शुक्रबार , बैसाख ३, २०७८

सचिवालय बैठक ४ बजे , आज होला त छिनोफानो ?

सचिवालय बैठक ४ बजे , आज होला त छिनोफानो ?

२० बैशाख, काठमाडौं । कोरोना भाइरसको चपेटामा परेको देशमा अप्रत्याशित रुपमा आइलागेको राजनीतिक संकट कसरी साम्य होला ? धेरैको चासो र जिज्ञासाको विषय बनेको छ । आज बेलुकी ४ बजेका लागि तय भएको नेकपा सचिवालय बैठकले यो अन्योलको छिनोफानो गर्ने झिनो आशा भएको मान्नेहरु पनि धेरै छन् ।

आजको बैठक निर्णायक हुने धारणा प्रधानमन्त्री केपी ओली विरोधी पक्षको रहेको छ । तर प्रधानमन्त्री पक्षधर नेताहरु भने समस्या हल गर्ने प्रस्थान विन्दू आजको बैठक हुने तर्क गर्छन् । गत बुधबार भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री र नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेर सबैलाई जिल्याएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त प्रस्तावबाट बामदेव पुलकित भएका थिए भने पुष्पकमल दाहाल प्रचण्ड र माधव सशंकित । ओलीले साँच्चै समाधान दिने गरी प्रस्ताव गरेको भए आज ठोस प्रस्ताव आउने नेताद्वयले निकटस्थहरुसँग बताएका छन् । साथै आजको बैठकमा कसरी प्रस्तुत हुने भनेर दुबै पक्ष आ–आफ्नो तयारीमा जुटेका छन् । प्रधानमन्त्री ओली पक्षको भेला र बैठक बालुवाटारमा भइरहेको छ । ओलीलाई सघाउन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का शंकर पोखरेल केही दिनयता राजधानीमा सक्रिय छन् । त्यसैगरी रक्षामन्त्री ईश्वर पोखरेल, महासचिब विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मध्यमार्ग खोज्ने प्रयत्नमा लागेका छन् ।

उता, ओलीलाई यसपाला घुँडा टेकाई छाड्ने पक्षमा दृढ देखिएका प्रचण्ड–माधव समूह पनि गृहकार्यमा जुटिरहेका छन् । हिजो दिनभरि नै यो पक्षको भेला र छलफल जारी रह्यो । प्रधानमन्त्री ओलीसँग भेट गरेलगत्तै प्रचण्ड कोटेश्वरस्थित माधवको घर पुगे । त्यहाँ भेला भएका भीम रावल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त लगायत नेताले ओलीको चालमा नफस्न नेताहरुलाई खबरदारी गरिरहे ।

सचिवालय बैठकमा ओलीले अलमल्याउने प्रस्ताव ल्याए सहमति नजनाउन र स्थायी कमिटीको माग नछाड्न सुझाए । साथै माधव नेपाललाई तेस्रो हैसियतको अध्यक्ष पद नस्वीकार्न पनि आग्रह गरियो । छलफलमा अध्यक्ष प्रचण्डले नेकपामा बहुअध्यक्ष प्रणाली लामो समय नराख्न भन्दै सकेसम्मा सहज तरिकाले माधव कम्रेडलाई नै प्रधानमन्त्री बनाउन उपयुक्त हुने राय प्रकट गरे ।  तर बामदेवलाई इमान्दारीपूर्वक प्रधानमन्त्री बनाउने विश्वासिलो प्रस्ताव आयो भने सहयोग गनुपर्ने तर्क पनि उनले राखेका थिए ।

उता, यो प्रकरणको केन्द्रमा रहेका बामदेव भने आज बेलुकी ओलीले ठोस प्रस्ताव ल्याउने विश्वास गरेका छन् । सार्वजनिक रुपमा केही नबोले पनि बामदेव हिजो दिनभरि निकट कानून व्यावसायीसँग छलफलमा रहे । कुन प्रक्रियाबाट जाँदा प्रधानमन्त्री बन्न सहज हुन्छ भन्ने नै बामदेवको मुख्य चासो थियो । धेरै कानून व्यावसायीले राष्ट्रियसभामा गएर संविधान संशोधन गर्दा मात्र सहज ढंगले प्रधानमन्त्री बन्न सकिने राय दिए ।

तर बामदेव निकट नेताहरु भने यो सबै अल्मल्याउने चाला मात्र भएको ठान्छन् । बामदेव निकट नेता बलराम बाँस्कोटाका अनुसार, नियम कानून र परम्परा विपरित बामदेवलाई प्रधानमन्त्री बनाउने हैन बरु बदनाम गराउने प्रपञ्च मात्र हो । यस्तो प्रस्तावको पक्षमा लाग्दा धोका हुन सक्ने भन्दै उनले बामदेवलाई त्यसमा नअल्मिलिन सुझाव दिएको बताए । यो सबै तर्क बितर्कको छिनोफानो भने आजैको बैठकले गर्ने पनि उनले विश्वास गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय