व्यस्त सडकमा लकडाउनले आवधिक मर्मत र ह्युमपाइप राख्ने काममा सहजता
नेपालबहस संवाददाता
बैशाख ८, २०७७ सोमबार २२:१५:३१
८ वैशाख, काठमाडौं । अरु समयमा उच्च सवारी चापका कारण काम गर्न कठिन हुने काठमाडौँका मुख्य सडकमा ‘लकडाउन’ को मौका छोपी निर्माण शुरु भएको छ । त्रिपुरेश्वर, पुतलीसडक, गौशालालगायत स्थानका सडकमा आवधिक मर्मत र ह्युमपाइप राख्ने काम शुरु भएको हो । काठमाडौँका विभिन्न स्थानमा गरी झण्डै १२ किलोमिटर सडकमा आवधिक मर्मत (ओभर ले) गर्न लागिएको हो । विभिन्न सडकमा ह्युमपाइप राख्नका लागि खन्न थालिएको छ । ती स्थानमा ह्युमपाइप राखिएपछि कालोपत्र गरिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।
निर्माण सामग्री उपलब्ध हुन सके आगामी १५/२० दिनमा उपत्यकामा बाँकी काम गर्न सकिने डिभिजन प्रमुख कुबेर नेपालीले बताएका छन् । उनका अनुसार गौशाला–विमानस्थल सडकमा ‘ओभर ले’ शुरु भइसकेको छ । त्रिपुरेश्वलगायतका सडकमा ह्युमपाइपका लागि खन्न शुरु गरिएको छ । गौशाला–चावहिल सडकमा भने खानेपानीको पाइप राख्ने र सडक निर्माण दुवै काम एउटै ठेक्काबाट अघि बढेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र डिभिजनले एउटै ठेक्कामा दुवै काम गरिरहेको हो । उनले भने, “पुराना पाइपहरुमा चुहावट देखिएकाले सकिन अझै केही समय लाग्न सक्छ ।”
काठमाडौँका व्यस्त सडकमा अरु समयमा काम गर्न गाह्रो हुने र अहिले पनि कामदार निर्माणस्थलमै रहेको भन्दै सडक विभागले गत साता विपद् व्यवस्थापन समितिलाई निर्माणका लागि अनुमति मागेको थियो । समितिले अनुमति दिएपछि नै जिल्ला प्रशासन कार्यालयले निर्माणका लागि आवश्यक सहयोग गरिरहेको छ । निर्माण सामग्री ल्याउनका लागि सवारी पास उपलब्ध भएकोे डिभिजन कार्यालयले जनाएको छ । डिभिजनले लकडाउन पहिले नै यी सडक निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको थियो । ती निर्माण व्यवसायी अहिले सम्पर्कमा आइरहेको उनले बताएका छन् । उनले भने, “निर्माण व्यवसायीले पनि आवश्यक सामग्री उपलब्ध हुँदा काम गर्ने बताइहेका छन् ।
यी सडक निर्माणका लागि निर्माण कम्पनीसँग जनशक्ति पर्याप्त भएको प्रमुख नेपालीले बताएका छन् । मजदूर अन्यत्रबाट ल्याउन नपर्ने भए पनि केही प्राविधिक जनशक्ति भने थप आवश्यक पर्न सक्छ । आवश्यक निर्माण सामग्री भने पाइने/नपाइने टुङ्गो छैन । अहिले बाँकी रहेको निर्माण सामग्रीबाट चारपाँच दिन मात्रै काम गर्न सकिने उनले बताएका छन् ।काठमाडौँका निर्माणाधीन सडकका लागि आवश्यक निर्माण सामग्री लिन ट्रकहरु खोला र क्रसतर्फ गएको डिभिजन प्रमुख नेपालीले बताएका छन् ।
काभ्रेको रोशी खोला र ललितपुरको टीकाभैरव खोलाबाट निर्माण सामग्री ल्याइनेछ । त्यहाँका स्थानीय तहले निर्माण सामग्री ल्याउनका लागि अनुमति दिँदा मात्रै निर्माण सामग्री ल्याउन सकिने उनले बताएका छन् । उनले भने, “हामीले त्यसका लागि पनि सक्ने समन्वय गरिरहेका छौँ ।”चालु आवमा अहिलेसम्म झण्डै २८ किमी सडकमा ‘ओभर ले’ भइसकेको छ । ‘ओभर ले’ भएको सडकमा चिह्नसमेत लगाइएको थियो । सडक चिह्न लगाउँदा कम जनशक्तिले सामाजिक दूरी कायम गरेर काम गर्न सकिन्छ भन्ने देखिएकैले डिभिजन कार्यालयले ‘ओभर ले’ पनि गर्न लागेको हो ।
लकडाउनका कारण सबै विकास निर्माण ठप्प हुँदा काठमाडौँका मुख्य र सहायक सडकमा चिह्न लगाइएको थियो ।
ती सबै स्थानमा सामाजिक दूरी कायम गरेर काम भएको डिभिजन कार्यालयले जनाएको छ । धेरै जनशक्ति र उपकरण नचाहिने हुँदा यो समयमा समेत काम गरिएको हो । कतिपय सडकमा एकातर्फको लेनमा ‘ओभर ले’ भए पनि अर्कातर्फ हुन सकेको थिएन । काम शुरु नगर्दै लकडाउन घोषणा भएकाले निर्माण व्यवसायीले काम अघि नबढाएका हुन् । डिभिजनले सडकका दुवै लेनमा ‘ओभर ले’ भएका सडकमा मात्रै सडक चिह्न लगाएको प्रमुख नेपालीले बताएका छन् । लकडाउनका समयमा भएको सडक चिह्न लगाउने कामका कारण उपत्यकाका सडक चिटिक्क देखिएका छन् ।
एकातर्फ सवारी साधनको चाप कम र अर्कातिर भर्खर कालोपत्र भएका सडकमा पोतिएका सडक चिह्नले उपत्यकाको मुहार नै फेरिएको छ । लकडाउनमा काम गर्दा कतै अवरोध आउँछ कि भन्ने अन्योल भए पनि अहिले यो कामले धेरैको प्रशंसा पाइरहेको छ । सडक चिह्नका कारण यात्रु र चालकसँगै ट्राफिक प्रहरीलाई समेत सडक व्यवस्थापन गर्न सजिलो हन्छ । काठमाडौँ उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न सडक र पुलमा समेत सडक निर्माण भइरहेको छ । उपत्यका बाहिर महेन्द्र राजमार्ग, त्रिभुवन राजमार्ग, कोशी राजमार्गलगायत अरु विभिन्न सडकमा निर्माणको काम लकडाउनमा समेत रोकिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
बैशाख ४, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर गरे नागढुंगा सुरुङमार्ग छिचोलिएको घोषणा
बैशाख ३, २०८१ सोमबार
नागढुंगा सुरुङमार्गमा गाडी चलाउन अझै एक वर्ष कुर्नुपर्ने
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार