण्ट हुन । उनैले भित्रभित्र धरासायी र अस्तव्यस्त हुदै गएको ग्लोबल बैंकको वित्तीय विवरणमा कस्मेटिक चेञ्ज गरेको बताइन्छ ।
निक्षेप संकलन र कर्जा लगानीका कारण सीसीडी रेसियो टाईट भएको ग्लोबल आईएमई बैंक कुनैपनि बेला ढल्न सक्ने आशंका प्रबल बन्दै गएको छ ।
ग्लोबल आईएमई बैंकको आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७५/७६ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :
प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी ३० प्रतिशतले बृद्धि हुनुले पनि कम्पनीको खुद मुनाफा वृद्धि गर्न सहयोग पुगेको हो । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ५६ करोड खुद व्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब २० करोड खुद व्याज आम्दानी गरेको थियो । प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा बृद्धि गर्नुले कम्पनीको प्रथम त्रैमासको रिपोर्ट नै राम्रो आएको देखिन्छ ।
त्यस्तै कम्पनीको भर्खरै सकिएको साधारण सभाले १२ दशमलव ५० प्रतिशत बोनस शेयर र १२ दशमलव ५० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
चुक्ता पुँजी १० अर्ब ४३ करोडको आधारमा कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा रहेको छ ।
कम्पनीको निक्षेप संकलन ७ प्रतिशतले बृद्धि भएर १ खर्ब २८ अर्ब पुगेको छ भने कर्जा प्रवाह ९ प्रतिशतले बृद्धि हुँदै १ खर्ब १८ अर्ब पुगेको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा बैंक आक्रामक बन्न सकेको छैन ।
त्यस्तै कम्पनीले खराब कर्जा अनुपातलाई १ प्रतिशत भन्दा मुनी राख्न सफल भएको छ । कम्पनीको खराब कर्जा ० दशमलव ८५ प्रतिशत रहेको छ ।
वितरण योग्य मुनाफा कम :
१० अर्ब माथि चुक्ता पुँजी भएको ग्लोबल बैंकको वितरणयोग्य मुनाफा निकै कम रहेको छ । प्रकाशित रिपोर्टलाई आधार मान्दा कम्पनीको प्रथम त्रैमाससम्म वितरण योग्य मुनाफा २८ करोड ११ लाख रहेको छ ।
सीसीडी अनुपातले समस्या आउँन सक्ने :
कम्पनीको प्रकाशित सीसीडी अनुपातमा बृद्धि देखिएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा ७७ दशमलव ६४ रहेको यो अनुपात अहिले ७८ दशमलव ३९ रहेको छ । यसको अर्थ अब बैंकलाई कर्जा प्रवाह गर्ने रकम कमकम हुँदै गएको प्रस्ट देखिन्छ । निक्षेप संकलनमा आक्रामक रणनीति अपनाउनु पर्ने देखिन्छ ।
जनता बैंक नेपाल लिमिटेडको अवस्था कस्तो छ ?
जनता बैंकले पनि आर्थिक वर्ष ७६/७७ को प्रथम त्रैमासको वित्तिय विवरण प्रकाशन गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद मुनाफालाई १४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले ३२ करोड १९ लाख रुपैया खुद मुनाफा गरेमा कम्पनीले अहिले ३६ करोड ६९ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
जनता बैंकको आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७५/७६ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :
प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी २५ प्रतिशतले बृद्धि हुनुले पनि कम्पनीको खुद मुनाफा बृद्धि गर्न सहयोग पुगेको हो । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९९ करोड ७५ लाख खुद व्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको प्रथम त्रैमासमा ७९ करोड ५० खुद व्याज आम्दानी गरेको थियो ।
त्यस्तै कम्पनीको भर्खरै सकिएको साधारण सभाले ६ प्रतिशत बोनस शेयर र ६ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी ८ अर्बको आधारमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३४ पैसा रहेको छ ।
कम्पनीको निक्षेप संकलन ३ प्रतिशतले वृद्धि भएर ७५ अर्ब ३ करोड पुगेको छ भने कर्जा प्रवाह ३ प्रतिशतले वृद्धि हुँदै ६८ अर्ब ५९ करोड पुगेको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा बैंक आक्रामक बन्न सकेको छैन ।
ग्लोबल जस्तै सीसीडी अनुपातले समस्या आउँन सक्ने :
कम्पनीको प्रकाशित सीसीडी अनुपातमा वृद्धि देखिएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा ७९ दशमलव ५२ रहेको यो अनुपात अहिले ७९ दशमलव ९४ रहेको छ । यसको अर्थ अब बैंकलाई कर्जा प्रवाह गर्ने रकम कम कम हुँदै गएको प्रस्ट देखिन्छ । निक्षेप संकलनमा आक्रामक रणनिति अपनाउनु पर्ने देखिन्छ । सिसिडी अनुपात ८० प्रतिशत भएमा बैंकले कर्जा प्रवाह गर्न सक्दैन ।
दुवै बैंकको समस्या के त ?
दुवै बैंकको अहिलेको एउटा मुख्य समस्या भनेको सीसीडी अनुपात रहेको छ । ग्लोबल आईएमई बैंकको सीसीडी अनुपात ७८ दशमलव ३६ रहेको छ भने जनता बैंकको सीसीडी अनुपात ७९ दशमलव ९४ रहेको छ । दुवै बैंक मर्जरमा गए पश्चात निक्षेप संकलनमा आक्रामक रुपमा प्रस्तुत हुनुपर्ने देखिन्छ । त्यस्तै निक्षेप र कर्जा संकलनको मामलामा दुवै बैंकहरु केही सुस्त रहेको देखिन्छ ।
मर्जर पश्चात कर्मचारी व्यवस्थापन एउटा प्रमुख चुनौतीका रुपमा हुने छ । यसरी मर्जर पश्चात नेपालकै ठुलो बैंकको रुपमा ग्लोबल आईएमई बैंक स्थापना हुने छ । मर्जर पश्चात ग्लोबल आईएमई बैंककै नामबाट दुवै बैंकले शेयर कारोवार गर्नेछन् । मर्जर पछिको संस्थाको अध्यक्ष ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल हुने छन् भने प्रमुख कार्यकारी अघिकृत रुपमा परशुराम कुँवर हुने छन् ।
मर्जर पश्चात् कम्पनीको पुँजी १९ अर्बको हाराहारीमा हुनेछ भने बैंकमा २ खर्ब भन्दा धेरै निक्षेप रहने र १ खर्ब ८७ अर्ब माथि बैंकको कर्जा प्रवाह हुने छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वोच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार