सिभिल बैंक
Advertisement

२ फागुन, काठमाडौं । सिभिल बैंक लिमिटेड संचालक समितिको अध्यक्षमा इच्छाराज तामाङ रहेका छन् । अध्यक्ष  तामाङ इन्जिनियर हुन् । त्यस्तै अन्य संचालक सदस्यहरुमा अम्बिर बोगटी, प्रकाश तयाल, प्रतापजंग पाण्डे, भिमानन्द  ढुङ्गाना, युगेशबहादुर मल्ल र शम्भुप्रसाद पन्त रहेका छन् ।

सिभिल बैंकमा शुन्य दशमलव ५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व हुने १६ शेयरधनी रहेका छन् । बैंकमा कर्मचारी संचय कोषको सर्वाधिक ४७ लाख ९५ हजार कित्ता शेयर रहेको छ । कर्मचारी संचय कोषको बैंकमा ५ दशमलव ९९ प्रतिशत शेयर रहेको कुरा कम्पनीको वार्षिक साधारण सभाको प्रतिवेदनमा देखिन्छ । त्यस्तै प्रदिपजंग पाण्डेको नाममा ३५ लाख ४ हजार कित्ता शेयर रहेको छ भने इच्छाराज तामाङको नाममा ३० लाख ८३ हजार कित्ता शेयर रहेको छ ।

Advertisement

यसैगरि बैंकको उच्च व्यवस्थापनमा गोविन्द गुरुङ्ग सीईओको रुपमा कार्यरत छन् । त्यस्तै बैंकर सुनिलकुमार पोखरेल नायव सीईओको रुपमा कार्यरत छन् ।


यसपटक वाणिज्य बैंकहरुमध्ये सबैभन्दा थोरै लाभांश प्रस्ताव गर्नेमा सिभिल बैंक परेको छ । बैंकले यही पौष ६ गते आफ्नो नवौ वार्षिक साधारण सभा सम्पन्न गर्दै ६ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

लाभांशको इतिहास:
लाभांशको ईतिहास हेर्ने हो भने कम्पनीले लगानीकर्तालाई आकर्षक लाभांश दिएको छैन । आर्थिक वर्ष ७५/७६ मा ६ दशमलव ७५ प्रतिशत नगद लाभांश प्रदान गरेको बैंकले आर्थिक वर्ष ७४/७५ को मुनाफाबाट ४ दशमलव ०५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो । बेलाबेलामा सिभिल बैंकमा लगानी गर्नेहरूले नै असन्तुष्टि व्यक्त गरिरहेकाे सुन्न पाइन्छ । लगानीकर्ताले बैंककाे शेयरमा भन्दा बरु अन्य बैंक तथा वित्तिय संस्थामा पैसा राख्न ठिक हुने रहेछ भन्ने जस्ता अभिव्यक्ति दिएको उदाहरण पनि छन् । लगानीकर्ताहरु सिभिल बैंकले प्रदान गरेको लाभांशबाट खुशी नभएको प्रस्ट देखिन्छ। साधारण सभामा शेयरधनीहरुले बैंकको संचालन खर्च अस्वाभाविक रुपमा वृद्धि हुँदै जानु ठिक नभएकाे बताइसकेका छन् । त्यस्तै मुनाफामा तुलनात्मक रूपमा अन्य बैंककाे तुलनामा हरेक वर्ष घट्दै जानुको कारण के हो भनेर गएकाे साधारण सभामा नै चर्को रुपमा प्रश्न उठाएका थिए।  


कस्तो आयो दोश्रो त्रैमासकाे वित्तीय प्रतिवेदन ?

खुद मुनाफामा गिरावट:
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा बैंकले ३१ करोड ६२ लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ३७ करोड ०९ लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफा १५ प्रतिशतले घटेको छ ।

प्रमुख आम्दानीको श्रोतमा सामान्य वृद्धि :
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १ अर्ब ९ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १९ करोड खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा ९ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा १५ प्रतिशतले घट्दै हुँदै ४४ करोड ६२ लाख पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले ५२ करोड ३३ लाख संचालन मुनाफा गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष कम्पनीले दोश्रो त्रैमासमा २८ करोड ३ लाख कर्जा जोखिम शिर्षकमा व्यवस्थापन गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १८ करोड ५२ लाख सो शिर्षकमा व्यवस्थापन गरेको छ ।

प्रतिशेयर आम्दानी नाजुक अवस्थामा :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैया ९० पैसा हुन् आउँछ। खुद मुनाफामा गिरावट आउँदा कम्पनीको प्रति शेयर आम्दानीमा नकारात्मक असर पुगेको देखिन्छ।

नोट : फागुन १ गतेको बजार मुल्यको आधारमा

किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य (प्रति शेयर नेट्वर्थ) १२४ रुपैयाँ २२ पैसा आउँछ ।

निक्षेप कर्जामा कस्तो ?
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ४७ अर्ब ७४ करोड निक्षेप संकलन गरी ४७ अर्ब ७६ करोड कर्जा प्रवाह गरेको छ । असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १४ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह १२ प्रतिशतले वृद्धि भएको छ ।

नोट : निक्षेप र कर्जाको तथ्याङ्क लिँदा साधारण ग्राहकको तथ्यांकमात्र लगिएको ।

जगेडा कोष स्थिर, संचित मुनाफा घट्यो :
जगेडा कोष १ अर्ब ६० करोड पुगेको छ भने संचित मुनाफा ३९ प्रतिशतले कम हुँदै ३२ करोड ९७ लाख पुगेको छ ।

निस्क्रिय कर्जा २ प्रतिशत माथि :
कम्पनीको खराब कर्जा २ दशमलव ६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सम्बन्धित त्रैमासमा खराब कर्जा ३ दशमलव ५४ प्रतिशत थियो ।

आधार व्याजदर घट्यो :
बैंकको आधार व्याजदर केही घट्दै १० दशमलव ९८ प्रतिशत पुगेको छ ।

स्प्रेडदर ५ प्रतिशत नाजिक :
व्याजदर अन्तर ५ प्रतिशत नजिक छ । बैंकको प्रकाशित स्प्रेडदर ४ दशमलव ९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ३ दशमलव २३ प्रतिशत थियो ।

कम्पनी र दोश्रो बजार :
मूल्य आम्दानी अनुपात १९ गुणा :
कम्पनीको फाल्गुन १ गतेको बजार मूल्य १५१ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १९ दशमलव ११ गुणा आउँछ । अन्य वाणिज्य बैंकको तुलनामा सिभिल बैंकको आम्दानीको तुलनामा बजार मूल्य धेरै रहेको प्रस्ट देखिन्छ । जसलाई प्राव्रिधिक भाषामा ओभरभ्यालूड भनिन्छ ।

वास्तविक मूल्य :
बेन्जामिन ग्रामको सुत्रलाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य १४९ रुपैया प्रति कित्ता हुन् आउँछ । कम्पनीको बजार मूल्य ग्राम नम्बर कै वरिपरी कारोवार भएको देखिन्छ ।

निष्कर्ष :
दिन प्रतिदिन कम्पनीको वित्तीय अवस्था कमजोर बन्दै गएको तथ्याकले देखाएको छ । प्रमुख आम्दानीको श्रोतमा वृद्धि भएपनि संचालन खर्चमा ठुलो वृद्धि हुँदा बैंकको खुद मुनाफामा असर परेको देखिन्छ । यसरी खुद मुनाफामा असर पर्दा बैंकको प्रति शेयर आम्दानीमा ठुलो धक्का पुगेको छ । वार्षिक प्रति शेयर आम्दानी १० रुपैयाँ कम हुँदा लगानीकर्ताले फेरी पनि प्रतिफल राम्रो पाउने सम्भावना कम देखिन्छ । वाणिज्य बैंक मध्य मुनाफामा र  प्रति शेयर आम्दानी थोरै हुने बैंकमा सिभिल बैंकको रहेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्