शनिबार , कार्तिक १५, २०७७

मंसिरमा विवाह बन्धनमा बाँधिनु भयाे ? हनिमुन यसरी मनाउनुस्

मंसिरमा विवाह बन्धनमा बाँधिनु भयाे ? हनिमुन यसरी मनाउनुस्

१ पुस काठमाडौं । आज पुस महिनाको १ गते, यो बर्षको मंसिर महिना पनि सकियो । यसबर्ष विवाह बन्धनमा बाँधिएका नयाँ दम्पती तथा नवदुलहा-दुलही कुनै टाढाको सुन्दर ठाउँमा जान्छन् । यस्तो ठाउँ, जहाँ उनीहरू आफन्त, इष्टमित्र तथा छरछिमेकको आँखाबाट ओझेल हुन्छन् । मानौं, त्यो उनीहरूको आफ्नो संसार हो । कामधन्दा, करियर, नातागोता, ऋण–धन सबै भुलेर त्यहाँ दुवैले उन्मुक्त क्षणहरू बिताउँछन् । यस्तो क्षण, जहाँ दुवैले एक–अर्काको सामीप्य र आलिङ्गनमा मीठा–मीठा कुराकानी गर्न पाउँछन् ।

अन्तरङ्ग पल साट्न पाउँछन् । नजिकबाट एक–आपसको ढुकढुकी अनुभूति गर्न पाउँछन् । यही समयमा उनीहरू एक–अर्काको भावना, चाहना, इच्छा एवं सपना आपसमा बाँड्छन् । नयाँ घरजमको योजना बुन्छन् । कसरी दाम्पत्य जीवन सुखमय बनाउने ? कसरी पारिवारिक सम्बन्ध सुमधुर राख्ने  ? कसरी घरलाई सुखी एवं समृद्ध बनाउने ? प्रेमिल क्षणमा उनीहरूले यस्तै खाका पनि कोर्छन् ।

यसैपटक विवाह गर्नुभएको छ भने पक्कै पनि तपाईंहरू ‘मधुमास’ अर्थात् ‘हनिमुन’ को मुडमा हुनुहुन्छ । किनभने तपाईं आफ्नो दाम्पत्य जीवनको सुरुवात एक स्मरणीय क्षणबाट सुरु गर्दै हुनुहुन्छ । यही क्षण कल्पेर तपाईंहरूले भोलिका दिन पारिवारिक जीवनमा आइलाग्ने कतिपय कटुता, मतभेद तथा अप्ठ्याराहरू भुल्नुहुनेछ । हनिमुन हरेक नव–जोडीका लागि एउटा उत्सव हो । दाम्पत्य जीवनलाई नजिकबाट बुझ्ने, अनुभूत गर्ने एवं आपसी सम्बन्धलाई कसिलो बनाउने अवसर हो ।

एक अनुसन्धानले पनि भनेको छ कि हनिमुन ‘एक–अर्कामा अनुबन्धन गर्ने, चिनजान गर्ने, मूल्य–मान्यता बुझाउने, आपसमा भावनात्मक रूपमा नजिकिने भएकाले नयाँ जीवन सुरुवात गर्न लागेका जोडीहरूका लागि सहजीकरण गर्छ । हनिमुनले पारिवारिक जीवनलाई सहज बनाउन भूमिका खेल्ने भएकाले अहिले नवजोडीलाई घर–परिवारले नै हनिमुनका लागि अनुकूलता मिलाइदिने गरेको छ ।

विवाहको थकान मेट्ने अवसर

विवाहका बेला अक्सर दुलहा–दुलहीको दैनिकी धपेडीमा बित्छ । विवाहको कुरा छिनोफानो भएपछि नै उनीहरू एक किसिमले बेचैन एवं चञ्चल हुन पुग्छन् । विवाहको तयारी, किनमेल, शृंगार सबै कुराले उनीहरूलाई बेफुर्सदिलो बनाउँछ ।

वैवाहिक समारोहमा दुलहा–दुलहीले अनेकन विधिविधानमा सामेल हुनुपर्छ । विवाहको परम्परा, रीतिरिवाज सम्पन्न गरेपछि उनीहरूको घरजम सुरु हुन्छ । त्यसपछि उनीहरूले घर–व्यवहारमा फस्नुपर्छ भने एक–अर्कासँग बिताउने समय पनि कम हुँदै जान्छ । बालबच्चा भएपछि त दम्पतीले खुलेर एक–अर्कासँग समय विताउने अवसरसमेत पाउँदैनन् ।

त्यसैले नवदम्पतीहरू विवाहलगत्तै एक–अर्कासँग नितान्त निजीपल साट्न चाहन्छन् । विवाहको धपेडीबाट विश्राम लिने उपयुक्त बाहना पनि हो यो हो भने भोलिका दिनमा कसरी दाम्पत्य जीवनलाई अघि बढाउने भन्ने पूर्वतयारी पनि हो । त्यसैले विवाह लगत्तैको हनिमुन एउटा सुखद् सुरुवात हो ।

विवाहको थकान मेट्ने अवसर भएकाले हनिमुन जानु भनेको रिफ्रेस हुनु पनि हो । विवाहपछि दुवै पहिलो पटक सँगै घुम्न निस्किएका हुन्छन् । यो पल अविस्मरणीय बन्न सक्छ, जुन जीवनभर सम्हालेर राख्न सकिन्छ ।

हनिमुन आवश्यकता कि रहर ?

हनिमुन वैवाहिक बन्धनमा बाँधिएका जोडीहरूका लागि महत्वपूर्ण पल हो । कामकाजी दम्पतीका लागि हनिमुन एउटा राम्रो अवसर हो । उनीहरूको दैनिक जीवन व्यस्त भएकाले एक–अर्कालाई समय दिन पाउँदैनन् । हनिमुन जाँदा थोरै समय भए पनि एक–अर्कालाई साथ दिन एवं बुझ्न पाइन्छ । मागी विवाह गर्नेहरूमा प्रायस् एक–अर्काको स्वभाव अलग हुन्छ । एक–अर्काको स्वभाव बुझे भावी जीवन राम्रोसँग बिताउन सकिन्छ ।

सामाजिक रीति–रिवाज, अस्तव्यस्त दिनचर्या तथा विवाहको भीडभाडका कारण नवविवाहित दम्पतीेले थकान महसुस गरिरहेका हुन्छन् । यस्तोमा हनिमुन लामो समयको थकान मेटाएर आराम गर्ने तथा रिफ्रेस हुने अवसर हो । हनिमुन लभ म्यारिज गर्नेहरूलाई भन्दा एरेन्ज म्यारिज गर्नेहरूलाई अझ बढी जरुरी हुन्छ । यतिबेला उनीहरूले एक–अर्काका बारेमा बुझ्नु आवश्यक हुन्छ । हनिमुन नवविवाहित दम्पतीहरूलाई एक–अर्काका बारेमा जान्ने–बुझ्ने अनि एक–अर्कासँग ‘एडजस्ट’ हुने अवसर हो ।

नयाँ दाम्पत्यको सुरुवात

हनिमुन भनेको नयाँ दाम्पत्यको सुरुवात हो । हनिमुनलाई जतिसक्दो रोमाञ्चक तथा स्मरणीय बनाउनुपर्छ । भोलिका दिनमा हनिमुनका क्षणहरू सम्झिएर दम्पतीले आनन्दको अनुभूित गर्न सक्छन् । हनिमुनलाई स्मरणीय बनाउन दम्पतीले सक्दो प्रयास गर्नुपर्छ । चाहे हनिमुन मनाउने गन्तव्यको छनोटमा होस् वा त्यहाँ बिताउने तौर–तरिकामा, केही नयाँपन हुनुपर्छ । जस्तो कि एकदमै नयाँ ठाउँ, नयाँ परिवेशमा जाने । त्यहाँका अनुभवहरू लिने तथा रैथाने परिकारहरू चाख्ने । घुमफिर गर्ने, मीठोमसिनो खाने, फोटो खिच्ने आदि ।

कहाँ जाने ?

विवाह तय भएपछि नवदम्पतीले हनिमुनका लागि योजना बुन्न थाल्छन् । नेपालमा काठमाडौं, चितवनको सौराहा, पोखरा, भेंडेटार, कन्याम, मुस्ताङजस्ता गन्तव्य हनिमुनका लागि पनि उपयुक्त मानिन्छन् । केही वर्षअघिसम्म हनिमुन मनाउने जोडी देशभित्र मात्र सीमित थिए भने अहिले देशबाहिर पनि जाने चलन छ ।

ठाउँको जानकारी लिने ?

हनिमुन जान लागेको ठाउँका बारेमा पूरै जानकारी लिने । त्यहाँको मौसम, रहनसहन, खर्च आदि सबै कुराका बारेमा जानकारी भए सोहीअनुसार पूर्वतयारी गर्न सकिन्छ । हनिमुन जानुअघि नै आउने, जाने तथा त्यहाँ बस्ने होटल बुकिङ गराउनुपर्छ ।

बजेट तयार गर्ने

हनिमुन मनाउन जानका लागी सबै तयारी पुरा भएपछि कति खर्च लाग्छ भनेर हिसाब समेत निकाल्नुपर्छ । आफूसँग भएको बजेटअनुरूप योजना बनाउनुपर्छ । बाटोमा पैसा अपुग हुन सक्छ । बजेटअनुसार खर्च गर्दा कुनै समस्या पर्दैन । क्रेडिट कार्डका अतिरिक्त नगदसमेत बोक्नुपर्छ ।

सबै समय आफ्नो मान्छेलाई दिनुस

हनिमुनमा मोबाइल फोनको प्रयोग एकदमै कम गर्नुपर्छ । आवश्यक नहुँदासम्म मोबाइल प्रयोग नगर्नु नै उपयुक्त मानिन्छ । फोनमा लामो कुराकानी गर्नुहुँदैन । हनिमुनको समयमा वरिपरि अन्य नवविवाहित जोडी पनि घुम्न आएका हुन्छन् । उनीहरूलाई हेर्नुहुँदैन । त्यसबाट वैवाहिक जीवनको सुरुवातमै जीवनसाथीमा नकारात्मक प्रभाव पर्न सक्छ । राम्रो देखिने चक्करमा धेरै अभिनय गर्नु वा लजाउनु राम्रो हुँदैन । आफ्नो व्यवहार जस्तो छ त्यस्तै रूपमा प्रस्तुत हुनुपर्छ जसले दुवैलाई सहज बनाउँछ ।

परफ्युमको प्रयोग

हनिमुनको समयमा एक–अर्काप्रतिको आकर्षण बढाउन परफ्युम प्रयोग गर्न सकिन्छ । यद्यपि यसको प्रयोगमा एक–अर्काको रुचिलाई ध्यान दिनुपर्छ । परफ्युमको गन्धले हनिमुन खराब पनि हुनसक्छ ।

घर वा अफिसको तनाव

घर वा अफिसको तनाव हनिमुनमा पर्न दिनुहुँदैन । तनावका कारण हनिमुनको लाभ उठाउन सकिँदैन । तनाव जति लिए पनि त्यसको हल निकाल्न सकिँदैन तसर्थ हनिमुनको आनन्दमा कमी आउन दिनुहुँदैन ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय