के नेपाल चीनको कठपुतली नै हो ?
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार १७:२३:२
७ असार, काठमाडाैं । २०७७ को जेठ ७ गते, नेपाली इतिहासमा नयाँ अध्याय थपिएको थियो । केपी ओली नेतृत्वको सरकारले पश्चिम नेपालको ठूलो भूभाग समेटेर नेपालको नयाँ नक्शा जारी गरेको दिन थियो । लामो समयदेखि भारतले कब्जा गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई समेटेर जारी गरिएको नक्शा नेपाली जनताको गर्व र गौरवको कुरा थियो । यसका लागि राष्ट्रिय सहमति पनि बन्यो । सोही बमोजिम संविधान संशोधनसमेत गरियो ।
संविधान संशोधन गरेपछि भारतले मिचेको जमिन हाम्रो स्वामित्वमा आएको हो त ? अहिले यो प्रश्न जटिल बनेको छ । कागजमा आएको जमिन भोग नगरेसम्म त्यसको कुनै अर्थ रहँदैन । त्यस प्रयोजनका लगि भने कुनै प्रयत्न भएको देखिंदैन । नक्शा जारी गरेर ओली सरकार मस्त निदाएको प्रतीत हुन्छ । यथार्थ भने अहिले पनि कालापानीमा भारतीय सेनाको परेड जारी छ । न त भारतीय पक्षसँग कुनै वार्ता छ, न पहल नै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गर्न सकिने राजनीतिक सम्वाद समेत भएको छैन । सञ्चो बिसञ्चोसमेत खोजखबर गर्ने मोदी र ओलीको टेलिफोन सम्बाद यो प्रकरणमा भने बिथोलिएको छ ।
उता, भारत र चीनबीच लद्याखमा भिषण युद्ध चर्किएको छ । भारतीय पक्षका कर्णेलसहित २० जना सेनाको हताहती भएको खबर सार्वजनिक भइसकेको छ । दुबै छिमेकीबीच तनाव बढेको अवस्था छ । भारतीय पक्षले नेपालले नयाँ नक्शा जारी गर्नुका पछाडि चीनको हात परोक्ष रुपमा रहेको दावी गरिरहेको छ । चीनको उक्साहटमा नेपालले नक्शा जारी गरेको आरोप लगाएकै बेला सत्ताधारी नेकपाको भूमिका सन्देहको घेरामा परेको छ । यही बेला नेकपा भने चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध सुधार गर्न कस्सिएको छ ।
अस्ति मात्रै चिनियाँ कम्युनिष्ट पार्टीसँग भर्चुअल मिटिङ गरियो । त्यो पनि स्कूल विभागमार्फत । तर यो मामलामा चीनले परिस्थिति बुझेर नयाँ रणनीतिक मोडालिटी बनायो । भारत सबै छिमेकीसँग सत्रुवत व्यवहार राख्छ भन्ने देखाउन उसले यही बेला नेपालसँग आपसी सम्बन्ध मजबूत रहेको सन्देश दिन खोज्यो । जसले गर्दा नेपाल र भारतबीचको सम्बन्ध अझै चिसिन पुगेको छ ।
स्वभाविक छ, हिजो फाइदाका लागि चीनले नै भारतसँग लिपुलेकबाट मानसरोबरका लागि व्यापारिक नाका खोल्ने सहमति गरेकै हो । आज भारतसँग शत्रुता बढेको बेला फेरि नेपालकै काँधमा बन्दूक राखेर पड्काउने प्रयास भइरहेको छ । यसबाट ओली सरकारको असली रुपसमेत उदांगो भएको छ । ओलीमाथि लाग्ने गरेको आरोप पुष्टी गर्ने काम पछिल्लो गतिविधिले गरिदिएको छ । नक्शा मात्रै जारी गर्ने तर भूमि फिर्ता लिन कुनै पहल नगर्ने ओलीको चाल हो भन्ने कतिपयको आरोप अहिले आएर प्रमाणित हुन लागेको छ ।
साँच्चै गुमेको भूमि फिर्ता लिने हो भने चीनको कठपुतली बनेर पक्कै सकिन्न । भारतसँगै सम्बाद वा युद्ध गर्न सक्नुपर्छ । न की सौताको रिस पोख्न पोइको …. भन्ने नेपाली उखान चरितार्थ गरेर हुन्छ । अहिले त नेपालले कुटनीतिक परिपक्वता देखाउने बेला थियो । सारा नेपालीको एकमत भएका बेला भारतसँग सम्बाद बढाएरै भूमि फिर्ता लिन अग्रसर हुनुपर्ने हो । तर ओली सरकारको अपरिपक्वताले गर्दा नेपालले ठूलै मूल्य चुकाउनुपर्ने अवस्था निर्माण भएको छ । भारतले लगाएकै आरोप सिद्ध हुनेगरी अहिले चीनसँग निकटता दर्शाउने काम भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीले नेपालमार्फत भारतलाई सन्देश दिन खोज्यो । त्यसैको परिणाम थियो – हिजोको अन्तर्पार्टी बैठक । परराष्ट्र मन्त्रालयमार्फत वा नेकपाको विदेश विभागमार्फत बैठक गर्दा गलत सन्देश जाने बुझेरै यस्तो खाले निर्णयमा पुगिएको धेरै नेताहरुको भनाई छ । नेकपाका नेताहरुको यस्तो केटाकेटी व्यवहारले हाम्रो गुमेको भूमि फिर्ता हुनेमा आशंका उब्जिएको छ ।
यस्तो गम्भिर विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने रहष्यमय ढंगले मौन छ । ओली सरकार व्यवहारमा गुमेको भूमि ल्याउन तयार नभएको प्रमाणित भइसकेको यो अवस्थामा समेत कांग्रेस चुइँक्क नबोल्नु विचित्रको स्थिति हो । ओली सरकारले देखाएको यो व्यवहारले नेपाल साँच्चै नै चीनको कठपुतली बन्न खोजेको स्पष्ट भएको छ । प्रतिपक्षीहरुसमेत मौन बस्दा कतै समुचा देशकै भ्याइस त्यही त होइन भन्ने आशंकासमेत जन्माइदिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार