कोभिड–१९ सावधान ! बढ्दो छ सङ्क्रमणको गति
नेपालबहस संवाददाता
जेठ १७, २०७७ आइतबार ०:२:१२
◊ नारायण ढुङ्गाना
१७ जेठ, काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः बढ्दै गएको छ । सङ्क्रमण दर बढेसँग जोखिमको चुनौती पनि उत्तिकै छ । कूल एक हजार ४०१ सङ्क्रमितमध्ये पछिल्लो एक सातामा मात्रै ८०४ जनामा रोग देखियो । जेठ १४ पछि चार दिनमा दैनिक सय भन्दामाथि सङ्क्रमित भेटिए । उक्त चार दिनमा मात्रै ६२९ संक्रमित फेला परे । शुक्रबार १७० जनामा देखिएको कोभिड–१९उन्नाइसले बढेर आज सबैभन्दा बढी १८९ जनामा देखियो ।
गत माघदेखि शुरु भएको सङ्क्रमण चैतमा फाट्टफुट्ट थियो । वैशाखको अन्तिमबाट बढ्न थालेको सङ्क्रमण जेठको दोस्रो सातापछि ह्वात्तै देखियो । पछिल्लो जेठ १२ पछि भने सङ्क्रमणको गति झन् बढ्दो छ । यही जेठ १६ गते शुक्रबार पाँच महिलासहित १७० जनामा कोभिड–१९ पुष्टि भएको थियो । जेठ १५ गते १५६ जनामा सङ्क्रमण देखिएको थियो । जेठ १४ गते ११४ फेला परे । जेठ १३ मा ८४, १२ गते ७२, ११ गते १९ तथा १० गते ३२ जना सङ्क्रमित भेटिएका थिए ।
मन्त्रालयले दिएको विवरणअनुसार आजसम्म कोभिड–१९ का कारण छ जनाले ज्यान गुमाएका छन् । अन्य मुलुकभन्दा नेपालमा मृत्युदर न्यून छ । मृतकको नजिक रहेका व्यक्तिको कन्ट्र्याक्ट टे«सिङको काम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।
चीनको उहानबाट आएका एक नेपालीमा विसं २०७६ माघ ९ मा कोभिड– १९ पुष्टि भएको थियो । चीनबाट आएपछि उनी पुस १६ मा चिकित्सकको सम्पर्कमा गएकामा पुस २८ गते भर्ना भएका थिए । माघ ९ गते उक्त भाइरस रहेको पुष्टि गरिएको थियो । पुष्टि गर्न विश्वस्वास्थ्य सङ्गठनको हङ्कङस्थित प्रयोगशालामा परीक्षण गराउनुपरेको थियो । तर अहिले नेपालका २० भन्दाबढी स्थानबाट यसको परीक्षण हुँदै आएको छ ।
त्यसपछि फागुनमा नदेखिएको सङ्क्रमण चैतमा मात्रै फेला परेको थियो । फ्रान्सबाट कतारको दोहो हुँदै नेपाल आएकी युवतीमा चैत १० मा दोस्रो कोभिड–१९ पुष्टि भएको थियो । युवती चैत ४ गते नेपाल आउनुभएको थियो । चैत १२ गते तेस्रो व्यक्तिमा देखिएको सङ्क्रमण अहिले दैनिकरुपमा बढ्दो छ ।
पहिलोपटक चीनको उहानमा सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा लागेको पुष्टि भएको थियो । त्यसपछि युरोप हुँदै अमेरिकामा फैलिएको रोग भारतपछि भने नेपालमा बढ्दो छ । सङ्क्रमणको जोखिम बढेपछि मुलुकमा चैत १० बाट हवाई उडान बन्द गरिए पनि भारतीय खुला सीमाका कारण सङ्क्रमित व्यक्ति सहजरुपमा नेपाल भित्रिँदा कोभिड–१९ सङ्क्रमण फैलिनमा सहयोग गरेको विज्ञहरु बताउछन् ।
सरकारले परीक्षणको दायरा फराकिलो बनाएकाले पनि सङ्क्रमणदरको सङ्ख्या बढोत्तरी देखिएको प्रवक्ता डा देवकोटा बताउछन । तर विगतमा भन्दा विस्तारै सङ्क्रमण फैलिनेक्रम भने बढ्दो गतिमा छ ।
२१–३० वर्ष उमेर समूहका बढी सङ्क्रमित
मन्त्रालयद्वारा सार्वजनिक शुक्रबारसम्मको अभिलेखअनुसार मुलुकका ४७ जिल्लामा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी २१–३० वर्ष उमेर समूहमा ४४९ व्यक्ति सङ्क्रमणबाट प्रभावित छन् ।
यस्तै ११–२० वर्ष उमेर समूहका २५४ तथा ३१–४० वर्ष उमेर समूहका २८७ जना सङ्क्रमित भएका पाइएको छ । दश वर्ष उमेरभन्दा कमका ३७ जना तथा ७१ वर्षमाथिका छ जना बिरामी भेटिएका छन् । असी वर्षमाथिको भने एक जना छन् । बिरामीको अस्पताल बसाइ औसत १८ दिन रहेको छ । सरकार अझै परीक्षणको दायरा बढाउँदै सङ्क्रमण रोक्न एकत्रित भएर लागेको छ ।
बन्दाबन्दी बढाउनुपर्ने आवश्यकता
सङ्क्रमणको जोखिम बढेपछि सरकारले चैत १० गते नै अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो भने चैत ११ गतेदेखि मुलुकमा बन्दाबन्दीको आदेश जारी गरिएको थियो । बन्दाबन्दी यही वैशाख २० सम्म जारी छ । अझै बन्दाबन्दी लम्ब्याउनुपर्ने आवश्यकता रहेको चिकित्सकको राय छ । बन्दाबन्दीको मोडालिटीमा परिवर्तन गर्ने विषय अहिले बहसमा उठेको छ ।
सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउने भनिसकेको छ । त्यसैले पनि अझै सावधानी अपनाउने, क्वारेन्टिन र आइसोलेसनको उचित व्यवस्थापनमा ध्यान जरुरी छ । सर्वसाधारणले पनि आफैँ सावधानी अपनाउनुपर्छ । पछिल्लो समयमा पत्रकार, सुरक्षाकर्मीदेखि स्वास्थ्यकर्मी र जनप्रतिनिधिमा समेत कोरोना सङ्क्रमण पुष्टि हुँदै आएको छ । त्यसैले अझै सरकारले सक्रियता बढाउने र सर्बसाधारणले थप सावधानी अपनाउन जरुरी रहेको नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की बताउनुहुन्छ ।
सुरक्षाको अग्रपङ्क्तिमा रहेका २० प्रहरीसहित सशस्त्र प्रहरी र नेपाली सेनाका जवानमा समेत कोभिड–१९ पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाहीले अग्रपङ्क्तिमा खटिने भएकाले मापदण्डअनुसार उच्च सुरक्षाका साथ प्रहरी परिचालन गरिएको बताए ।
यस्तो हुन्छ कोरोनाको असर
कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वाशप्रश्वाशको समस्या निम्त्याउन सक्छ । नयाँ भाइरस भएकाले खास उपचार विधि पत्ता लागिसकेको छैन । विश्वका वैज्ञानिक औषधिको खोजीमा लागिरहेका छन् । शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्वस्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले पुष्टि गरिसकेको छ ।
सन् २००२ मा चीनमा सार्स कोरोना देखिएको थियो । त्यसको पुष्टि २००३ मा डब्लुएचओले ग¥यो । त्यहाँ आठ हजार जनामा सङ्क्रमण भएकामा ७७४ को मृत्यु भएको थियो । सन् २०१२ मा साउदी अरबमा मर्स कोरोनाको सङ्क्रमण हुँदा मृत्युदर ३५ प्र्रतिशत थियो । सार्सको मृत्युदर १० प्रतिशत थियो । सन् २०१५ मा दक्षिण कोरियामा पनि देखिएको थियो । अहिलेको मृत्युदर भने तीन प्रतिशत रहेको यसअघि नै विश्वस्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको थियो ।
यसको मुख्य लक्षण भनेको ज्वरो आउनु, सास फेर्न अफ्ठ्यारो हुनु र छातीमा सङ्क्रमण हुनु हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्छ ।
यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाय अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरुको निगरानी गर्ने जस्ता उपाय अपनाउनुपर्नेमा चिकित्सकको जोड छ । नेपालले पनि यही विधि अपनाउँदै आएको छ ।
धेरै भीडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्ररी हात धुने, नियमित मास्क लगाउने, एक मिटर टाढाको सामाजिक दूरी कायम गर्दा रोगबाट बच्न सकिने मन्त्रालयका प्रवक्ता डा देवकोटा बताउछन ।
विश्व र नेपालको विवरण
विश्वभर अहिलेसम्म २१६ मुलुकमा कोभिड–१९ देखिएको छ । कूल ६० लाख ४८ हजार बढी सङ्क्रमित भेटिएका छन् । तीन लाख ६७ हजार २२८ जनाको मृत्यु भइसकेको छ । दुई लाख ६८ हजार निको भएर घर फर्किएका छन् ।
नेपालमा हालसम्म पिसिआर ६६ हजार ७२९ जनाको र एक लाख सात हजार ५५ जनाको आरडिटीबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा चार हजार बढीको परीक्षण भएको मन्त्रालयले जनाएको छ । आज मात्रै नयाँ सङ्क्रमित १८९ जना छन् । हालसम्म कूल एक हजार ४०१ पुगेकामा २१९ जना निको भएर घर फर्किएका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
देशभर गर्मी बढ्यो, काठमाडौंको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान
बैशाख १०, २०८१ सोमबार
बेगमबेली फूलले मनमोहक धोबीखोला [ फाेटाेफिचर ]
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार