बर्खे धान रोपाइँको चटारोमा किसान
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार १२:४१:३९
◊ सिद्धराज भट्ट
१० असार, धनगढी । मनसुनी वर्षा भएसँगै कैलाली, कञ्चनपुरलगायतका जिल्लाका किसानलाई बर्खे धान बालीको रोपाइँ गर्ने चटारो बढेको छ । आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतका रूपमा बर्खे धानखेती रहेकाले कोरोना भाइरसको त्रासका बीच धान रोपाइँ गर्ने चटारो बढेको स्थानीय परशुराम चौधरीले बताएका छन् ।
“जताततै कोरोनाको सन्त्रास छ, तर अहिले खेती नगरे भोलि कसरी जीविका चलाउने भन्ने समस्या आउने भएकाले सामाजिक दूरी कायम गरेर भए पनि खेतीमा लागेका छौँ”, कैलालीको लम्कीचुहा नगरपालिकाका कृषक चौधरीले भने ।कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान व्यापारीलाई बिक्री गरेर घर खर्चको जोहो गर्ने गरेका छन् । धान रोपाइँ गर्ने, काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग पनि पछिल्ला वर्षमा बढ्दै गएको छ ।
यी औजारको प्रयोगसँगै समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्ने हुँदा रोपाइँ गर्न सहज भएको धनगढी उपमहानगरपालिकाका किसान श्याम रानाले बताए । “खेती गर्न र कृषि उपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर आधुनिक मेसिनको प्रयोग बढ्दा निकै सहज भएको छ”, रानाले भने, “समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।”
वर्षाको पानीले रोपाइँ गरौँला भन्ने आसमा बस्नुपर्ने अवस्थामा रहेका तराईका कृषक दुई दिनयता मनसुनी वर्षा भएपछि हौसिएका छन् । तराईका अधिकांश कृषक सिँचाइको भरपर्दो सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका छन् । प्रदेशका पहाडी क्षेत्रका जिल्लामा भने जेठ महिनादेखि नै रोपाइँ शुरु भएको थियो ।
पहाडी जिल्लाका गाउँबस्तीमा छरछिमेकीले आपसमा मिलेर पालैपालो रोपाइँ गर्नुपर्ने पर्मको प्रचलन छ । पर्मको प्रचलनले रोपाइँ गर्दा सम्बन्धित कृषकलाई नगद खर्च गर्नुपर्ने बाध्यता त्यति नहुने बताइन्छ । तराईका जिल्लामा यस्तो प्रचलन भने त्यति ठूलोरूपमा देखिँदैन । अधिकांशले मजदुर लगाएर रोपाइँ गर्नुपर्ने अवस्था छ ।
पहाडी जिल्लामा रोपाइँ गर्नुपर्ने घरमुलीले आफ्नो रोपाइँको दिन सहभागी हुने रोपाहारका लागि लाउन, बाबर, माणालगायतका डोटेली खानाका परिकार पकाएर खाना र खाजाको व्यवस्था गर्ने गर्दछन् । रोपाइँ गर्ने गोरुका लागि भने जौँ पिँधेर बनाइएको पिठोको बाडी र ढुल्ला बनाएर खुवाउने चलन छ ।
सुदूरपश्चिम प्रदेशको कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४५० हेक्टरमा धानखेती हुने गरेको छ । यस्तै डोटीमा १० हजार ६७०, डडेलधुरामा छ हजार १३६, अछाममा १६ हजार ५८०, बाजुरामा तीन हजार ३१०, दार्चुलामा चार हजार ४८०, बैतडीमा नौ हजार र बझाङमा सात हजार ११० हेक्टरमा धानखेती हुने गरेको तथ्याङ्क छ । धान उत्पादन बढी हुने कैलाली र कञ्चनपुरबाट पहाडी जिल्लामा आपूर्ति हुने गरेको छ ।
यो प्रदेशमा धानखेती गरिने जग्गामध्ये ५१ प्रतिशत खेतमा सिँचाइ सुविधा भए पनि बाँकी जग्गामा सिँचाइको पर्याप्त सुविधा छैन । यस वर्ष मनसुन जुन १२ देखि प्रवेश गरे पनि पछिल्लो २४ घण्टादेखि सक्रिय भएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालय कैलालीले जनाएको छ । कार्यालयका प्रमुख सिङ्गल चौधरीले प्रदेशमा जुन १२ मा मनसुन प्रवेश गरेको भए पनि २४ घण्टादेखि मात्र सक्रिय भएको बताए । मनसुन सक्रिय भएसँगै गएको २४ घण्टामा यहाँ ८३ दशमलव चार मिमी वर्षाको मापन भएको छ ।
सर्जू धानमा आकर्षण
कैलाली र कञ्चनपुर जिल्लामा सर्जू जातको धानखेतीतर्फ कृषकको आकर्षण बढ्दो देखिएको छ । अधिकांश कृषकले सर्जू धानको ब्याड राखेर रोपाइँ गर्ने गरेका छन् । कैलाली र कञ्चनपुर जिल्लामा धानखेती गरिने जग्गामध्ये झण्डै ८० प्रतिशत क्षेत्रफलको जग्गामा सर्जू धानको खेती गर्ने गरिएको कृषकको भनाइ छ ।
अन्य धान बालीको तुलनामा उत्पादकत्व बढी हुने र दाना पनि पुष्ट हुने भई वजन पनि बढी हुने भएकाले सर्जू धानखेती गर्ने गरिएको कृषकको भनाइ छ । किसानलाई यो धानको उन्नत बीउ पाउन भने समस्या हुने गरेको छ । रोपाइँका लागि बीउ राख्ने समयमा बर्सेनि यो धानको बीउको माग ह्वात्तै बढ्ने गरेको छ ।
निजी क्षेत्रका कतिपय बीउ उत्पादक कम्पनीले यो धानको बीउ उत्पादन गरी कारोवार गर्दै आएका छन् । सर्जू धान किसानमाझ लोकप्रिय हुँदा यसको बीउको पनि ठूलो माग रहेको बीउ उत्पादक कम्पनीका विष्णुराज बुर्लाकोटीले बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार