प्रचण्डको बढ्दो छटपटी
कुसुम सेञ्चुरी
साउन ११, २०७७ आइतबार २१:३४:१८
११ साउन, काठमाडौं । सम्भवतः नेकपा एकीकरण प्रक्रियामा गईसकेपछि प्रचण्डमा यत्तिको निराशा र द्विविधा कहिल्यै पनि देखिएको थिएन, जति पछिल्ला दिनमा अनुभूत गर्न सकिन्छ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको पछिल्लो रडाकोप्रति संकेत गर्दै प्रचण्ड निकट एक नेताले भनेका छन् ।
२०७५ जेठ २ गते तत्कालिन नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ऐतिहासिक एकताको टुंगो लाग्दा उत्साह बेग्लै थियो । प्रचण्डपनि कम्युनिष्ट आन्दोलनलाई नयाँ उँचाईमा पु¥याउन जति हतारिएका थिए, त्यो भन्दा बढी माओवादीमाथि लागेको व्यक्ति हत्याको आरोपबाट उम्कने अवसरका रुपमा एमालेसँगको एकीकरणलाई उपयोग गर्न चाहन्थे ।
साथै, आलोपालो प्रधानमन्त्री बन्ने गरी यसअघि नै भएको सम्झौताले उनमा थप उमंग छाएको थियो । झण्डै दुई तिहाई समर्थन प्राप्त पार्टीको सग्लो प्रधानमन्त्री बन्ने उनको चाहना लगभग पूरा भएकै थियो । तर ओलीले बीचैमा भाँजो हालेपछि उनी एक कदम पछाडि फर्किए ।
पाँचै बर्ष ओलीलाई प्रधानमन्त्री बन्न दिने तर पार्टीको कार्यकारी अध्यक्ष भने प्रचण्डलाई बनाउने अर्काे सम्झौता भयो ।सम्झौता भएको महिना दिन नबित्दै ओलीले एउटा टेलिभिजन अन्तर्वार्तामा आफू एक नम्बरी अध्यक्ष र प्रचण्ड नम्बर दुई अध्यक्ष भएको बताए । साथै, पार्टी निर्णयमा ओलीको हस्तक्षेप कम भएन , बरु अझै दबाब बढाए ।
यो परिघटनाले प्रचण्डलाई निराश बनाउन थालेको हो । तैपनि केही समयपछि भने आफूलाई राम्रै अवसर आउने उनको विश्वास थियो । तर ओलीबाट त्यस्तो कुनै सम्भावना नै अब भने देखिएन । त्यसैले प्रचण्डको धैयर्ता अब भने टुट्ने अवस्था आईसकेको छ – खुमलटार निकट स्रोतको भनाई छ । ओलीबाट कुनै अवसर नपाउने बरु भुक्तमान थपिने स्पष्ट संकेत मिलेपछि भने प्रचण्ड यु टर्न गर्न बाध्य भएका हुन् – स्रोत बताउँछ । ओलीजीले कुनै जिम्मेवारी नै नदिने निश्चित भएपछि मात्रै उहाँ ( प्रचण्ड ) अर्का नेता माधवकुमार नेपालसँग सहकार्य गर्न बाध्य हुनुभएको हो ।
ओलीलाई छाडेर प्रचण्ड नेपालसँग लहसिएपछि परिस्थितिले कोल्टो फेरेको हो । प्रचण्ड माधव गठबन्धनले ओलीलाई भात खाउँकी थाल खाँउको अवस्थामा पु¥याइदिएका हुन् । अहिले ओली प्रतिरक्षात्मक अवस्थामा छन् । तर प्रधानमन्त्रीको पावर भएकाले उनी अझै पनि अरु भन्दा बलिया छन् । खासगरी कार्यकारी अधिकार उनैसँग भएको र राष्ट्रपति विद्यादेवी भण्डारीले आँखा चिम्लेर साथ दिएकाले ओली सर्बशक्तिशाली भएको अवस्था छ ।
त्यही भएर अल्पमतमा भएपनि ओली नै बलिया देखिएका हुन् – ती नेता भन्छन् । यो वास्तविकता प्रचण्ड , नेपाल, झलनाथ खनाललगायतका नेताहरुलाई राम्रो हेक्का छ, त्यसैले हत्तपत्त ओलीलाई कर्नरमा पारेर काम गर्न सकिरहेका छैनन् । ओलीलाई कारबाही गर्न सक्ने ल्याकत छैन उनीहरुसँग । यो प्रकरणमा प्रचण्ड सबैभन्दा पीडित बन्न पुगेका छन् । ओलीसँग सहकार्य गर्दा पनि दोस्रो दर्जाको अध्यक्ष बनाइएका प्रचण्ड सग्लो नेकपाको अध्यक्ष बन्न लालयित छन् । पछिल्लो चरणमा ओलीले अर्ली अधिवेशन गरेर एकल अध्यक्ष बनाउने वचन त दिए, तर दुई क्वीण्टलको भारी बोक्ने शर्तमा । अर्थात, तत्कालिन एमालेको राजनीतिक दस्ताबेज जनताको बहुदलीय जनवाद आर्थात जबजको भारी बोक्नुपर्ने शर्तमा।
चार दशक लामो राजनीतिक यात्रामा प्रचण्ड सधैं आफ्नै नीति र कार्यक्रम बनाएर चले । जनयुद्ध ताका पार्टीले प्रचण्डपथ नै तयार ग¥यो । सोही राजनीतिक दस्ताबेजलाई आधार बनाएर पार्टी एकता गर्दासमेत २१ औं शताब्दीको जनवादलाई नेकपाको राजनीतिक दस्ताबेज मानियो । एकाएक जबजको काउछो भिर्नुपर्ने शर्तले प्रचण्डको सात्तो पुत्लो गएको छ । एक किसिमले भन्ने हो भने उनी ठूलै बिखलबन्दमा परेका छन् ।
धेरै सोच विचार गरेर उनी अन्ततः ओलीले फेरि खेलाएको निश्कर्षमा पुगेका छन् । फलतः नेता नेपालसँगै लामो सहकार्य गर्ने निश्कर्षका पुगेका छन् । यो उनको निश्कर्षमा धेरै निकटवर्तीले असहमति जनाएका छन् । वर्षमान पुन, हरिबोल गजुरेल, मणि थापा, देबेन्द्र पौडेललगायतको धारणा ओलीसँगै मिलेर जानुपर्ने रहेको छ । त्यसैले प्रचण्ड दुईचार दिन अलमलिएका हुन्–खुमलटार निकट स्रोत भन्छ । तर अध्यक्ष प्रचण्डले सबै नेताहरुसँग खुलेर कुरा गर्नुभएको छ, अब समस्या छैन, तत्कालका लागि ओलीसँग सहकार्य गर्ने , दीर्घकालका लागि नेता नेपालसँग मिलेर जाने विषयमा सबैको मत मिलेको छ– उनको दाबी छ ।
प्रचण्डको यो अभियानमा उनकै एक विश्वास पात्र लेखराज भट्ट भने असहमत छन् । विगत लामो समयदेखि भट्ट अध्यक्ष प्रचण्डको सम्पर्कमा छैनन् । प्रचण्डले पटक पटक कुरा गर्न खोजेपनि भट्टले चासो दिएका छैनन् । आजै बिहान पनि प्रचण्ड निवासमा सुदूरपश्चिमका पूर्व माओवादी नेताहरु भेला भएका थिए । त्यहाँ पनि आपूर्तिमन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य भट्ट उपस्थित भएनन् ।
विगत चार महिनायता नेता भट्टले प्रचण्डसँगको राजनीतिक सम्वन्ध नै टुटाएको जस्तो भान पर्न गएको छ । त्यसको प्रभाव आजको भेलामा प्रष्टै देखियो । भेला भएका नेता कार्यकर्ताहरुसँग प्रचण्डले प्रष्टै भने– अब फेरि हामीहरु एकैथलोमा आउनुपर्ने वाध्यता आइपरेको छ, ओलीजीले हामीलाई दोस्रो दर्जाको कार्यकर्ताको व्यावहार गरिरहनु भएकोले फेरि एकाकार भएर आफ्नो शक्ति स्थापित गर्नुपर्ने अवस्था आइसकेको छ । तपाईहरु तयार रहनुहोस् ।
साथै, नेता भट्टको व्यवहार विचलित भएको र उनी ओलीको वफादार हुन खोजेको भन्दै अध्यक्ष प्रचण्डले कडा शव्दमा निन्दा गरे । हिजो सुदूरपश्चिमका सबै साथीलाई थुम्थुम्याएर उहाँलाई सबै अवसर दिइयो, आज उहाँबाट आन्दोलनले नै धोका अनुभूत गर्नुपरेको छ – प्रचण्डले भने । अब भट्टजीले आफ्नो कित्ता स्पष्ट गर्नैपर्ने भन्दै उनले पूर्व माओवादी कोटाबाट प्राप्त मन्त्री र स्थायी कमिटी सदस्यबाट राजीनामा दिनुपर्ने प्रष्ट्याए ।
पहिला मन्त्री र स्थायी कमिटी त्यागेर मात्रै ओलीजीको प्रवक्ता बन्न म उहाँलाई बिनम्रतापूर्वक आग्रह गर्दछु – भेलामा सहभागी नेता कार्यकर्तालाई संवोधन गर्दै प्रचण्डले भनेको स्रोतले बताएको छ । प्रचण्ड आफ्नै नेताहरुबाट यसरी अलग्गिएर बस्नुपर्ने अवस्था निर्माण भएपछि उनको दुख अझै थपिएको छ । विस्तारै अरु साथीहरुले पनि टाढिनुपर्ने हो की भन्ने भय त्यतिकै छ । यस्तो अवस्थामा प्रचण्डले सग्लो नेकपाको अध्यक्ष हुने सपना देख्नु कत्तिको जायज होला ? धेरैले प्रश्न गर्ने बेला भएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार