कोभिड–१९ : मध्यपहाडी लोकमार्गमा कालोपत्रको काम ठप्प
नेपालबहस संवाददाता
बैशाख २२, २०७७ सोमबार १७:४९:३९
◊ हेमन्त केसी
२२ बैशाख, जाजरकोट । कोभिड–१९ बाट जोगिन र जोगाउन भन्दै मध्यपहाडी लोकमार्गको कालोपत्रको काम ठप्प भएको छ । जाजरकोट र रुकुम पश्चिमको करिब ४२ किलोमिटर काम ठप्प भएको हो । जाजरकोट, रुकुमपूर्व र रुकुम पश्चिम गरी २१४ किलोमिटर सडक मध्यपहाडी लोकमार्गअन्तर्गत पर्दछ ।
लकडाउनका कारण राष्ट्रिय गौरवको आयोजनाका काम नरोक्ने सरकारी निर्णय भए पनि मध्यपहाडी लोकमार्गको काम मजदुर अभावकै कारण रोकिएको छ । रुकुम र जाजरकोट खण्डको काम रोकिएपछि तोकिएको समयमा निर्माण नहुने पक्का भएको छ । आयोजनाले रुकुम खण्डमा आगामी असार मसान्तभित्र कालोपत्र गरिसक्ने लक्ष्य लिएको थियो । सानीभेरी–चौरजहारी सडकखण्डको ३२ किलोमिटर कालोपत्रको काम करिब एक महिनादेखि रोकिएको लोकमार्गको दैलेख आयोजना कार्यालयले जनाएको छ ।
कालोपत्र गर्नका लागि ठिक्क परेको काम रोकिएपछि समस्या भएको छ । रुकुमको ३२ किलोमिटर र जाजरकोटको १० किलोमिटर सडकमा कालोपत्र गर्ने ठिक्क पारिएको भए पनि लकडाउनका कारण मजदुर नहुँदा काम रोकिएको छ । अन्य मेशिनबाट हुने काम जारी रहेको निर्माण कम्पनीले बताएका छन् ।
शर्मा सिंह एन्ड ब्रदर्स जेभीका विश्वास उप्रेतीका अनुसार कालोपत्र गर्नका लागि आधारभूत काम सकिएको थियो, कालोपत्र शुरु हुनै लाग्दा लकडाउन हुँदा काम रोकिएको छ । बाँकी कच्ची कटान गर्ने काम भने उपकरणमार्फत हुने काम भने चालु रहेको छ । जाजरकोट खण्डमा रहेको ८२ किलोमिटर सडकखण्ड मध्ये ५५ किलोमिटर शर्मा सिंह एन्ड ब्रदर्स जेभीले काम गर्ने ठेक्का पाएको छ ।
“अहिले मेशिनको काम मात्र भएका छन्”, उप्रेतीले भने, “अब दुई, चार दिनभित्र मेशिनको काम रोकिने सम्भावना छ, नेपालगञ्जबाट आउने सामग्री आउन छाडिसकेको छ । तेलको आपूर्तिसमेत ठप्प भएको छ ।” जाजरकोटको सबैभन्दा जटिल मानिएको छेडागाड नगरपालिकाको मन्ताभिरमा कटानको काम शुरु भएको उनले बताए ।
त्यस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको हासिवाङदेखि चौरजहारी र जाजरकोटको भेरी नगरपालिकाको सिमानासम्मको काम रोकिएको छ । अग्ला ठाउँ सम्याउने, क्रसर र नालाको काम भने मेशिनमार्फत जारी राखिएको छ । उक्त खण्डसहित पहिले नै ठेक्का लागेका सबै सडकमा कालोपत्रको काम आगामी असार मसान्तसम्म सकिनुपर्ने हो ।
कालोपत्रको म्याद सकिन करिब एक महिना मात्र बाँकी भएकाले निर्धारित समयमा काम पूरा नहुने पक्का भएको छ । बाहिरबाट आएका दक्ष कामदार लकडाउनका कारण फर्किएका छन् । यही वैशाख २५ गतेपछि लकडाउन खुकुलो भए बाहिर गएका कामदारलाई बोलाएर कालोपत्रको काम जारी राख्ने तयारी छ ।
अहिलेकै अवस्थामा रहेर काम गर्दा १० किलोमिटर कालोपत्रको काम असार मसान्तसम्म सकिने अनुमान छ । बाँकी २२ किलोमिटर कालोपत्र आगामी मङ्सिरभित्र गर्ने गरी आवश्यक तयारी थालिएको छ । लकडाउनकै कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बैरीदहदेखि पूर्वको क्षेत्रमा पनि कालोपत्र शुरु भएको छैन । त्यहाँ पनि उपकरणबाट हुने काम भने चालु छ ।
उपकरणभन्दा श्रमिकबाट गर्नुपर्ने काम धेरै भएपछि समस्या परेको निर्माण कम्पनीले बताएका छन् । मध्यपहाडी लोकमार्गले रुकुमपूर्व र पश्चिमको १२३ किलोमिटर खण्ड ओगटेको छ भने जाजरकोटमा ८२ किलोमिटर रहेको छ । रुकुममा केही खण्डमा कालोपत्रको काम भइसकेको छ । त्यस्तै लोकमार्गका अरू सबै खण्डमा ठेक्का लागे पनि मुसीकोट नगरपालिकाको सेरीगाउँदेखि हासिबाङसम्मको १२ किलोमिटरमा बाँकी छ । आयोजना कार्यालयका अनुसार ठेक्का टुङ्गो लागे पनि सार्वजनिक गर्ने र सम्झौताको काम हुन सकेको छैन ।
आयोजनाको काम रोकिएपछि स्थानीयवासी निराश भएको जाजरकोट भेरी नगरपालिकाका–११ कालाभुरका धर्मबहादुर घर्तीले बताए । काम रोकिएपछि फुर्सदिलो भएर बसेको उनको भनाइ छ । निर्माण कम्पनीले दक्ष जनशक्ति बाहिरबाट ल्याएर काम गर्दै आएको छ ।
स्थानीय मजदुरलाई बाहिरबाट आएका दक्ष जनशक्तिले सिकाएको भरमा काम गर्दै आएका छन् । भेरी नदीमा निर्माण हुने भनिएको मध्यपहाडी लोकमार्गको पुल निर्माण हुन नसकेर ठप्प भएको छ । अहिले लकडाउनका कारण झन समस्य भएको छ । त्यस्तै कर्णाली प्रदेशको सामरिक महत्वको आयोजना नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआरको कामसमेत ठप्प भएको छ । बाहिर जिल्लाका मजदुर लकडाउनका कारण घर फर्केपछि डिपिआरको काम ठप्प भएको हो । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार