आज सीताराम विवाह महोत्सव हर्षोल्लासपूर्वक मनाइँदै
नेपालबहस संवाददाता
मंसिर १५, २०७६ आइतबार १५:२३:२०
१५ मंसिर जनकपुरधाम । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीताराम विवाह महोत्सव–२०७६ हर्षोल्लासपूर्वक मनाइँदैछ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् ।
त्रेतायुगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम रामका गुरु विश्वामित्रसँग जनकपुरधाम आउनु र माता सीतासँगको विवाहको सेरोफेरोमा केन्द्रित रहेर यहाँ विवाह महोत्सव मनाइने गरेको छ ।
सोही विवाह प्रसङ्गलाई विभिन्न पक्षद्वारा सजीव र मूर्तरूपमा प्रस्तुत गर्नु महोत्सवको विशेषता मानिएको छ । महोत्सवमा यसपटक अयोध्याबाट नै प्रतीकात्मक भगवान् रामको जन्ती आएकाले जनकपुरधाममा मानव सागर ओर्लेको छ ।
भगवान् रामको चरित्र लौकिक र अलौकिकरूपमा लोकमानसमा अङ्कित छ । अलौकिक रूपमा रामलाई निर्गुण ब्रह्न एवम् सगुण विष्णु मानिएको छ भने सीतालाई शक्तिस्वरूपा, बुद्धिरूपा, ब्रह्ममयी र योगमायाको सङ्ज्ञा दिइएको छ ।
सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुने गरेका छन् ।
एउटा आश्चर्यको कुरा के छ भने मिथिलाका ८० प्रतिशतभन्दा अधिक नाममा रामको ‘र’ अथवा सीताको ‘स’ पाइन्छ । ‘र’ एवम् ‘स’ मिथिलावासीको चेतन, अवचेतन र अचेतनसम्म पुगेको दृष्टिगोचर हुन्छ । मिथिलामा कुनै पनि धार्मिक, सांस्कृतिक अनुष्ठानमा सीतारामको चर्चा आवश्यक मानिन्छ । त्यसैले पनि मिथिलामा प्रत्येक दुलहालाई राम र प्रत्येक दुलहीलाई सीताका रूपमा विवाह गर्ने चलन छ ।
मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राममन्दिर र जानकीमन्दिरबाट रामसीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगी स्वयंवर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ ।
अयोध्याबाट जन्तीका रूपमा आएका प्रतीकात्मक दशरथका भूमिकामा रहेका कन्हैया दास वर्तमान समयमा पनि सीतारामको विवाहको आयोजनाले हिन्दू संस्कृतिलाई जीवन्तता प्रदान गरिरहेको बताउछन् । सीताले नै रामको चरित्रलाई दिगो बनाएका कारण सीतारामको आदर्श मानव सभ्यता संस्कृतिका लागि अनुकरणीय रहेको उनी प्रस्ट गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
बागेश्वरी मन्दिरमा तामाको छाना
चैत १४, २०८० बुधबार
रानाथारू समुदायमा होलीको उल्लास
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार