नेकपामा अस्थायी युद्धविराम ?
नेपालबहस संवाददाता
साउन ७, २०७७ बुधबार १९:३५:४
७ साउन, काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्रको अन्तरद्धन्द्व अन्ततः हात्ती आयो हात्ती आयो फुस्सामा रुपान्तरण भएको छ । गएको तीन महिना यताका गतिविधि नियाल्दा कसैलाई पनि लाग्दैनथ्यो– अब सग्लो नेकपा रहला । किनभने पार्टी भित्र चर्किएको विवाद र द्वन्द्व प्वाइण्ट अफ नो रिटर्नमा पुगको देखिन्थ्यो । तर विवादको जड सिद्धान्त वा विचारसँग गाँसिएको भने थिएन । केवल सत्ता भागबण्डामै सबै विवाद केन्द्रित थियो । सायद त्यसैले अहिले फेरि नाटकीय ढंगले विवाद निप्टारा लागेको भ्रम छरिएको छ ।
अहिले दुबै पक्षले अस्थायी युद्धविराम गरेको जस्तो देखिएको छ, तर फेरि कतिबेला सल्किने हो भन्न सकिन्न – वाम वुद्धिजीवी प्रा. कृष्ण पोखरेल भन्छन् । नेपालका कम्युनिष्ट कतिखेर कुन मुद्धामा विभाजित हुन्छन् र कुनमा मिल्छन् भन्नै सकिन्न – प्रा. पोखरेलको ठम्याई छ । अहिलेपनि दुईपक्षबीच देखिएको विवाद र एकता त्यसैको निरन्तरता मात्र हो – उनी भन्छन् ।
प्रा. पोखरेलले भनेजस्तै नेकपा भित्रको अहिलेको लडाईं भुसको आगो जस्तो छ । केपी ओलीको कार्यशैलीप्रति वहुसंख्यक नेता असन्तुष्ट छन् । बहुमत पनि ओलीविरुद्ध नै छ, तर कारबाही गर्न सक्ने आँट भने नेताहरुसँग छैन । असन्तुष्टहरुको यही कमजोरी बुझेका ओलीले आफ्नो हठ छाडेनन् । ओलीको हठका अगाडि बहुमत नेता निहुरिएका छन् । अब ओलीलाई दुई मध्ये एक पद छाड्न प्रस्ताव गरिएको छ । ओलीले पनि कसैले भनेकै भरमा नछाड्ने तर अर्ली महाधिवेशन गरेर अध्यक्ष चाहिं त्याग्न सकिने प्रस्ताव गरेका छन् । त्यही प्रस्तावको प्रतापमा अहिले नेकपा भित्रको रडाकोले अस्थायी निकास पहिल्याउने प्रयत्न गरिरहेको छ ।
स्वयं पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफूलाई बहुमतका भरमा कारबाही गरिए नेकपा नै विभाजन हुने सन्देश अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका थिए । यो अवधिमा भएका गतिविधिलाई मिहिन ढंगले केलाउने हो भने एउटा पक्षले अब तत्कालै सरकार ढल्ने मनस्थिति बनाएको थियो भने अर्का थरिले चाहिं अब अहिले भरे नै पार्टी विभाजन हुने नै हो भन्ने मनोविज्ञानबाट काम गर्न थालेको अवस्था थियो ।
यसका लागि दुुबै पक्षले एकअर्कालाई गलाउने रणनीति बनाए । स्थायी कमिटी बैठक बोलाएर प्रचण्ड माधव नेपाल पक्षले ओलीको झाँको झारे । साथै, पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट बिनासर्त तत्कालै राजीनामा दिन दबाब सिर्जना गरियो । उता, ओली पक्षले पनि कुनै हालतमा राजीनामा नदिने बरु सके कारबाही गर्न चुनौती दिए ।
पार्टी भित्र चरम अल्पमतमै भएपनि ओलीसँग सत्ताको बाग्डोर भएकाले सबैलाई चाबुक हान्ने ल्याकत उनको छ । त्यसैले उनलाई कारबाही गरेर पार्टी विभाजनको जोखिम मोल्न प्रचण्ड तयार भएनन् । त्यसैले अन्ततः प्रचण्डले हतियार बिसाए । ओलीसमक्ष उनी आत्मसमर्पण गर्ने पक्षमा उभिए । फेस सेभिङका लागि मंसिरमा अर्ली अधिवेशन गरेर ओलीलाई अध्यक्षबाट विदा गर्ने उनको रणनीति बदलिएको छ ।
ओलीलाई कसै गर्दापनि तह लगाउन नसकेको माधव नेपाल पक्षपनि प्रचण्डको बिद्रोहले उत्साही भएको थियो । बहुमत नै ओलीविरुद्ध हुँदा पक्कैपनि उनलाई हटाउन सकिने माधव पक्षको बुझाई थियो । तर ओलीका फण्डाहरुले पार्ने प्रभावबारे उनले धेरै लख काट्न सकेनन् । जसले गर्दा ओलीको बलमिच्याईं सहन माधव नेपाल लगायत बहुमत नेता कार्यकर्ता वाध्य भएका छन् ।
ओलीलाई सजिलै हटाउन नसकिने ठम्याईका साथ अब प्रचण्ड र नेपाल पक्षले आफूलाई नै नयाँ स्वरुपमा ढाल्ने भएका छन् । त्यसका लागि ओलीकै प्रस्ताब बमोजिमको अर्ली अधिवेशनमा जाने तयारी गरौं भन्ने पक्षमा देखिएका छन् । तर यथास्थितिमा मंसिरमा अधिवेशन होला भन्नेमा कसैलाई पनि विश्वास चाहिं छैन । तैपनि ओलीबाट मुक्ति पाउन त्यसै पो गर्ने हो की भन्ने निश्कर्षमा प्रचण्ड र नेपाल पक्ष पुगेका छन् ।
नेताहरु यस्तो मनस्थितिमा आइपुग्दा नेकपाको विवादले एक फन्को मारिसकेको छ । अब सबै आ–आफ्नै थातथलोमा फर्केका छन् । प्रचण्डले आफूनिकटहरुको छट्टुै भेला बोलाएर कसरी जाने भन्ने छलफल गरे । ओलीले अर्ली महाधिवेशनमा आफूलाई एकल अध्यक्ष बनाउन प्रस्ताव गरेको तर पार्टीको कार्यदिशा भने जनताको बहुदलीय जनवाद हुनुपर्ने शर्त राखेको उनले ब्रिफिङ गरेका छन् । शीतलनिवास बोलाएर राष्ट्रपतिकै अगाडि यस्तो प्रस्ताव राखेपछि भने प्रचण्ड अन्यौलमा परेका छन् ।
उता, माधव नेपाल पक्षपनि अब ओलीलाई सजिलै गलहत्याउन नसिकने निचोडका पुगेको छ । हिजो साँझ नेता नेपाल निवासमा भएको लामो छलफलमा सहभागी नेताहरुले ओलीबाट विधि पद्धतिको संस्थागत विकास र प्रवद्र्धन कुनै हालतमा नहुने ठहर गर्दै यसका लागि प्रचण्डकै साथ समर्थन लिएर जाने पक्षमा उभिएको छ ।
ओलीलाई तह लगाउनका लागि प्रचण्डको साथ अपरिहार्य रहेको उनीहरुको निचोड रह्यो । यसलेपनि के देखाउँछ भने नेकपा भित्रको सत्ता संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ । लामो कसरत र विवादपछि गएको असार १० गतेबाट पार्टी स्थायी कमिटी बैठक सुरु भयो । प्रारम्भका दुई दिन बैठक सहजै रह्यो । यद्यपि उद्घाटनका दिन नेताहरुबीच घोचपेच र तितोमीठो चाहिं नभएको हैन । तर तेस्रो दिनबाट भने रडाको सुरु भयो । प्रचण्ड– नेपाल पक्षले ओलीको राजीनामा नै माग्न थाले । अनि ओली बैठकप्रति उदासिन देखिए ।
सँगै कोठामा स्थायी कमिटीमा अनुपस्थित हुने तर अर्कातिर राजकीय काममा भने सहभागी हुने उनको व्यावहार देखियो । त्यति मात्र होइन, स्थायी कमिटीलाई छलेर उनी सँगैको अर्का कक्षमा आफूपक्षीय नेताहरुसँग षडयन्त्रको तानाबुना बुन्न अभ्यस्त देखिए । ओलीले आफ्नै निवासमा बोलाएको स्थायी कमिटी बैठकलाई पूर्णतः अस्वीकार मात्र गरेनन्, नेताहरुको असन्तुष्टीलाई बाल गनेनन् ।
आखिर त्यो ताकत के थियो त ओलीसँग ? यो प्रश्नको जवाफ दिंदै प्रा. पोखरेल भन्छन्– ओलीमा अन्तर्निहित राजकीय शक्ति नै सबैको जड हो । ओलीलाई कारबाही गर्ने वित्तिकै पार्टी विभाजन निश्चित थियो । त्यो शक्तिको आडका ओली सधैं आक्रमक देखिए । उनलाई यो सुविधा स्वयं राष्ट्रपति विद्यादेवी भण्डारीले जुटाइदिएकी छन् । राष्ट्रपति कार्यालय त ओलीको सचिबालय भन्दा पनि फूर्तिलो छ, निर्णय गर्नेवित्तिकै कार्यान्वयन गरिदिने– प्रा. पोखरेल भन्छन् ।
राजकीय सत्ताको राप र तापबाट वशीभूत नेकपाको आन्तरिक राजनीतिले अहिले अप्राकृतिक कोर्ष लिएको देखिन्छ । नेताहरु ओलीलाई कुनै हालतमा पदमुक्त गर्न चाहन्छन्,तर ओलीले पार्टी विभाजन पो गरिदिने हुन् की भन्ने भयले दुई कदम पछाडि हटेका छन् । त्यसैले यो अस्थायी युद्धबिराम कतिबेला कुन रुपमा विष्फोट हुने हो कसैले पनि अनुमान गर्न सक्दैनन् । त्यसैको बलमा ओलीको सत्ता लम्बिने क्रम भने जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार