ओरालो लागेको सिटिजन्सको ताल भो....
Advertisement

६ माघ, काठमाडाैं । वरिष्ठ अर्थशास्त्री डा. शंकर शर्मादेखि कुशल बैंकर एवं सीए राजनसिंह भण्डारी लगायत देशका चर्चित व्यवसायीहरु मिलेर खोलेको सिटिजन्स बैंक इन्टरनेशनल पछिल्लो समय लगातार ओरालो लाग्ने क्रममा लागेको छ ।

बैंकका अधिकांश वित्तीय परिसुचकहरु क्रमश खस्कँदो क्रममा रहेको देखिन्छन् । समकालिन अन्य बैंकहरुले आर्कषक व्यापार गर्दै शेयरधनीहरुलाई आर्कषक प्रतिफल दिईरहदाँ यो बैंक भने कछुवा गतिमा हिडिरहेको छ ।

बैंकमा संस्थागत सुशासनको अभाव, कर्जा लगानी र निक्षेप संकलनमा बैंक उच्च व्यवस्थापनको सुस्त गति र व्यवस्थापकीय खर्चमा अत्याधिक हुदाँ बैंकले लक्ष्य अनुसारको प्रगति गर्न सकिरहेको छैन् । बैंकमा हाल नयाँ संचालक समिति गठन भएको छ र त्यसको अध्यक्षमा बैंकका संस्थापक सीईओ राजनसिंह भण्डारी चुनिएका छन् । बैंकको नयाँ संचालक समितिमा प्रतिष्ठित व्यवसायी प्रवलजंग पाण्डेदेखि चर्चित बैंकर सुदेश खालिङ, प्रकाशचन्द्र मैनाली,बिजयध्वज कार्की, साजन शर्मा, सीता कार्की केसी रहेका छन् ।

Advertisement

त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ गणेशराज पोखरेलदेखि डेपुटी सीईओमा बोधराज देवकोटा रहेका छन् । यस बैंकमा चार चार जना त सहायक प्रमुख कार्यकारी अधिकृत नै छन् । जसमा रामधन श्रेष्ठ, सुमितबाबु खत्री, पारशकुमार काफ्ले र उमंग शर्मा छन् । यस्तै संजीव कुमार श्रेष्ठ र प्रमेशराज कायस्थ पनि बैंकको उच्च तहमा कार्यरत रहेका छन् ।

उच्च पदमा रहेका सबै कर्मचारीहरुले बैंकबाट आर्कषक तलब भत्ता तथा सेवा सुविधाहरु उपयोग गरिरहेका छन् । तर सोही अनुपातमा बैंकले प्रगति भने गर्न सकेको छैन् । त्यसैले दोस्रो बजारका लगानीकर्ताहरुले चर्चित गायक रामकृष्ण ढकालको प्रख्यात गीत सम्झदै भन्न थालेका छन् ओरालो लागेको सिटिजन्सको ताल भो….. ।

सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष ०७६/७७ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलाे वाणिज्य बैंक भएपनि कम्पनीले राम्रो वित्तीय विवरण निकाल्न सकेन । प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा गिरावट आएसँगै कम्पनीको खुद मुनाफामा गिरावट आएको छ ।

कम्पनीको आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७५/७६ को दोश्रो त्रैमासलाई दाँजेर हेर्दा :

खुद ब्याज आम्दानीमा गिरावट:
बैंकको प्रमुख आम्दानीको श्रोतकाे रूपमा रहेको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ अर्ब ४३ करोड खुद व्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १ अर्ब ४९ करोड खुद व्याज आम्दानी गरेको थियो । यसरी खुद व्याज आम्दानी ४ प्रतिशतले घटेको छ । प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा गिरावट आउँदा कम्पनीले दोश्रो त्रैमासको वित्तीय विवरण आकर्षक निकाल्न सकेन ।

खुद मुनाफामा गिरावट:
संचालन मुनाफा घटेसँगै कम्पनीको खुद मुनाफा पनि घटेको छ । गत आर्थिक वर्षको दाेस्राे त्रैमासमा ७७ करोड ३ लाख खुद मुनाफा गरेको कम्पनीले अहिले भने जम्मा ६८ करोड ७७ लाख मात्र खुद मुनाफा गरेको छ । यसरी खुद मुनाफामा ११ प्रतिशतको गिरावट देखिएको हाे ।

प्रतिशेयर आम्दानीमा गिरावट:
खुद मुनाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि गिरावट देखिएको छ । कम्पनीको अहिलेको प्रतिशेयर आम्दानी १५ रुपैंया ९५ पैसा रहेको छ । गत वर्ष दोश्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैंया ४० पैसा थियो । प्रतिशेयर आम्दानीमा पनि १३ प्रतिशतको गिरावट देखिएको छ ।

जगेडा कोष स्थिर हुँदै संचित मुनाफा घट्दै:
कम्पनीको जगेडा कोष सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासमा २ अर्ब ८२ करोड रहेको जगेडा कोष अहिले २ अर्ब ८८ करोड पुगेको छ । संचित मुनाफा भने ४७ प्रतिशतले घट्दै ६६ करोड ३४ लाख पुगेको छ । शेयर प्रिमियम शिर्षकमा भने कुनै रकम छैन ।

निक्षेप र कर्जा प्रवाहमा सुस्त:
बैंकले चालु आर्थिक वर्षको दाेस्राे त्रैमास र अघिल्लो आर्थिक वर्षको दाेस्राे त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन ७ प्रतिशतले मात्र वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह १० प्रतिशतले वृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ७५ अर्ब ५९ करोड निक्षेप संकलन गरी ६९ अर्ब ९ करोड कर्जा प्रवाह गरेको छ ।

मूल्य आम्दानी अनुपात १३ गुणा:
कम्पनीको माघ ५ गतेको बजार मूल्य २१३ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १३ गुणा आउँछ । कम्पनीको बजार मूल्य र प्रतिशेयर आम्दानीलाई आधार मान्दा कम्पनी “अण्डरभ्यालुड” जोनमा रहेको देखिन्छ ।

खराब कर्जा घटाउन सफल:
गत वर्ष दोश्रो त्रैमासमा १ दशमलव ६२ प्रतिशत रहेको खराब कर्जा अहिले भने १ प्रतिशत भन्दा केही कममा आएको छ । प्रकाशित रिपोर्ट अनुसार कम्पनीको खराब कर्जा ० दशमलव ९९ प्रतिशत रहेको छ ।

आधार व्याजदर घट्यो :
कम्पनीले आधार व्याजदर घटाउन सफल भएको छ । कम्पनीको अहिले आधार व्याजदर १० दशमलव ३५ प्रतिशत रहेको छ ।

वितरणयोग्य मुनाफा:
कम्पनीको दोश्रो त्रैमाससम्म वितरणयोग्य मुनाफा ६२ करोड १० लाख मात्र रहेको छ । कम्पनीले अहिलेकै रफ्तारलाई चौथो त्रैमाससम्म कायम गरेमा कम्पनीले १४ प्रतिशतको हारारीमा लाभांश दिन सक्छ ।

किताबी मूल्य घट्यो :
कम्पनीको प्रकाशित प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ १३ पैसा रहेको छ । गत वर्ष कम्पनीको किताबी मूल्य १४९ दशमलव २६ रुपैया थियो । यसरी किताबी मूल्य ५ प्रतिशतले घटेको छ ।

घट्दो क्रममा लाभांश :
कम्पनीकाे लाभांश दर घट्दै छ । अहिलेकै हिसाबमा बैंक चौथो त्रैमाससम्म जाने हो भने अर्को वर्ष पनि लगानीकर्ताले खासै आकर्षक लाभांश नपाउने देखिन्छ ।

निस्कर्ष:
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा निराशाजनक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । अघिल्लाे त्रैमासमा जस्तै खुद मुनाफामा वृद्धि गर्न नसक्दा कम्पनीको समस्त वित्तीय प्रतिवेदन नै खस्किएको छ । बैंकको मुनाफासँगै प्रति शेयर आम्दानीमा पनि १३ प्रतिशतको गिरावट आएको छ । वितरणयोग्य मुनाफा आकर्षक नहुँदा कम्पनीले आर्थिक वर्ष ७६/७७ मा दिन सक्ने लाभांश पनि त्यति आकर्षक नहुने देखिन्छ । प्रमुख आम्दानीको श्रोतको रुपमा रहेको खुद व्याज आम्दानीलाई वृद्धि गर्दै खुद मुनाफा वृद्धि गर्दै जानु पर्ने चुनौती बैंक व्यवस्थापनमा थपिएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्