लकडाउनले गर्भवती महिला बढी जोखिममा
नेपालबहस संवाददाता
असार ८, २०७७ सोमबार १२:४४:५१
८ असार, काठमाडौं । सरकारले लागु गरेको लकडाउनका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पतालहरू कोरोना उपचार केन्द्रमा परिणत भएपछि गर्भवती तथा सुत्केरी महिला बढी जोखिममा परेका छन् । जोर बिजोरमा सवारी चल्ने र त्यो पनि निजी मात्रै चल्ने हुँदा अस्पताल जान र आउन समस्या त छँदैछ, अस्पतालमा कोरोना सङ्क्रमितसँग जम्काभेट हुने भयले उनीहरू बढी चिन्तित हुने गरेका छन् ।
त्यसो त केही स्थानीय तहले गर्भवती तथा सुत्केरीलाई उच्च प्राथमिकतामा राखेको पनि पाइएको छ । केही स्थानीय तहले त नगददेखि घिउचाकुसम्म दिँदै आएका छन् । तर यस महामारीमा सुत्केरी तथा गर्भवतीलाई छुट्टै व्यवस्था नगर्दा जोखिम बढेको छ । स्थानीय तहले राहतमा प्राथमिकता र आवश्यक पर्दा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउँदै आए पनि छुट्टै व्यवस्था नगरेको पाइएको छ ।
कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाउन र बन्दाबन्दीको समयमा राहत, क्वारेन्टाइन र कोरोना परीक्षणमै स्थानीय तहलगायत राज्यको ध्यान केन्द्रित हुँदा धेरै गर्भवती तथा सुत्केरीको स्वास्थ्य जोखिममा परेको छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले गर्भवती तथा सुत्केरीका लागि नै भनेर छुट्टै व्यवस्थापन भने नगरेको बताए ।
उनले गर्भवती, सुत्केरी एवं मिर्गौलाका बिरामीका लागि एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरेको सुनाए । शिक्षण अस्पतालमा सुत्केरी भई बच्चाको निधन भएपछि खर्चको अभावमा अलपत्र परेकी एक सुत्केरीको उपप्रमुख खड्गीले अस्पतालको शुल्क र घर जाने खर्चको व्यवस्था गरिदिए । गर्भवती तथा सुत्केरीलाई लक्षित गरी छुट्टै कार्यक्रम नहुँदा न्यून आय भएका गर्भवती तथा सुत्केरीले भोकभोकै बस्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ ।
बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले सबै खालका गर्भवती एवं सुत्केरीका लागि प्रतिव्यक्ति दुई हजार रुपियाँ प्रदान गर्ने गरेको जानकारी दिए । त्यसैगरी तारकेश्वर नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले सम्भावित कोरोना सङ्क्रमित, गर्भवती, सुत्केरी र अन्य आकस्मिक सेवा आवश्यक पर्नेलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ भने
टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सुत्केरी एवं गर्भवतीका लागि अन्य राहतका साथै घिउचाकु पनि थप गरेर दिइएको बताए । सुत्केरी अवस्थामा घिउ र चाकु खाने नेवार परम्परा अनुसार उनीहरूलाई राहतमा ती खाद्यपदार्थ पनि थप गरेर बाँडिएको छ ।
गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारीका अनुसार सबै सुत्केरी गर्भवतीका लागि राहत सामग्रीका साथै प्रतिव्यक्ति एक किलो चना र एक क्रेट अन्डा थप प्रदान गरिएको छ । महिला विकास र कानुन मञ्चका अध्यक्ष मीरा ढुङ्गानाको विचारमा गर्भवती एवं सुत्केरी महिलाका लागि महामारी एवं विपद्को समयमा विशेष व्यवस्था गरिनुपर्छ । सरकारले कोभिड–१९ को अवधिमा सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका–२०७६ ल्याएको छ ।
स्वास्थ्य सेवा विभागको परिवार महाशाखा अन्तर्गत मातृ तथा नवशिशु शाखा प्रमुख डा. पुण्य पौडेलले चैत ११ गतेदेखि अहिलेसम्म ४० जना सुत्केरीको निधन भएको सूचना दिए । राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ प्रमुख अञ्जु ढुङ्गानाका अनुसार बन्दाबन्दीमा देशभरबाट १७ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको जानकारी दिए ।
छुट्टै क्वारेन्टाइन होस्
यसैबीच महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ७५३ वटै स्थानीय तहमा महिलाका लागि सुरक्षित क्वारेन्टाइनको व्यवस्थापन गर्न परिपत्र गरेको छ । मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पुरुष र महिलाका लागि छुट्टै क्वारेन्टाइन बनाउन परिपत्र गरेको हो ।
क्वारेन्टाइनमा बस्दा महिलामाथि बलात्कार भएको, महिलाका लागि आवश्यक सामान्य सेवा सुविधा पनि नपाएको समाचार आएपछि मन्त्रालयले सो परिपत्र गरेको हो । गोरखापत्र दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार