यस्तो छ, ओलीको पर्ख र हेरको रणनीति
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार १९:१७:१०
१५ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको पछिल्लो विवादले मुलुकी राजनीति नै तरंगित बनाइदिएको छ । अब राजनीतिले कुन दिशा निर्धारण गर्ला भनी अनुमानको खेती गर्नेहरुका लागि तर्क वितर्क गर्न मैदान खुला भएको छ ।
खासगरी हिजो नेकपा सचिवालयले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयका लागि गरेको सर्वसम्मत निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष खड्गप्रसाद ओली राजी नभएपछि परिस्थिति तरल बन्न पुगेको हो ।
पार्टीको सर्वाच्च निकायले गरेको निर्णयलाई ओलीले कार्यान्वयन गर्न नसकिने चेतावनी दिएपछि अब के होला भन्ने अनुमान धेरैलाई गर्न मुश्किल भएको छ ।
यही अवस्था पार्टीका शीर्ष नेताहरुलाईसमेत परेको छ । ओलीले साँच्चै नै निर्णय कार्यान्वयन गरेनन् भने के गर्ने भन्ने छटपटी नेताहरुमा व्याप्त छ ।
विकसित पछिल्लो परिस्थितिलाई कसरी चिर्ने भन्नेमा नेताहरु नै अन्योलग्रस्त भएका छन् । आज बालुवाटारले कुनै चासो राखेन, अब के गर्ने भन्दै एकाबिहानै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता माधवकुमार नेपाललाई फोन गरेका छन् ।
सधैं बिहान बालुवाटारबाट प्रचण्डलाई फोन आउने गथ्र्याे । तर आज कुनै रेस्पोन्स नभएकाले प्रचण्ड छटपटिएका छन् । ओलीसँग निकट हुँदा सधैं पार्टी भित्र दोस्रो दर्जामा खुम्चिएका प्रचण्डले केही समय यता समीकरण फेरेका छन् । अहिले उनी माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसँग नजिकिएका हुन् ।
समीकरण बदलेयता प्रचण्ड पार्टी भित्र शक्तिशाली बनेका छन् । ओलीलाई कमजोर बनाउन पाए आफ्नो स्वार्थ पूरा हुने बुझाई माधव, झलनाथको रहेकाले प्रचण्डलाई उपयोग गर्न उनीहरु तयार देखिएका हुन् ।
आज बिहानै प्रचण्डको फोन आएपछि माधव नेपालले नयाँ रणनीति बनाउन आफ्ना सम्धी सोमप्रसाद पाण्डेको नयाँ बानेश्वरस्थित निवासमा बैठक डाकेका छन् ।
बैठकमा प्रचण्डलगायत पूर्व माओवादी नेताहरु रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ सहभागी भएका छन् । बैठकमा झलनाथ र बामदेवलाईसमेत आमन्त्रण गरिएको छ । ओलीले सचिवालय बैठकलाई नमानेको अवस्थामा के गर्ने भनेर गम्भिर छलफल हुँदैछ ।
ओलीविरुद्ध घेराबन्दी
आफ्नै अध्यक्षतामा भएको सर्वसम्मत निर्णयलाई ओलीले एकैछिनमा किन अस्वीकार गरे ? यो प्रश्न बिचित्रको छ । बालुवाटारमा सम्पन्न सचिबालय बैठकले बामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्दा ओली त्यहीं थिए । लगत्तै उनले माधव नेपाललाई फोन गरी सचिबालय बैठकले गरेको निर्णय आफूविरुद्धको घेराबन्दी भन्दै कार्यान्वयन नगर्ने चेतावनी दिए ।
यति सुन्ने बित्तिकै नेपाल बालुवाटार फर्किए । ओलीसँगको भेटमा त्यही कुरा दोहरियो । अनि नेपालले सबै कुरा सञ्चारमाध्यम र अन्य नेताहरुलाई सुनाए ।
ओलीले निर्णय भएको दुई घण्टा नपुग्दै नमान्नुको मुख्य कारण आफूविरुद्धको षडयन्त्रलाई मानेका छन् । सचिबालय बैठक सकिए लगत्तै उनले पूर्व सभामुख सभाषचन्द्र नेम्बाङसँग कुरा गरे । नेम्बाङले एउटा घटना सुनाएपछि ओली पर्लक्क पल्टिए ।
नेम्बाङले गत शनिबार माधव नेपालमा भएको घटना ओलीलाई सुनाए । संविधान संशोधन गर्न यसअघिको सचिबालय बैठकले नेपालको अध्यक्षतामा बनाएको कार्य दलमा नेम्बाङ र खिमलाल देवकोटालाई सदस्य बनाइएको थियो ।
नेपालले आफ्नै निवासमा कार्यदलको बैठक डाकेका थिए । अनौपचारिक भनिएको उक्त बैठकमा नेपालले संविधान संशोधनको ड्राफ्ट नै प्रस्तुत गरे । नेम्बाङ बस्दै गर्दा वामदेवले नेपाललाई फोन गरेर ड्राफ्ट आजै पास गरेर सचिबालय बैठकमा राख्न सुझाए । नेपालले पनि त्यसै गर्ने भनी फोन काटे ।
साथै बामदेवले नै ड्राफ्ट पठाएको जानकारी दिए । त्यो घटना सुन्ने बित्तिकै ओली जंगिए । अनि तत्काल माधवलाई फान गरी तपाईहरुले सचिवालय बाहिर गरेको निर्णय कार्यान्वयन गर्न म वाध्य छैन भनेर चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री फेर्ने कसरत
पार्टी र सरकारमा एकलौटी गर्न थालेपछि ओलीविरुद्ध नेकपाका शीर्ष नेताहरु एकवद्ध भएका हुन् । अब ओलीलाई चलाउन दिने हो भने आफूहरु सधैंका लागि पछाडि पर्ने र विद्यादेवी भण्डारीलाई उत्तराधिकारीका रुपमा स्थापित गर्ने बुझाई अरु नेताहरुको रह्यो । त्यसैले कुनै पनि हालतमा ओलीलाई प्रधानमन्त्रीबाट गलहत्याउनु पर्ने निश्कर्ष नेताहरुले निकाले ।
बानेश्वरको होटल अर्यालमा माधव नेपालको सकृयतामा प्रचण्ड, झलनाथ र बामदेव लगायतका नेता पटकपटक बसे । अहिलेलाई वैकल्पिक प्रधानमन्त्रीमा बामदेव कम्रेड उपयुक्त उमेदवार हुने प्रस्ताव स्वयं प्रचण्डले राखे । प्रचण्डलाई आफ्नो नाममा सहमति नहुने कुरा राम्रो थाहा थियो । साथै माधव नेपाललाई अगाडि सार्दा भोलि आफू कमजोर हुन सक्ने ठम्याइ उनको थियो ।
झलनाथ पनि आफू प्रधानमन्त्री हुने शक्तिशाली गुट नभएका नेता परे । त्यसैले सबैको साझा गोटीका रुपमा बामदेवलाई अगाडि सारियो । यो घटनाक्रम ओलीलाई पनि थाहा थियो । तर उनी कमजोर अवस्थामा रहेकाले धेरै विवाद गर्न चाहेनन् । तर सांकेतिक रुपमा भने सरकार फेर्ने षडयन्त्र हुन थालेको चाहिं उनले सार्वजनिक रुपमै बताएका थिए ।
तर बामदेव प्रधानमन्त्री हुन संविधान संशोधन गर्नु पर्ने अवस्था रहेकाले ओलीले धेरै आलोचना गरेनन् । उनी पनि चाहन्थे, बामदेवलाई राष्ट्रियसभामा ल्याएर वरिष्ठ उपप्रधान र राम्रो मन्त्रालय दिएपछि शक्ति सन्तुलनमा आफ्नो पकड कायम हुनेछ ।
त्यसैले उनले हिजोको सचिबालय बैठकले बामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्दा मौन बसे । तर जब संविधान संशोधनको ड्राफ्ट नै तयार भइसकेको र गौतमलाई प्रधानमन्त्री बनाउने षडयन्त्र भएको चाल पाए अनि चाहीँ ओलीको पारो तातेको हो ।
अब के होला ?
हिजो घटनापछि ओली पक्ष पर्ख र हेरको रणनीतिमा देखिएको छ । आफू विरोधी नेताहरुले चाल्ने कदम पछि मात्र नयाँ रणनीति बनाउने उनको दाउ रहेको छ । सकेसम्म फकाउने नभए केही नेतालाई पार्टीबाटै लखेट्नेसम्मको तयारी उनले गरेका छन् ।
खासगरी प्रचण्डलाई एकपटक फेरि फकाउने नमाने अर्काे रणनीति अपनाउने पक्षमा ओली देखिएका छन् । साथै पूर्व एमाले पक्षधरलाई पनि वर्गिय पक्षताको कुरा झिकेर आफूतिर तान्ने प्रयास पनि जारी राख्ने उनको दाउ छ । यो कामका लागि उनले अहिले रक्षामन्त्रीसमेत रहेका ईश्वर पोख्रेललाई बढी प्रयोग गरेका छन् ।
आफूले सोचे अनुसार नहुँदा पार्टी नै अलग गरी जानेसम्मको विकल्पमा ओली पक्षले छलफल चलाएको छ । यस प्रयोजनका लागि उनले विपक्षी नेपाली कांग्रेसको समेत सहयोग लिने रणनीति बनाएका छन् । आज बिहान मात्रै उनले नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई बोलाइ करिव डेढ घण्टा वार्ता गरे । भेटमा उनले आफूलाई विपक्षीभन्दा आफ्नै पार्टीबाट षडयन्त्रमूलक ढंगले घेराबन्दी भएको गुनासो गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार