कच्चा तेल सस्तो हुँदा ठूलो परिमाणमा सञ्चय गर्दै चीन
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार १४:१६:५८
२१ असार, काठमाडौं । महाव्याधि र तेलको मूल्य युद्धबाट विश्वमा कच्चा तेलको मूल्य ओर्लिएर कौडीको भाउमा पुग्दा चीनले ठूलो परिमाणमा तेल खरिद गरेर भण्डारण गरिरहेको छ । समुद्रीमार्गमा कच्चा तेल बोकेका तेलका ट्यांकरहरू ठूलो संख्यामा निस्किँदा ट्राफिक जामको अवस्था सिर्जना भएको छ । तेल खन्याउन ‘अफलोड’ पानीजहाजहरू समुद्रमा पर्खिएर बस्न थालेका छन् ।
‘क्लिपरडाटा’ले जुन २९ मा चीनको उत्तरी तटमा तेल बोकेका ५९ वटा पानीजहाज तेल खन्याउने लाइनमा खडा देखिएको जनाएको छ । ती ट्यांकरले कम्तीमा ७ करोड ३० लाख ब्यारेल कच्चा तेल बोकेका छन् । जुन परिमाण सामान्य अवस्थामा विश्वव्यापी मागको तीन चौथाईबराबर हो । क्लिपरडाटाले पानीजहाजबाट हुने कच्चा तेलको ओसारपसारको निगरानी गरेर विश्वव्यापी रियल टाइम डाटाबेस उपलब्ध गराउने गर्छ । चीन अमेरिकापछि तेलको दोस्रो ठूलो उपभोक्ता हो ।
लकडाउनअघि कच्चा तेलको माग सामान्य रहेको समयमा कच्चा तेलको दैनिक विश्वव्यापी माग करिब १० करोड ब्यारेल थियो । चीनले यो तेल मूल्य ज्यादै सस्तिएको मार्च र अप्रिलको महिनामा खरिद गरेको बिबिसीले लेखेको छ । गत अप्रिल २० मा अमेरिकी कच्चा तेलको मूल्य शून्यबाट तल ओर्लिएर ४० डलर प्रतिब्यारेलले ऋणात्मक बनेको थियो । अहिले त्यसै समयमा किनेको तेलको आपूर्तिमा यति धेरै ट्यांकरहरूको लाम लागेको हो । कुनै पनि ट्यांकरले तेल खन्याउन कम्तीमा एक साता पर्खिनुपरिरहेको क्लिपरडाटाको तथ्यांकले देखाउँछ ।
मे महिनायता चीनमा तेल ओसार्ने पानीजहाजको संख्यामा चार गुणाले बढेको छ । तर, कोरोना भाइरस संक्रमणको महामारीबाट चीन बढी आक्रान्त भएको जनवरीदेखि मार्च महिनाको औसतलाई हेर्ने हो भने यो सात गुणा बढी हो । चीनको कच्चा तेलको यो अन्धाधुन्ध भण्डारणलाई तेलको विश्वव्यापी बजार बढेर मूल्य अकासिएका बखत आफ्नो बार्गेनिङ क्षमता बढाउने चालबाजीका रूपमा हेरिएको छ ।
कच्चा तेलको मूल्य प्रतिब्यारेल ४० डलरले ऋणात्मक भएको सात हप्तामै उक्सिएर मूल्य प्रतिब्यारेल ४० डलरले धनात्मक हुनुमा चीनको आक्रामक खरिद, ओपेक र रसियाको अभूतपूर्व आपूर्ति कटौती र लकडाउन खुकुलो भएसँगै मागमा भएको वृद्धिलाई मानिएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन विदेशी कच्चा तेलप्रति बढी नै निर्भर छ । त्यसैले, मूल्य सस्तो भएको समयमा ठूलो परिमाणमा कच्चा तेल किनेर थुपार्नु उसका लागि रणनीतिक रूपले पनि अर्थपूर्ण छ ।
क्लिपरडाटाका अनुसार अहिले चीनमा आइरहेको कच्चा तेलको ठूलो परिमाण ब्राजिलबाट आइरहेको छ । ब्राजिलबाट चीनमा पानीजहाजबाट कच्चा तेल आइपुग्न डेढ महिना लाग्छ । त्यसैगरी, चीनले इरान, साउदी अरेबिया र नाइजेरियाबाट समेत तेल खरिद गरेको छ ।
‘यदि तपाईं इन्धनको ठूलो उपभोक्ता हुनुहुन्छ भने तपाईं अहिले दुवै हातले तेल किन्दै हुनुहुन्छ,’ रोबो बैंकका ऊर्जा रणनीतिज्ञ रायन फिट्जमउरिस भन्छन् । अन्य मुलुकहरूले पनि कच्चा तेलको खरिद बढाएकै छन् । तर, सस्तो तेल खरिद गर्न चीनले जस्तो मरिहत्ते भने गरिरहेका छैनन् । जसबाट चीनले पर्याप्त लाभ लिनेछ । चीनको आक्रामक खरिदकै कारण माइनस ४० डलर पुगेको कच्चा तेलको मूल्यमा ८० डलरको वृद्धि आएको छ । यसबाट तेल उत्खननकर्ता र ओसारपसार गर्ने ट्यांकरहरू पनि लाभान्वित भएका छन् । नयाँपत्रिका
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार