चीनबाट आउनेलाई विभिन्न चार स्थानमा राख्ने तयारी
Advertisement

२३ माघ, काठमाडौं । कोरोना भाइरसबाट आक्रान्त चीनको बुहानबाट नेपाल ल्याइन लागेका नेपालीलाई आइसोलेशनमा राख्न सरकारले चारवटा स्थान निर्धारण गरेको छ ।

बुहानबाट ल्याइने नेपालीहरुलाई १४ दिन अलग राख्नका लागि इचंगुनारायण, शिवपुरी, सूर्य बिनायक र खरिपाटीमा राख्ने निर्णय सरकारले गरेको छ । हाल १८० जना नेपाली नागरिक बुहानबाट नेपाल आउन प्रतिक्षारत छन् ।

लामो छलफल र गृहकार्य गरेपछि सरकारले स्थान टुंगो लगाएको हो । प्रधानमन्त्री खड्गप्रसाद ओलीले आज प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिवहरुलाई बालुवाटार बोलाएर यसका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

Advertisement

यसका साथै सरकारले कोरोना भाइरसबाट पीडित चीन सरकारलाई एक लाख थान प्रोटेक्टेड मास्क उपलव्ध गराउने निर्णय समेत गरेको छ । यसैबीच चीनमा रहेका नेपालीका आफन्त तथा अभिभावकले आज दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर  तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका छन् ।

आफन्तहरूको तत्काल उद्धार हुनुपर्ने माग गर्दै मन्त्रालयमा पुगेका ३० जना अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको बताएका छन् । घरमा झ्याल ढोका बन्द गरेर बस्नुपरेको र खानेकुरा समेत नपाएको अभिभावकहरुले बताएका छन् ।

चीनले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण नभएको, खाने बस्ने व्यवस्था राम्रो भएको बताएता पनि घरभित्र थुनिएर बस्नुपरेको, लजिस्टिक समस्याहरु पर्न थालेको र त्यहाँ अतिनै समस्या पर्न थालेको भिडियोहरु सामाजिक संजालमा प्रवाह भएका छन् । सबैलाई चीन सरकारले खानपिनको सुविधा नदिएको र खर्च सकिन लागेको भन्दै नेपालमा रहेका अभिभावकहरुले पनि चिन्ता प्रकट गर्दै आएका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्