जागरणले बढाउँदै दक्षिणकालीको पुनःनिर्माण
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार २१:३२:२५
४ चैत, काठमाडौं । सरोकार निकायका अधिकारीलाई एकै ठाउँमा डाकी वडाभरका भूकम्पपीडितलाई पुनःनिर्माणसम्बन्धी चेतनामूलक कार्यक्रम गरिएपछि काठमाडौँ, दक्षिणकाली नगरपालिका–८ मा काम तीव्र भएको छ ।
साविकको छैमले गाविसका अधिकांश तामाङ बस्ती रहेको वडाको पुनःनिर्माणपछि परेका कारण ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालको आयोजनामा गत साउन पहिलो साता पीडितलाई जानकारी दिन सरोकार निकायबीच छलफल कार्यक्रम आयोजना गरिएको थियो । छलफलका सहभागीले भूकम्पले भत्किएको घर पुनःनिर्माणमा जानकारी नै कम भएकाले घर बनाउन नसकेको गुनासो गरेका थिए ।
छलफलपछि टिआइ नेपाल र वडा कार्यालयले सबै पीडितलाई डाकेर साउन तेस्रो साता पुनःनिर्माणसम्बन्धी जागरणमूलक कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमको प्रभावपछि घर पुनःनिर्माण गर्ने पीडितको सङ्ख्या ह्वात्तै बढेको वडाध्यक्ष राजकुमार लामाङले बताएका छन् । “भूकम्पले भत्किएका कूल एक हजार २५२ घरमध्ये ६०० भन्दा बढी घर पुनःनिर्माण शुरु भएको छ, नगरपालिकामा सबैभन्दा बढी लाभग्राही यही वडामा छन्, विकट बस्तीसमेत रहेको वडाको पुनःनिर्माणमा नगरपालिकाले पनि ध्यान केन्द्रित गरेको छ”, उनले भने ।
कार्यक्रममा भूकम्पपीडितले पुनःनिर्माणमा आइपरेका समस्याबारे नगरपालिका, वडा कार्यालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका अधिकारीलाई प्रश्न गरी स्पष्ट भएका थिए । कार्यक्रममा अधिकारीले पीडितका प्रश्नको जवाफ दिएपछि घर पुनःनिर्माण गर्ने प्रतिबद्धतासमेत पीडितले जनाएका थिए । साउनअघि नगण्य घर मात्र पुनःनिर्माण शुरु भएको वडामा हाल ५५ प्रतिशतभन्दा धेरै घर बन्न शुरु भएको अध्यक्ष तामाङले सुनाए ।
भूकम्पपीडित मङ्गल तामाङ वडा कार्यालय र टिआइ नेपालको सहकार्यमा भएको जनचेतनामूलक कार्यक्रमपछि पुनःनिर्माणका प्रक्रियाका बारेमा स्पष्ट हुँदा काम गर्न सजिलो भएको अनुभव सुनाउछन् । टिआइ नेपालले भूकम्प अतिप्रभावित १४ जिल्लामा भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम लागू गरेको छ । कार्यक्रमले पुनःनिर्माणमा आइपरेका समस्या फुकाउन सहयोग गरेको पीडितले बताएका छन् ।
नगरपालिकामा चार हजार ७६ लाभग्राही छन् । त्यसमध्ये तीन हजार ७८० ले पहिलो किस्ता लिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । एक हजार ८८७ लाभग्राहीले दोस्रो किस्ता बुझिसकेका छन् । एक हजार ५२३ घर पुनःनिर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको एकाइका अनुगमन तथा मूल्याङ्कन विज्ञ राजकुमार पौडेलले जानकारी दिएका छन् ।
“एकाइमा प्राप्त विवरणानुसार दक्षिणकालीका ३७ प्रतिशत भूकम्पपीडितले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको विवरण प्राप्त भएको छ, नगरपालिकामा पछिल्लो समय कामले तीव्रता पाएको देखिन्छ”, उनले भने । वडा नं ८ मा नगरपालिकाका नौ वडामध्ये सबैभन्दा बढी लाभग्राही रहेको सबइञ्जिनीयर पृथ्वीमान श्रेष्ठले बताएका छन् । वडामा कूल एक हजार २५२ लाभग्राही छन् । वडा नं १ र ९ का ८० प्रतिशत घर बनेको उनले सुनाएका छन् । नगरपालिकामा पनि बजार क्षेत्रको पुनःनिर्माण सुस्त छ ।
“बजार क्षेत्रमा जग्गा कम भएकाले भूकम्पले भत्किएका घर बन्न सकेको छैन, पुनःनिर्माणलाई तीव्रता दिन पछिल्लो समय जिल्ला आयोजना कार्यान्वयन एकाइले आठ जना घुम्ती डकर्मी र दुई जना सामाजिक परिचालक पनि खटाएकाले बढी लाभग्राही भएका वडामा महत्वका साथ पुनःनिर्माण अघि बढाउँछौँ”, उनले भने।
भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लाको पुनःनिर्माण सुस्त छ । उपत्यकाको पनि काँठ क्षेत्रभन्दा मुख्य शहरी क्षेत्रको पुनःनिर्माणमा ढिलाइ भइरहेको एकाइका अनुगमन तथा मूल्याङ्कन विज्ञ पौडेलले सुनाएका छन् ।
राजधानी काठमाडौँका ११ स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिकाकै पुनःनिर्माणको गति आशातीत रुपमा अघि बढ्न सकेको छैन । महानगरका सात हजार ३९५ लाभग्राहीमध्ये छ हजार ५२ ले पहिलो किस्ता लिएका छन् । पहिलो किस्ता लिई जगको काम सकेर एक हजार ६९१ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । छानासम्मको काम सकी एक हजार ४४६ भूकम्पपीडितले मात्र तेस्रो किस्ता लिएको एकाइले जनाएको छ ।
महानगरपालिकामा हालसम्म २० प्रतिशत मात्र घर बनेका छन् । काठमाडौँमा कूल ४८ हजार १२२ लाभग्राही छन् । त्यसमध्ये ४१ हजार ८१२ ले पहिलो किस्ता लिएका छन् । पहिलो किस्ता लिएकामध्ये आधा पीडितले पनि दोस्रो किस्ता लिएका छैनन् । दोस्रो किस्ता लिने पीडित बीस हजार ४९ मात्र छन् ।
काठमाडौँका १६ हजार ७३५ पीडितले घर सम्पन्न गरी तेस्रो किस्ता बुझेका छन् । यो कूल लाभग्राहीको ३६ प्रतिशत हो । काठमाडौँमा एक हजार ४१ प्रबलीकरण लाभग्राहीमध्ये पाँच जनाले मात्र घर बनाएका छन् । महानगरपालिकामा दुई, तारकेश्वरमा एक र बूढानीलकण्ठमा दुई गरी जम्मा पाँच प्रबलीकरण लाभग्राहीले मात्र घर बनाएको एकाइले जनाएको छ ।
पुनःनिर्माण लाभग्राहीले तीन किस्तामा रु तीन लाख र प्रबलीकरण लाभग्राहीले दुई किस्तामा रु एक लाख अनुदान पाउँछन् । पीडितलाई भूकम्प प्रतिरोधी घर बनाउन सरकारले अनुदान वितरण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
बैशाख ४, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर गरे नागढुंगा सुरुङमार्ग छिचोलिएको घोषणा
बैशाख ३, २०८१ सोमबार
नागढुंगा सुरुङमार्गमा गाडी चलाउन अझै एक वर्ष कुर्नुपर्ने
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार