भ्रष्ट्राचार र अनियमितता गर्नेलाई हटाउन ओली समक्ष देउवाको आग्रह
Advertisement

२१ चैत्र, काठमाडौं । देशमा यत्रो विपतको अवस्था आइपर्दासमेत सरकारी संयन्त्र भ्रष्ट्राचार र अनियमिततामा रुमल्लिएको भन्दै सर्वत्र आलोचना भईरहेका बेला नेपाली कांग्रेसले कडा शव्दमा आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरससँग लड्न आवश्यक स्वास्थ्य सामग्री किन्नेदेखि पत्रकारिता जगतलाई निरुत्साहित गर्न थालिएका प्रयत्नको विरोध गरेका छन् । साथै यस्ता काममा संलग्न सबैलाई तत्काल पदमुक्त गर्न समेत उनले प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।

स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको अनियमिततामा संलग्न जोकोहीलाई हटाउन ओली तयार हुनुपर्ने पनि सभापति देउवाले आग्रह गरेका छन् । अनियमिततामा संलग्नहरुलाई तुरन्तै छानविनको दायरामा ल्याउनसमेत उनले आह्वान गरेका हुन् ।

Advertisement

सभापति देउवाद्वारा आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ – स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततालाई ढाकछोप गर्न भईरहेको प्रयत्न गम्भिर छ । साथै सरकारका यी करतूतबारे लेख्ने पत्रकारलाई निरुत्साहित गर्ने प्रयास गरिनुलाई कांग्रेसले गम्भिरतापूर्वक लिएको छ । अत्यावश्यक सामग्री खरिदमा भएको ढिलाई, टेण्डर प्रक्रियाको अपारदर्शिता, बढी मूल्य देखाएर विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरितका सामान ल्याइनु अत्यन्त आपत्तिजनक र लज्जास्पद विषय भएकाले यस प्रकरणमा संलग्न सबैलाई तत्काल कारबाही गर्न म प्रधानमन्त्रीलाई आग्रह गर्दछु– विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसबाट देश र जनतालाई जोगाउन कांग्रेस सरकारसँग हातेमालो गर्न तयार रहेको तर अनियमितता र भ्रष्टाचार विरुद्ध डटेर विरोध गर्ने पनि देउवाले स्पष्ट गरेका छन् । यस्तो गम्भिर र संवेदनशील विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गहिरो अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा समेत सभापति देउवाले जोड दिएका छन् ।

सरकारी निकायबाट भएका अनियमितिताविरुद्ध निरन्तर खबरदारी गर्ने सञ्चारमाध्यमप्रति सरकारी दृष्टिकोण ज्यादै अनुदार रहेको भन्दै राज्यको चौथो अंगलाई काम गर्न सहज वातावरण बनाउन आह्वान गरिएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्