सेक्युरेटी प्रेस प्रकरण : प्रधानमन्त्री र बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियारमा उजुरी
Advertisement

११ फागुन, काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग ७० करोड ‘कमिशन’ मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा, तत्कालिन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सीइओ विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी दिएका हुन् ।

 

Advertisement

उजुरीमा भनिएको छ, ‘प्रधानमन्त्री जस्तो जिम्मेवार र उत्तरदायी पदमा रहेका व्यक्ति यस्तो भ्रष्टाचार भएको प्रमाण आफ्नो जानकारीमा आएपछि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्ने दायित्व र कर्तव्य रहेकोमा सो प्रमाण लुकाएबाट निज प्रधानमन्त्री पनि सो भ्रष्टाचारको उद्योग कार्यमा संलग्न र मतियार रहेको स्वतः पुष्टि हुन्छ।’

सेक्युरेटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड घुस मागेको अडियो बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिए पनि त्यतिकै उन्मुक्ति दिन नहुने आवाज सत्तारुढ नेकपादेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सामाजिक सञ्जालमा समेत नागरिकले चर्को रुपमा उठाएका छन् ।

सामान्य कर्मचारीले घुस लिएको वा लिने उद्योग गरेमा तत्काल रंगेहात उक्राउ गरेर कारबाही चलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँस्कोटालाई अहिलेसम्म पक्राउ गरेको छैन । प्रधानमन्त्री केपी ओलीका प्रिय बाँस्कोटामाथि छानबिन हुनुपर्ने दबाब सरकारमाथि पनि परेको छ । सेक्युरेटी प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रसँग १६ महिनाअघि बाँस्कोटाले गरेको अडियो बुधबार राति बाहिरिएको थियो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here