अन्नपूर्ण पदयात्रामा चुनौतीपूर्ण बन्दै हिङ्कु हिमपहिरो
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार १९:२१:४३
वासुदेव पौडेल / रासस
७ माघ पोखरा । अन्नपूर्ण क्षेत्रको पदयात्रा विश्वकै १० उत्कृष्टमध्येमा पर्छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमाल अन्नपूर्णको आधार शिविरसम्म पुग्ने सपना बोकेका विश्वका पदयात्री वर्षेनी ठूलो सङ्ख्यामा आउने गरेछन् । पदयात्रा पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित भइसकेको यस क्षेत्रको पदयात्रामा पछिल्ला केही वर्षयता हिङ्कु क्षेत्रमा गइरहेको पहिरो चुनौतीपूर्ण बन्दै गएको छ ।
पदयात्रा मार्गको हिमालयबाट माथि देउरालीको बीच करीब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कु आसपासमा यही माघ ३ गते बिहान १० बजे आएको हिमपहिरोमा बेपत्ता भएका चार कोरियाली नागरिकसहित तीन जना नेपाली अहिलेसम्म पनि सम्पर्कविहीन छन् । उक्त पहिरोबाट केही नेपाली तथा केही विदेशी पर्यटक भने जोगिन सफल भएका छन् ।
वर्षेनी हिमपहिरो गइरहने हिङ्कु आसपासको क्षेत्रमा यसवर्ष पनि ठूलो पहिरो गएको अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए । ‘‘हिमपहिरोका कारण हराइरहेका व्यक्तिको खोजीमा उद्धार टोली पुगे पनि मौसमको प्रतिकुलताका कारण समस्या भइरहेको छ’’, उनले भने । अत्याधिक सङ्ख्यामा स्वदेशी एवं विदेशी पदयात्री पुग्ने यस पदयात्रा मार्गमा वर्षेनी जाने गरेको हिमपहिरोका कारण यस क्षेत्रको पदयात्रा पर्यटनलाई प्रभावित बनाएको उनले बताए ।
“हिङ्कु आसपासमा वर्षेनी पहिरो जान थालेपछि यसको जोखिमबाट बच्न र पर्यटकलाई सुरक्षित आधार शिविरसम्म पु¥याउन तत्कालीन विकल्प खोज्नु पर्ने देखिन्छ,” उनले भने, “यस क्षेत्रमा अत्यन्त साँघुरो ठाउँ भएका कारण वर्षेनी जाने गरेको पहिरो छलेर तत्काल आसपासबाट अर्को वैकल्पिक पदमार्ग निकाल्न पनि समस्या छ ।”
साँघुरो भूगोल र भौगालिक अवस्थालाई दृष्टिगत गरी देउरालीबाट हिङ्कुसम्म रोपवे राख्न सकिने विकल्पबारे छलफल थाल्नुपर्ने भएको उनले बताए । वर्षेनी जाने पहिरोको समस्या र अन्य विकल्प नभएको वास्तविकतामा यस ठाउँमा करीब ७०० मिटरको दुरीमा रोपवे राख्न सके यहाँको दीघकालीन समाधान हुनसक्ने उनको तर्क छ ।
पदयात्रा पर्यटनको आकर्षक गन्तव्य यस ठाउँको पदयात्रालाई बचाइराख्न सबैले सोच्नुपर्ने बेला आएको ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताए। अन्नपूर्ण क्षेत्र र आसपासमा हिमपहिरो खस्ने समस्या बढ्दै जानु पदयात्रा पर्यटनका लागि चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।
अन्नपूर्ण क्षेत्रमा हेलिकप्टरको बढ्दो प्रयोगसँगै हुने गरेको कम्पन पनि हिमपहिरोको कारण हुनसक्ने बताउँदै उनले यी क्षेत्रमा हेलिकप्टरको प्रयोग रोक्न टानका तर्फमा माग गरिँदै आइए पनि त्यसको सुनुवाइ हुन नसकेको गुनासो गरे ।
“अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टरको प्रयोगले पर्यावरणीय सन्तुलनलाई प्रभाव त पारेको छ नै पछिल्ला समयमा यसको प्रभावका कारण हिउँपहिरो खस्ने क्रम पनि बढेको छ,” उनले भभने, “हेलिकोप्टरको प्रयोगलगायत प्रकृति विरोधी गतिविधि बढ्दै जाने र यसको नियन्त्रणमा बेवास्ता गरिएमा निकट भविष्यमा अन्य ठूला विपत्ति पनि नआउला भन्न सकिंदैन ।”
हिङ्कु क्षेत्रमा गएको पहिरोसँगै हराइरहेका व्यक्तिको खोजीका लागि टानले सरोकारवाला सबैसँग सहकार्य गर्दै खोजी कार्यमा सक्रियता देखाएको उनले बताए । हिमपहिरो गएको क्षेत्रमा घटना लगत्तै उद्धार टोली खटिएकामा कोरियाको प्राविधिक टोली पनि आइतबारदेखि खोजीमा लागेको उनले जानकारी दिए।
खोजीका लागि नेपाली सेनाको अर्को टोली आज त्यसतर्फ जान लागेको जानकारी दिँदै भुजेलले मौसमको प्रतिकूलताका कारण खोजीकार्यमा अझै पनि कठिनाइ भइरहेको बताए । घटनास्थलमा बाक्लो हिउँ जमेको तथा हिउँ पर्ने क्रम पनि कायमै रहेकाले बेपत्ता नागरिकको अवस्था पत्ता लाग्न नसकेको उद्धारमा संलग्नले बताएका छन् ।
भौगोलिक विकटता सञ्चार, सडकलगायतका पूर्वाधार नभएकाले पनि खोेजी कार्यमा अप्ठ्यारो भएको छ । पछिल्ला दिनमा मौसमको न्युनचापीय प्रणालीका कारण यस क्षेत्रको मौसममा फेरबदल भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चिसो याममा पश्चिमको न्युनचापीय प्रणाली आउनु स्वभाविक भए पनि यसवर्ष छोटो–छोटो समयमा यो प्रणाली देखिएको मौसमविद् मञ्जु बासीले जानकारी दिए । हिमाली क्षेत्रमा यही प्रणालीकै कारण हिमपात भइरहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार