आइतबार , असोज ११, २०७७

रेमिट्यान्स तीन प्रतिशतले मात्र घट्यो, वैदेशिक रोजगारीमा जाने घटे

रेमिट्यान्स तीन प्रतिशतले मात्र घट्यो, वैदेशिक रोजगारीमा जाने घटे

१ साउन, काठमाडौं । कोरोना महामारीले सिर्जित गरेको लामो लकडाउनका कारण रेमिट्यान्स घट्ने प्रक्षेपण भईरहेका बेला आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तसम्म जम्मा तीन प्रतिशतले मात्र गिरावट देखिएको छ । नेपालका अधिकांश रेमिट्यान्स कम्पनीले अब रेमिट व्यापारमा गम्भीर चुनौती आउने कोकोहोलो मच्चाईरहेको समयमा राष्ट्र बैंकको पछिल्लो तथ्याङले भने आत्तिनु पर्ने अवस्था नदेखाएको हो ।

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको पछिल्लो विवरण अनुसार गत आवको जेठ मसान्तसम्म रु सात खर्ब ७४ अर्ब ८७ करोड रेमिट्यान्स आएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १७.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ५.१ प्रतिशतले मात्र घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत,नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या १२.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३५.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५.४ प्रतिशतले बढेको थियो । विश्वव्यापी रुपमा कोरोना महामारीका कारण प्रमुख श्रम गन्तव्य समेत समस्यामा परेकाले नेपाली कामदारले रेमिट्यान्स पठाउन नपाएका हुन् । गत जेठ मसान्तसम्मको अवधिमा खुद ट्रान्सफर आयमा ३.६ प्रतिशतले कमी आई रु आठ खर्ब ७२ अर्ब ७८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६.६ प्रतिशतले बढेको थियो ।

यस्तै बैंकका अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.४१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८७ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल गेडागुडी, सुर्तीजन्य वस्तु, मसला, अल्कोहलिक पेय पदार्थ र फलफूल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । समीक्षा महिनामा काठमाडौँ उपत्यकामा ४.४३ प्रतिशत, तराईमा ४.८६ प्रतिशत, पहाडमा ४.१३ प्रतिशत र हिमालमा ४.३४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ जेठमा ती क्षेत्रहरुमा क्रमशः ७.१० प्रतिशत, ५.८० प्रतिशत, ५.७० प्रतिशत र ६.४६ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय