राष्ट्रको हित, उन्नति र योग्य व्यक्ति !
नेपालबहस संवाददाता
असार २९, २०७७ मंगलबार ०:८:१३
काठमाडौं । देश नबन्नुमा विभिन्न कारण हुन सक्छन । केही कारण आन्तरिक त केही कारण बाह्य । तर धेरै जसो देश सही तरिकाले विकास नहुनुमा सही ठाउँमा सही मान्छे नहुनु जिम्मेवार मानिन्छ । नेपाली राजनीतिमा पनि राम्रालाई भन्दा हाम्रालाई उच्च पदमा नियुक्ती दिने प्रचलन छ । नेपाल मात्रै होइन, अरु देश पनि सही र क्षमतावान मान्छे नेतृत्वमा आएपछि विकास गरेका हुन । समसामयिक विषयमाथि पूर्व शिक्षक तथा अन्तराष्ट्रिय राजनीतिमा चाँसो राख्ने केशबकुमार भट्टराईले कारणसहित आफ्नो विचार राखेका छन :
राष्ट्रको हित, उन्नति र योग्य व्यक्तिलाई योग्य स्थान
१. पृथ्वी नारायण शाह, बहादुर शाहको सफलताको पछाडि उनीहरूले योग्य भन्दा योग्य व्यक्तिहरूलाई राजकाज र सेनामा नियुक्ति गर्नु र उनीहरूलाई निरन्तर सम्मान, स्नेह र विश्वास गरिरहन सक्नु थियो I
पछाडिका ले त्यसो गरेनन्, चाकडीदारलाई मात्र काखी च्यापे परिणाम इतिहासले देखाएको, भोगाएको छ I
*****
२. सात सालमा प्रजातन्त्र आएपछिको संयुक्त मन्त्री परिषदका गृहमन्त्री तथा नेपाली काङ्ग्रेसको तर्फबाट सरकारका नेता थिए – विश्वेश्वर प्रसाद कोइराला I
आधुनिक राज्य संचालनको जग हाल्ने जिम्मेवारी उनकै थियो I
आधुनिक राज्य प्रणालीको आधार शिला न्याय हो भन्ने बुझेका उनले सर्वोच्च अदालत ( (तत्कालिन प्रधान न्यायालय)को प्रधान न्यायाधिश हुनका लागि नेपाली मूलका तर दार्जिलिङ्मा वकालत गरिरहेका हरिप्रसाद प्रधानलाई अनुनय विनय गरेर ल्याए I
उनै हरि प्रसाद प्रधानले नेपालको आधुनिक न्याय प्रणालीको जग हाले, वकालती बहस प्रणाली आरम्भ गराए I
उनले स्थापना गराएको स्वतन्त्र न्यायालय र न्यायिक सर्वोच्चताको सिद्धान्तलाई राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रहरूले पनि हस्तक्षेप गरेनन् I
*****
३ . पण्डितशिरोमणि सोमनाथ सिग्ध्याल सेवा निवृत्त हुनुभयो I नेपाल राजकीय संस्कृत महा विद्यालय ( हाल वाल्मिकी क्याम्पस )को प्रधानाचार्यको पद रिक्त भयो I
राजा महेन्द्र उक्त पदमा सिग्ध्याल जस्तै महापण्डितलाई नियुक्त गर्न चाहन्थे I
उपयुक्त पात्रको खोजीको क्रममा बनारसका विद्वद समुदायमा अत्यन्त सम्मानपूर्वक नाऊ लिइने पद्मप्रसाद भट्टराईको नाऊ उनलाई कसैले दिए I
राजा महेन्द्रले उनलाई झिकाए र नेपाल राजकीय संस्कृत महा विद्यालयको प्रधानाचार्य भइदिन अनुरोध गरे I
पण्डितराजले आफ्नो उमेर सेवा निवृत्तिको उमेर नजिकै रहेकोले सो पदका लागि इच्छा जाहेर गरेनन्,
राजाले उनलाई आजीवन सो पदमा रहने व्यवस्था सहित प्रधानाचार्य नियुक्त गरे I
*****
४ . लेनसिंह वाङ्देल पनि दार्जिलिङ्का नेपाली थिए I राजा महेन्द्रले दार्जिलिङ्बाट बोलाए I
प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बनाए पछि उपकुलपति पनि बनाइए I नेपालका कतिपय प्राचीन मूर्तिहरू चोरी भएर युरोप र अमेरिका पुगेका थिए I
त्यहाँका विभिन्न संग्रहालयका शोभा बनेर बसेका थिए I
साहित्यमा अनेकौँ कालजयी कृतिहरूका रचयिता उनै वाङ्देलले लेखेको नेपालका प्राचीन मूर्तिहरूको चोरी सम्वन्धी विश्व विख्यात पुस्तक ( स्टोलन इमेजेज अफ नेपाल )मा ती मूर्तिहरूबारे उल्लेख भएकाले त्यसैलाई आधार बनाएर नेपालले ती मूर्तिहरू आफ्नो भएको दावी गर्यो I
वाङ्देलको उक्त पुस्तकलाई नै प्रमाण स्वीकार गरेर ती मुलुकका सरकारको पहलमा त्यस्ता केही मूर्तिहरू नेपाल फिर्ता भए I
राजा महेन्द्रले राजनीति, प्रशासन र कूटनीतिक क्षेत्रमा मुलुकमा भएसम्मका योग्यतम व्यक्तिहरूलाई उच्च र महत्वपूर्ण जिम्मेवारी प्रदान गरे I
त्यस्तो जिम्मेवारी दिँदा हिजो कुनै व्यक्ति कुन राजनीतिक पृष्ठभूमिका थिए भनेर हेरेनन् – योग्यता र क्षमता मात्रै हेरे I
त्यसैले १० वर्षकै अवधिमा उनी धेरै महत्वपूर्ण कार्य गर्न सफल भएका थिए I
*****
५ . गिरिजा प्रसादले डा. रामशरण महत र महेश आचार्य जस्ता देश र विदेशको अर्थतन्त्र बुझेका मानिसलाई उचित जिम्मेवारी दिन सकेकैले उनको पहिलो कार्यकाल आर्थिक विकासको दृष्टिले असाधारण रूपमा उपलव्धिमूलक रहेको थियो I
प्रधान मन्त्री ओलीको यो कार्यकालमा ( कोरोना पूर्व) मुलुकलाई प्राप्त उपलव्धिमा अर्थ मन्त्री डा. युवराज खतिवडाको विशिष्ट योगदान रहेको छ I
उनको दलका राजनीतिक व्यापारीहरू, ठेकदारहरू र सांसदहरूका अराजक र अर्थतन्त्रको हित विपरितका कतिपय गलत मागहरूलाई पन्छाउन नसके पनि उनले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा लैजाने भरमग्दुर प्रयत्न गरेका छन् र त्यसको उपलव्धि मुलुकले पाएको छ I
*****
६ . प्रदिप नेपाल संचार राम्रो बुझेका मानिस थिए, तर पछि आएर उनलाई शिक्षा मन्त्री बनाइयो I
एन पी सावद गतिलो शिक्षा मन्त्री हुन सक्थे तर सिंचाई मन्त्री बने I
त्यसैले परिणाम दिन सकेनन् I
पार्टी स्कूल विभाग वा संचार मन्त्रालय उपयुक्त हुने घनश्याम भुसाललाई कृषि मन्त्री बनाइयो ,अरू कुरा छोडौँ धानबालीलाई चाहिने मल खाद गहुँ बालीको समयमा पनि आइपुग्छ -आइपुग्दैन थाहा छैन I
असारमा मल चाहिन्छ भन्ने कुरा सम्म थाहा नहुने कृषि मन्त्रीले फलाकेका कुरा सुनेर बस्ने वाध्यतामा छन् नेपाली I
खेलकुद मन्त्री बनाइनु पर्ने योगेश भट्टराई पर्यटन अनि परिणाम ??? कृषि मन्त्रीको जस्तै I
गफ मिलाएर गर्न जाने नेपाली राजनीतिलाई पुगीगो !
*****
७ . गोकर्ण बिष्ट र जनार्दन शर्मा प्रभाकरले जलश्रोत मन्त्रीकोरूपमा सवैको सम्मान र विश्वास आर्जन गरेका थिए तर त्यस पछि उनीहरूलाई त्यहाँ ढिम्किन पनि दिइएन ,
राम्रो काम गरेको दण्ड पाए जस्तै भयो उनीहरूको हकमा I
*****
८ . माओवादीले जनवादी शिक्षा चाहिन्छ भनेर अनेकौं स्कुल, कलेजहरूमा आक्रमण गरे ।
शिक्षकहरू मारिए, पुस्तकहरू जलाइए, विश्वविद्यालयसम्ममा आगो लगाएर ज्ञानका महाभन्डार अनेकौं दुर्लभ ग्रन्थहरू समेत खरानी बनाइए ।
तर, जब देशमा प्रचण्ड र बाबुरामको नेतृत्वको सरकार आयो I
जनवादी शिक्षा कस्तो होला देखिएला त नी भनेको त शिक्षा मन्त्री उनीहरूको दलका बनेनन् – गृह, अर्थ, स्थानीय विकास , निर्माण-यातायात, पूर्वाधार , जल श्रोतमै उनीहरूको लडाई देखियो I
अहिले पनि शिक्षा मन्त्री पूर्व माओवादी छैनन् , पूर्व माओवादी भित्रका पूर्व एकता केन्द्रका छन् I
नारा घोकेर दल र संसदमा हुलिएकाहरूबाट काम गर्न पाइरहेका छैनन्, त्यसैले काम गर्न सकिरहेका पनि छैनन् I
*****
९ . आजको युगमा सवै मन्त्री पदहरू र खास गरेर अर्थमन्त्री र परराष्ट्र मन्त्री अत्यन्त ठूलो विज्ञता माग्ने पद हो I
सवैजसो मुलुकमा अर्थतन्त्र र परराष्ट्र मामिलामा देश विदेशमा धेर थोर चिनिएका, उक्त क्षेत्रमा कलम चलाएका, राष्ट्रिय अन्तर्राष्ट्रिय नीति बहशमा जोडिएका मानिस त्यो पदमा लगिन्छन !
आजको युगमा सवै जसो मन्त्रालयका सचिवहरू आफ्नो मन्त्रालय सम्वन्धी विषयमा प्रकाण्ड विज्ञ हुन्छन् , हामी कहाँ परराष्ट्र मन्त्रालयमा पनि जुन सुकै मन्त्रालयबाट सचिव बनाएर लगिने नीति अघि बढेको केही अघि पढिएको हो I
*****
१० . मुलुकको शान्ति, स्थिरता र उन्नतिको पहिलो आधार भनेको ‘योग्यम योग्याय योजयेत’ को नीति हो ।
त्यसको प्रारम्भ योग्य र मुलुकप्रति इमानदार मन्त्री, सचिव, संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिबाट प्रारम्भ हुन्छ ।
त्यसले मात्र देश र विदेशमा सरकारका पक्षमा विश्वासको वातावरण निर्माण गर्दछ ।
त्यही विश्वासको बलमा टेकेर देश उठ्छ र गतिमान बन्दछ ।
खासगरी ०६२/६३ पछाडिका सबै सरकारले नेपालको राज्य सञ्चालनको सवालमा योग्यता, क्षमता, मुलुकप्रतिको निष्ठा र जनताप्रतिको दायित्वको उछितो काढेका छन् I
*****
विश्वका केही उदाहरण हेरौँ –
११ . बेलायतको उपनिवेश रहेको र चरम भ्रष्टाचारले थिल्थिल्याएको र औपनिवेशिक शासनबाट मुक्तिपछि गरिबी, जातीय द्वन्द्व र वामपन्थी अतिवादले ग्रस्त सिंगापुर मलेसियाइ संघबाट निस्कासित भयो ।
त्यसपछि सिंगापुरले आफूलाई अगस्त १९६५ (२०२२ साल) मा स्वतन्त्र घोषणा गर्यो तर मुलुकको स्वतन्त्रताको घोषणा गर्दा कुनै प्राकृतिक साधन र स्रोत नभएको यति सानो र गरिव मुलुक कसरी बाँच्ने होला भनेर ली झन्डै रोएका थिए ।
तर, लीले मुलुकलाई उपलब्ध भएमध्येका योग्य व्यक्तिलाई मन्त्रीमा चयन गरेर कार्य प्रारम्भ गरे ।
एक चोटी उनले नियुक्त गरेका १६ जना मन्त्रीमा १४ जना पीएचडी वा सरह र दुई जना मास्टर डिग्रीका थिए I
त्यो उनको सरकारको चरित्र नै बनेको थियो I
*****
१२ . योग्य भन्दा पनि योग्य व्यक्तिहरू समावेश, स्वच्छ, सक्षम र भ्रष्टाचाररहित र विधिको शासनले मात्र स्वतन्त्र सिंगापुरको जीवन र समृद्धि सम्भव छ भन्ने उनको बुझाइ थियो ।
सरकारको राजनीतिक र प्रशासनिक नेतृत्वप्रति जनता र विदेशी लगानीकर्ताको विश्वास नजगाई राष्ट्र उठ्दैन भन्ने उनले राम्ररी बुझेका थिए ।
त्यसैको परिणाम एउटा सम्भावना शून्य सानो नगर राज्यका नेताले चीनका देंग सियाओ पिङदेखि चतुर अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरसम्मलाई राष्ट्रिय विकास र अन्तर्राष्ट्रिय मामिलामा परामर्श दिने हैसियत बनाए
*****
१३ . इजरायल छिमेकी हरूबाट त्यति बिघ्न चुनौती हरू सामना गरेको गर्यै छ तर हरेक अर्को दिन उसले आफ्नो राष्ट्रिय क्षमता थपिरहेको छ किन कि उसलाई योग्य व्यक्तिहरूलाई योग्य स्थानमा कसरी लैजानु पर्छ भन्ने थाहा छ I
जापान र कोरियाले छोटै अवधिमा गरेको प्रगतिको रहस्य पनि त्यही हो I
*****
१४ .
मे १९९१ मा राजीव गान्धीको हत्यापछि पीभी नरसिंह राव अप्रत्यासित रूपमा भारतका प्रधानमन्त्री भए ।
पछिल्लो १८ महिनामा उनी तेस्रो प्रधानमन्त्री थिए ।
तर, प्रधानमन्त्री पदको शपथ लिनुभन्दा केही घन्टाअघि मात्र भारत सरकारका मुख्य सचिव आएर सरकारसँग मुस्किलले एक साताका लागि मात्र आयात धान्ने विदेशी मुद्राको सञ्चिति भएको बताए ।
संसारको सबैभन्दा ठूलो प्रजातन्त्रको प्रस्तावित प्रमुख पदाधिकारीलाई मुलुकका प्रमुख प्रशासनिक अधिकारी नरेश चन्द्राले भारत झन्डै टाट पल्टिसकेको अवस्थामा रहेको जानकारी दिए ।
*****
१५ . राव गहन परामर्शमा लागिहाले ।
एकजना नामुद र अनुभवि अर्थशास्त्री आईजी पटेललाई अर्थमन्त्रीको प्रस्ताव गरियो ।
पटेलले त्यस पदका लागि आफूलाई डा. मनमोहन सिंह योग्य भएकोले उनलाई बनाउन प्रस्ताव गरे ।
त्यसै भयो ।
त्यसपछि रावको दृढ साहस र समर्थनको बलमा सिंहले सुरु गरेको आर्थिक सुधारका नीतिलाई पछि अटलबिहारी वाजपेयी र स्वयं डा. सिंह र मोदी सरकारले अनुसरण गर्दै जाँदा भारत कहाँबाट कहाँ आइपुग्यो, तथ्य हाम्रैसामु छ ।
*****
१६ . आफूविरुद्ध अत्यन्त तिक्ततापूर्ण चुनावी प्रतिस्पर्धामा रहेकी हिलारी क्लिन्टनलाई बाराक ओबामाले अमेरिकी सरकारको पहिलो बरियताको विदेशमन्त्रीको पदमा नियुक्त मात्रै गरेनन्,
सामान्यतया कुनै पनि राष्ट्रपतिले प्रदान गर्नेभन्दा धेरै बढी स्वायत्तता हिलारीले पाइन् ।
उच्च अधिकारीहरूको नियुक्तिलगायतका सवालमा ओबामाले हिलारीमाथी कुनै हस्तक्षेप गरेनन् I
विदेश मन्त्रालयमा हिलारी सर्वेसर्वा I
चार वर्षको कार्यकालमा हिलारीले पनि कुनै पनि विदेशमन्त्रीले गर्नेभन्दा बढी नै सहयोग ओबामालाई गरिन् ।
त्यस्तै, ओबामाले विपक्षी दलका र आफ्ना कट्टर विरोधी पूर्वराष्ट्रपति जर्ज बुसका निकट सहयोगी रक्षामन्त्री रोबर्ट गेट्सलाई रक्षामन्त्रीमै कायम राखे ।
आफूसँग मान्छे नभएर होइन, मुलुकभित्र र अन्तर्राष्ट्रिय समुदायमाझ सरकारको विश्वसनीयता र राज्यको निरन्तरता प्रमाणित गर्न ओबामाले यसो गरेका थिए ।
भनिरहनु पर्दैन, राजनीतिको त्यो चरित्र र शिक्षा अनि ज्ञानको विकास तथा अनुसन्धानमा गरेको ठूलो लगानीले अमेरिकालाई अमेरिका बनाएको छ ।
*****
१७. र अन्त्यमा , भारत, चीन, बेलायत र ब्रसेल्समा नेपालका सरकार प्रमुख र परराष्ट्र मन्त्रीसँग जुन सुकै समयमा पनि हटलाइनमा कुरा गर्न सक्ने र अन्तर्राष्ट्रिय मामिलामा गहिरो अध्ययन भएको व्यक्ति नभएमा उसले काम गर्न र काम देखाउन सक्दैन I
नेपालको सरकारमा उसको प्रभाव र पहुँच उक्त मुलुकमा उसको प्रभाव र पहुँचमा रुपान्तर हुन्छ I
(भट्टराईको फेसबुकबाट )
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार