इन्भेष्टमेण्ट बैंक पनि बिगमर्जमा जाने
Advertisement

२८ पुष, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैकको आज राजधानीमा सम्पन्न ३३ औं वार्षिक साधारणसभाले बिगमर्जमा जाने नीति पारित गरेको छ । नेपाल राष्ट्र बैंकले समेत वाणिज्य बैंकहरुलाई बिगमर्जरमा जान प्रोत्साहित गरिरहेका बेला इन्भेष्टमेण्ट बैंकले यस्तो निर्णय गरेको हो ।

आज बसेको साधारणसभाले नेपाल एक्सप्रेस फाइनान्सलाई गाभ्ने निर्णय गरेको छ । यसअघि पनि बैंकले जेबिल्स फाइनान्स र एस डेभलपमेण्ट बैंकलाई गाभिसकेको छ ।

साधारणसभालाई संबोधन गर्दै बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले भने– “अब खुद्रे होइन, बिगमर्जरमा नगई उपाय छैन ।” बैंकको सञ्चालन खर्च धेरै नै बढ्न थालेकोले पनि बिग मर्जरमा जानुपर्ने बाध्यता आइपरेको उनले स्पष्ट गरे ।

Advertisement

पछिल्लो अवस्थामा इन्भेष्टमेण्ट बैंकको ऋणमा समस्या देखिएको छ । खासगरी तनहुँ हाइड्रोपावर, मेलम्ची सीएमसी र ऋद्धिसिद्धि टायलको ऋणमा समस्या देखिएकाले बैंकलाई ठूलो नोक्सानी भएको छ । यसवापत बैंकले एक अर्ब रुपैयाँ भन्दा बढीको नोक्सानी व्यवस्थापन गर्नु परेको छ ।

अब धेरै वाणिज्य बैंक भन्दा गुणस्तरीय सेवा प्रदान गर्न हामी कस्सिनु पर्छ भन्दै उनले बिग मर्जरमा जानका लागि आफूले अध्यक्ष पदसमेत त्याग्ने बताए । हामीलाई राष्ट्र बैंकबाट समेत आग्रह गरिएकाले अब छिट्टै कुनै ‘क’ वर्गकै बैंकसँग मर्जर गर्ने तयारी गरेका छौं – अध्यक्ष पाण्डेले भने ।

बैंकको साधारणसभाले ८.५ प्रतिशत लाभांश र १०.५ प्रतिशत बोनस शेयर पारित गरेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्