
२४ बैशाख, स्याङ्जा । बीसबर्ष वैदेशिक रोजगारीमा बिताएर नेपाल फर्किएका चापाकोट नगरपालिका नौं का रामु बस्याल यतिबेला केरा खेतीमा आत्मनिर्भर बनेका छन् ।
प्रवासका विभिन्न देशमा श्रम गरेर पछिल्लो समय कतारबाट तीन बर्ष पहिले स्वदेश फर्किएका बस्यालले अहिलेसम्म करिब एक लाखको केरा बिक्रि गरिसकेका छन् । उनि भन्छन् “ पहिले धान खेतमा केरा लगाउदा धान मासेर के गर्न लागेको भन्नेहरु पनि केरा खेतितर्फ आकर्षित बन्दै गएका छन् ।“ धान खेती लाई सर्वपरी ठान्ने हाम्रो समाजले आधुनिक कृषि प्रणालीलाई अपनाउन नसक्दा हाम्रो कृषिक्षेत्र पछि परेको उनको बुझाइ छ । नेपाल बहसडटकमसंग कुरा गर्दै उनले भने “ धानले दिने तीन गुणा मुल्य बराबरको उत्पादन गरिसके ।“
छ रोपनी जग्गामा उन्नतजातको केराको बिउ लगाएर सुरु गरेका बस्यालका केराले ढेडबर्षमै उत्पादन दिन सुरु गरेका थिए । अहिलेसम्म स्थानीय बजारमै उत्पादित केरा बिक्री गर्दै आएका उनले स्थानीय बजारले खपत गर्न छाडेपछि मात्रै बाहिरी बजारमा लैजाने योजनामा छन् । उनि भन्छन् “अहिले धेरै उत्पादन पनि भएको छैन भएका सबै उत्पादन स्थानीय बजारमै खपत भएको छ ।“
वैदेशिक रोजगारीको सिलसिलामा धेरै समय बिदेशी भुमिमा बिताएको अहिले महसुस गरेको बताउने उनले बिदेशमा गर्ने परिश्रम नेपालमै गरे जत्तिपनी कमाइ हुने हुँदा युवाहरूलाई बिदेशको सपना नदेख्न उनको आग्रह छ । “ यतातिर मेरो ध्यान जान नसक्दा मैले बिदेशमा धेरै समय बिताएछु ।“ उन्नतजातको कृषि प्रणाली अपनाउन सके नेपालमै मनग्ये आम्दानीमा पाटाहरु रहेछन् । परिवारको साथमा घरमै बसेर यस्तो खेती गर्न पाउदा निकै खुसी छन् उनि ।
नेपाल फर्किए लगत्तै चापाकोट बहुमुखी क्याम्पसमा बिबिएसमा अर्थशास्त्र अध्यापन गराउदै आएका उनले नेपालको कृषि क्षेत्रमा राज्यको साच्चिकै उपस्थिति हुन नसकेको बताउछन् । नेपालमा साच्चिकै आधुनिक कृषि खेती गर्न सक्ने हो भने हाल खेती भइरहेकै जमिनबाट नेपाललाई मात्रै नभए निर्यात गर्न समेत सकिने उत्पादन हुने उनको अनुभव छ । त्यसैले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई स्वदेशमै आधुनिक कृषि क्षेत्रमा लगाएर नेपाललाई आर्थिक समृद्धि तिर लान नेपाल सरकारलाई उनको सुझाव छ ।
प्रतिक्रिया