ओलीले फकाए बामदेव, तत्कालै राष्ट्रियसभामा मनोनयन, भोलि नै उपप्रधानमन्त्री नियुक्त हुने

२० बैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको वहुचर्चित एवं प्रतिक्षित सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले गज्जबको प्रस्ताव पेश गर्दैछन् ।
पार्टी उपाध्यक्ष बामदेव गौतमलाई आफूपछिको प्रधानमन्त्री बनाउने तर तत्कालका लागि उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको बालुवाटार स्रोतले बताएको छ । यसका लागि ओलीले हिजो र आज राम्रो गृहकार्य गर्नुभएको छ – स्रोतले भन्यो । सम्भवतः आजै रातिसम्म बामदेव राष्ट्रियसभामा मनोनित भएको समाचार आउन सक्छ भन्दै स्रोतले अब प्रधानमन्त्रीमाथिको संकट टरेर जाने विश्वास व्यक्त गरेको छ ।
आज सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवास पुगेर भेट गरेका छन् ।साँझ साढे चार बजेदेखि झण्डै पाँच बजेसम्म भएको भेटमा बामदेवलाई आजै मनोनयन गर्न सहमत गराएको अनुमान गरिएको छ । प्रधानमन्त्री ओलीले हाललाई यस्तो प्रक्रियाबाट अगाडि जाने र स्थिति सहज भएपछि बामदेवलाई प्रधानमन्त्री बनाउने उधारो विश्वास दिलाएका छन् ।
हिजो र आज ओलीले बामदेवसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यसबारे छलफल गरेका थिए । आजै भएको छलफलमा पनि बामदेवले ओलीलाई मलाई तपाईंको प्रस्ताव स्वीकार्य छ , तर यसबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि एकपटक छलफल गर्न सुझाएका थिए । सोही बमोजिम ओलीले राष्ट्रपति निवासबाट फर्के लगत्तै प्रचण्डसँग एक्लै कुरा गरे ।
ओलीको प्रस्तावमा वामदेव सहमत भएकाले आजको सचिवालय बैठकले आपत्ति जनाउने अवस्था नरहने बताइन्छ ।
ओली र बामदेवबीच सहमति जुट्ने वित्तिकै सचिवालयको समीकरण नै बदलिने अवस्था छ । बामदेवले आफ्नो राजनीतिक भविष्य नै दाउमा परेकाले ओलीको प्रस्ताव स्वीकार गरेको स्रोतको दावी छ । साथै अर्का अध्यक्ष प्रचण्डलाई पनि उनले यसका सहमत गराएका छन् ।
यसरी हेर्दा ओलीले फेरि पनि बाजी मार्ने अवस्था छ । तीन जना पूर्व प्रधानमन्त्रीलाई जिल्याउँदै ओली र बामदेवबीच गठबन्धन बन्ने अवस्था छ ।
प्रतिक्रिया