एनआईसी एसिया बैंकका सञ्चालकसहितका मारवाडी जुवाडेलाई हाजिरी जमानीमा छोडियाे
Advertisement

२० जेठ, काठमाडौं । लकडाउनका बेला होटलमा जुवा खेल्ने ८ जना मारवाडी व्यवसायीलाई थुनामा राखेर थप अनुसन्धान गर्न पाँच दिनको म्याद पाएपनि प्रहरीले हाजिरी जमानीमा छाड्ने तरखर गरेको छ । प्रहरी स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा उनीहरुलाई हाजिरी जमानीमा छोड्न लागिएको हो ।

अहिले उनीहरुलाई टेकुस्थित महानगरीय प्रहरी कार्यालय काठमाडौं लगिएको छ । त्यहाँ सामान्य बयानको नाटक मञ्चन गरि सरकारी बकिलको राय बमोजिम कोरोनाको कारण देखाउँदै छोड्न लागिएको हो । कोरोना भाइरसको महामारीका कारण जघन्य बाहेकका कसुरका आरोपीलाई हिरासतमा नराख्ने सरकारको नीतिअनुसार उनीहरुलाई छाड्न सकिने महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले नेपालबहस डटकमलाई बताए । एसएसपी ज्ञवालीका अनुसार उनीहरुले केसबाट उन्मुक्ति भने पाएका होइनन् ।

मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आजै प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीका अनुसार आरोपीहरु थुनामा नबसेपनि दैनिक प्रहरी कार्यालयमा उपस्थित भएर बयान दिनेछन् । पक्राउ परेका व्यापारीमा बैंक सन्चालक र प्रतिष्ठित व्यापारीक समूहका सदस्यहरु थिए।

Advertisement

प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको थियो ।

रामचन्द्र संघाई एनआईसी एसिया बैंकका सञ्चालक हुन् । संघाईलाई गएको वर्ष नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित गरिएको थियो । उनी संघाई ग्रुपका संचालक पनि हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगी हुन । सरिया भने नामुद रक्तचन्दन तस्कर पनि हुन् । अन्यमा कोही हुण्डी तथा डलरका तस्कर समेत रहेको प्रहरी स्रोतले बताएको छ । पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् ।

अशोक अग्रवाल र विमल अउजा विशाल ग्रुपका संचालक हुन् । अशोककुमार अग्रवाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का संचालक पनि हुन । प्रहरीले दुई लाख ७७ हजार सात सय २० रुपैयाँ नगद र एक सय ७९ वटा चिप्स बरामद गरेको छ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्