लकडाउनका कारण घरको छत, आँगनमै वर रुखको पूजा गरी विवाहिताले मनाए बरसाईत
फोटो क्याप्सन : वरसाइत पर्वका अवसरमा लकडाउनको कारण कम भिडभाड हुने गरी कौशी तथा छुटै करेसावारीमा वरको रुखमा पूजा गर्दै महिलाहरु ।
Advertisement

◊ धीरुभाइ

९ जेठ, सप्तरी । कोरोना संक्रमण न्यूनिकरण तथा रोकथामका लागि जारी लकडाउनका बीच तराईका विवाहिता महिलाहरुले सो महामारीबाट मुक्तीसाथ पतिको दीर्घायुको कामनासहित बटसाबित्री अर्थात बरसाइत पर्व मनाइएको छ ।
जारी लकडाउनमा विवाहिताहरुले सामाजिक दुरीका साथ भिडभाड नहुने गरी विभिन्न स्थानमा बरसाईत पर्व मनाइएका छन । धेरैले घरको कोशी, आँगनमा वर रुखको पूजा गरी मनाइएका छन भने केही सार्वजनिक स्थलमा वरको पूजाआराधना गरेका छन ।

Advertisement

यस पर्वमा पतिको, सुख, समृद्धि, दीर्घायु र परिवारको कल्याणका लागि वरको रुखमा पूजा आराधना गरिएको छ । वरको रुखमा ब्रम्हा र विष्णुको बास समेत हुने जनविश्वासका साथ वर पूजा गर्नेहरुले यस पर्वलाई बट सावित्री पर्व पनि भन्दछन् । लकडाउनका कारण सार्वजनिक चोकचौराहा, मठमन्दिरको वरमा पूजा आराधना गर्ने महिलाहरुको कम भिडभाड रहेको पाइयो । कतिपयले घरको कौशी (छत)मै गमलामा वर वा वरको हाँगा लगाएर पूजा गरिएको देखियो ।

यस पर्वको पौराणिक कथाअनुसार सावित्रीले वरकै रुखमुुनि आराधना गरी मृत पति सत्यवानलाई पुनर्जीवित बनाएको विश्वास छ । वरको रुखबाट निस्केको सर्पले टोक्दा सत्यवान मृत अवस्थामा पुगेका र रुखमुनि यमराजको आराधना समेत गरी सावित्रीले पतिलाई पुनर्जीवित तुल्याएको कारणले त्यहिबेलादेखि वरसाइतको ब्रत लिने गरेको ब्रतालु महिला सुनिता साह बताउछन ।

यस्तै ब्रतालु रन्जुकुमारी गिरीका अनुसार जेठ महिनाको अमावश्याका दिन गरिने वरसाइत व्रतभन्दा एक दिनप्ूर्व नै नव विवाहिता बेहुलीले पतिको घरबाट आफ्नो माइतमा पठाइएको सामग्रीले गौरी नैवेद्य चढाउने चलन छ । यसमा धानको लावा भुटेर बेसारको गौरी बनाई पूजा गरिन्छ । वरको रुखलाई रंगाईएको काँचो धागो बेरेर पूजाआजा गरेपछि सोही ठाउँमा बट सावित्रीको कथा समेत श्रवण गर्ने प्रचलन रहेको छ ।

पूजाका क्रममा व्रतालु महिलाहरुले शिव पार्वती, बिषहरा, विवाह सम्वन्धी गीत समेत गाउने गरेको उनले बताए ।सप्तरीको राजविराज स्थित भगवती मन्दिर परिसर, पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय प्रांगण, खरसाल टोल, बिहारपुर, बरसाईन लागयतका ग्रामिण भेगमा रहेका वरका रुखहरुमा समेत महिलाहरुले भव्यतापूर्वक पूजाआजा गरेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्