को भन्दा कस्तो गभर्नर ?
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार २०:३४:२८
सम्पादकीय
१२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर को बन्ला ? धेरैको चासो र रुचिको प्रश्न हो । आगामी चैत ६ गते वर्तमान गभर्नर डा. चिरञ्जीवी नेपाल पाँच वर्षे कार्यकाल पूरा गरी घर फर्कंदै छन् । पदावधि सकिने एक महिना अघिबाटै घरबिदामा बस्ने परिपाटी डा. नेपालले धानेनन् । उनको तर्क छ – नयाँ गभर्नर सिफारिश नै नभएकाले कार्यालय गइरहेको छु ।
हुन पनि नयाँ गभर्नर नियुक्त गर्न अहिलेसम्म सिफारिश समिति नै बनेको छैन । अर्थमन्त्रीको संयोजकत्वमा बन्ने सिफारिश समिति आफैं अन्यौलग्रस्त छ । किनभने अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधि थपिने हो होइन, टुंगो लाग्न सकेको छैन । यही फागुन २० गते उनी राष्ट्रियसभा सदस्यबाट मुक्त हुँदैछन् ।
नेपालको संविधान अनुसार, मन्त्री बन्नका लागि सांसद बन्नु अनिवार्य छ । त्यसैले पनि डा. खतिवडाको पद नै धरापमा परिसकेको देखिन्छ । सिफारिश समितिको संयोजक नै धरापमा परेकाले नयाँ गभर्नर बारेको अन्योल कायमै छ ।
समिति अहिले नबने पनि चैत ७ गतेसम्म राष्ट्र बैंकले नयाँ गभर्नर अवश्य पनि पाउने नै छ । समिति गठनमा भएको ढिलाईले गर्दा गभर्नर पदका आकांक्षीहरु अहिले सुस्ताएका छन् । आकांक्षीहरुसँगको भेटमा स्वयं अर्थमन्त्रीले नै यस्तो गुनासो गर्ने गरेका छन् ।
नेपाली मिडियाले गभर्नर पदका आकांक्षी र चलखेलबारे धेरैवटा खबर प्रकाशित गरेका छन् । तर कस्तो व्यक्तिले यो केन्द्रीय बैंकको नेतृत्व गर्नुपर्ला भनेर चाहिं कुनै दवाव सिर्जना गरेको देखिंदैन । गभर्नर पद राजनीतिक हो, तर यसका लागि योग्य, दक्ष र उच्च नैतिकवान व्यक्ति छानिनु पर्छ । यो कोणबाट बहस भएको छैन । मुलुकको वित्तीय स्थिति बुझेको र समग्र अर्थतन्त्रलाई गति दिन सक्ने व्यक्ति नै यो पदका असली हकदार हुन् ।
नेपाली राजनीतिको सबैभन्दा गलत पक्ष भनेको राम्रा भन्दा हाम्रा मान्छे छान्ने प्रचलन रहेको छ । राजनीतिक दल वा व्यक्तिप्रति वफादारलाई मात्र कुनैपनि पदमा नियुक्त गर्ने परिपाटीले लोकतन्त्रकै धज्जी उडाएको छ । समग्र वित्तीय स्थायित्व कायम गर्न सक्ने, मौद्रिक नीतिको व्यवहारिक कार्यान्यनको सीप लगायतका सन्दर्भमा क्षमता भएकालाई नै गभर्नर बनाइयो भने मुलुकको अर्थतन्त्रले नयाँ दिशा र गति प्राप्त गर्ने छ ।
यसअघिका अधिकांश गभर्नर अमुक शक्ति, दल र नेताप्रति मात्र जिम्मेवार देखिए, न की मुलुक र जनताप्रति । जसले गर्दा समग्र वित्तीय सन्तुलनलाई उनीहरुबाट न्याय प्राप्त हुन सकेन । सही व्यक्ति सही ठाउँ भन्ने उखानलाई चरितार्थ गर्न सकियो भने मात्र त्यो सार्थक हुने हो ।
गभर्नर बन्नका लागि शक्ति केन्द्र धाउनेको लर्काे लाग्ला । त्यसमा अर्थमन्त्री र प्रधानमन्त्री सचेत हुन सक्नुपर्छ । साँच्चै समृद्ध मुलुक बनाउने हो भने अहिले नै जग बसाउने बेला हो । अहिले चर्चामा आएका वा ल्याइएका भन्दा पृथक मानिस पनि हुन सक्लान्, राष्ट्र बैंकको गभर्नर बन्ने क्षमतावान ।
त्यसको खोजी गर्नतिर सरोकारवालाले चासो दिए भने मात्र परिवर्तनको अनुभूति हुनेछ । समग्र वित्तीय क्षेत्रको नियामक निकाय पनि हो राष्ट्र बैंक । त्यसैले पदको ओज र गरिमालाई कायम राख्न सक्ने व्यक्तिको खोजी गरी जिम्मेवारी दिने प्रेरणा सरोकारवालाको हुँदा राम्रो हुनेछ । एउटा व्यक्तिले सही जिम्मेवारी पाउँदा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने कुराको उदाहरण बनेका छन् कुलमान घिसिङ । यसैबाट पाठ पढेर नयाँ गभर्नरको खोजी गर्ने आँट गर्ला त ओली सरकारले ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार