लकडाउनको मोडालिटी फेर्न दवाव
Advertisement

२० जेठ, काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको सरकारले निर्विकल्प बनाएको लकडाउन विस्तारै उल्लंघन हुने स्थिति निर्माण भएसँगै यसको मोडालिटी परिवर्तन गर्ने गृहकार्य शुरु भएको छ । लामो समयदेखि बिना तयारी लकडाउन गरी अर्थतन्त्र नै धराशायी बन्ने अवस्था आएपछि उद्यमी व्यवसायीले त्यसको उल्लंघन गर्न थालेका छन् ।

आजै मात्र बौद्ध जोरपाटी र कालीमाटीका व्यापारीले लकडाउन नमान्ने भन्दै प्रदर्शन गरेका छन् । यसैबीच सरकारले उद्योगी व्यापारीलाई जेठको २५ गतेभित्र कर बुझाउन ताकेता गरेपछि परिस्थिति अझै बिग्रिएको छ । उद्योगी व्यावसायीले व्यवसाय गर्न नदिने सरकारले कर तिर्न तोकता गर्नु गलत भएको टिप्पणी गरेका छन् ।

अवस्था नियन्त्रण बाहिर नजाओस् भनेर सरकारले आजैबाट बिकल्प सोच्न थालेको छ । यस प्रयोजनका लागि आज कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले निजी क्षेत्रसँग छलफल गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उक्त समितिले आज निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ, चेम्बर अफ कमर्श लगायतका संस्थाका प्रतिनिधिसँग छलफल गरेको छ ।

Advertisement

छलफलमा सहभागी पेशागत संघ संगठनका प्रतिनिधिहरुले अब लकडाउनको मोडालिटी परिवर्तन नगरे बिद्रोह हुनसक्ने चेतावनी दिएका छन् । कोरोनाभन्दा भोकमरीले मानिसको ज्यान जान थालिसकेको प्रसंग सहभागीले उठाए । अब लकडाउन खुकुलो बनाएर क्षेत्रगत रुपमा अर्थतन्त्र चलायमान बनाइनुपर्नेमा सबैले जोड दिए ।

भmण्डै अढाई महिनादेखि निरन्तर जारी गरिएको लकडाउनबाट न त संक्रमित संख्या घट्यो, न अर्थतन्त्र नै चलबलायो – अधिकांशको गुनासो यस्तै थियो । छलफलमा सहभागी हुनेमा उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ,यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलालगायत रहेका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्